'स्वर'का २० बेसुर

देशभर प्रदर्शन भइरहेको फिल्म 'स्वर'ले अपेक्षा गरेजस्तो पैसा कमाउन सकेको छैन। 'फिल्म राम्रो भए पनि हिट भएन' भन्ने खालका चर्चा यसबारे चलाइएको छ। नेपालमा राम्रो फिल्मले नकमाएको र झुर फिल्मले कमाएको नजीर थुप्रै छन्। तर, बजारमा जस्तोसुकै हल्ला चले पनि 'स्वर'को सन्दर्भमा भने यो अपवाद लागु हुँदैन। 'स्वर' बेसुर हुनुका २० कारणः
समीक्षकः दीपेन्द्र लामा
समीक्षाः * (१/५)
फिल्मः स्वर
निर्देशकः प्रसन्न पौडेल
निर्माताः मनीष राजभण्डारी, रवि लामा, सुरेन बलामी
लेखकः अच्युत अधिकारी
अभिनयः राजवल्लभ, केकी अधिकारी, अमित पोखरेल, स्राज गराच, रिमा विश्वकर्मा, बेनिशा हमाल, जोयस पाण्डे, सुनिल थापा, तृप्ती आदि
हरेक फिल्मको कथामा मुख्य पात्रको कुनै एउटा लक्ष्य हुन्छ। 'स्वर'मा स्वप्निल (राजवल्लभ)को लक्ष्य संगीतमा सफलता हासिल गर्ने हुन्छ। त्यस हिसाबले उसको अवरोध पनि संगीतसँग सम्बन्धित नै हुनुपर्छ। तर, यसमा संगीतसँग असम्बन्धित आमा र गुन्डाहरूलाई अवरोध बनाइएको छ।
मुख्य पात्रहरू कलेज नियमित जान्छन्। तर, कलेज प्रांगणको मात्र दृश्य छ। कक्षा कोठाको दृश्य छैन। उनीहरू कुन लेभलमा कुन विषय पढ्छन्? मतलब गरिएको छैन। फिल्म हेर्दा कलेज भनेको भेटघाट र गफगाफ गर्ने ठाउँ मात्रै लाग्छ।
मुख्य पात्रहरू कतैबाट पनि सांगीतिक समूहका सदस्य लाग्दैनन्। उनीहरू कहिल्यै पनि संगीतका प्राविधिक शब्द प्रयोग गर्दैनन्। न त उनीहरूको शारीरिक हाउभाउ नै संगीतकर्मीको लाग्छ। बाजा बोक्दैमा कसैलाई संगीतकर्मी मान्न सकिन्न।
स्वप्निल र निशा (केकी)को बार्दलीवाला पहिलो दृश्यमा यस्तो लाग्छ, मानौं उनीहरूले एकअर्कालाई पहिलोपटक देखेका हुन्। उनीहरूको घरको कम्पाउन्ड जोडिएको छ। पहिलोपटक आँखा जुधेको हो भने, त्यसअघि कसरी भेट हुन सकेन? खुलाउनु पर्थ्यो।
५–६ पात्रबीचको कुराकानी खिच्न गाह्रो छ र छायाँकारले यसमा रचनात्मकता देखाउने ठाउँ पनि पाउँछ। 'स्वर'मा विदुर पाण्डे यसमा चुकेका छन्। यस्ता दृश्य धेरैजसो 'लङ सट'मै टारिएको छ। कुनै निश्चित 'लाइन अफ एक्सन' देखिँदैन। 'क्लोज अप'को अभावले पात्रको भाव प्रष्टिदैन।
फिल्ममा हल्ला बढी छ। हरेक पात्रले बोलेको बोल्यै गर्छ। ठट्टा गर्दामात्र होइन गम्भीर दृश्यमा समेत चुप लाग्दैनन्। रेडियो नाटकभन्दा चर्को सुनिन्छ। फिल्ममा सकेसम्म कम संवाद प्रयोग गर्नुपर्छ र मौनताको प्रभाव अझ गहिरो हुन्छ भन्ने निर्देशक प्रसन्न पौडेललाई थाहा नभएको हो कि! हुन त यसको अपजस लेखक अच्युत अधिकारीलाई पनि जान्छ।
स्वप्निल र निशाको सम्बन्ध एकअर्काबीच आकर्षणको तहमा सीमित छ। उनीहरूको सम्बन्ध प्रेममा बदलिसकेको जानकारी दर्शकले पाउँदैन। तर फिल्ममा विछोडको रुवाबासी सुरु भइहाल्छ। प्रमाणित नभएको प्रेमको हविगत जस्तोसुकै भए पनि त्यसले मन छुँदैन। चिनेको मान्छेको मलामी गइन्छ, नचिनेकोमा गइँदैन।
फिल्मका मुख्य पात्रहरू एउटै कलेज पढ्ने र म्युजिक ब्यान्ड 'स्वर'का सदस्यहरू हुन्छन्। उनीहरू ब्यान्डमा कसरी आवद्ध भए? ब्यान्डको प्रोफाइल कस्तो हो? बिस्तृत छैन।
स्वप्निलका साथीहरू आकाश (स्राज गराच), सोनी (बेनिशा), जिया (रिमा), जय (अमित) र मोहन (जोयस)को व्यक्तिगत जीवनबारे एउटा दृश्य पनि खर्चिएको छैन। जसले गर्दा उनीहरूको एकअर्काबीचको सम्बन्ध फितलो बनेको छ। स्वप्निलको सम्बन्ध बाँकी पाँच पात्रसँग समान लाग्छ, विविधता छैन।
निशालाई फकाउन स्वप्निलले गुन्डाबाट बचाउने दृश्य रच्ने कोसिस गर्छ। जबकि, त्यसअघि नै स्वप्निलले निशाको लागि गुन्डासँग 'फाइट खेलिसकेको' हुन्छ। एकै खाले दृश्य दोहोरिँदा पटकथा कमजोर बन्छ। लेखक र निर्देशकले सिर्जनात्मकता किन प्रदर्शन नगरेका हुन्?
अन्तर कलेज ब्यान्ड प्रतियोगिता हुन लागेको जानकारी समेत कुनै पात्रको संवादबाटै गराइन्छ। प्रतियोगिताका प्रक्रिया कतै देखाइँदैन। प्रतियोगिता कति इज्जतिलो र लोकप्रिय हो? त्यसका लागि प्रतियोगितामा सहभागी हुन आवश्यक प्रक्रिया देखाउन आवश्यक थियो।
ब्यान्ड प्रतियोगिताअघि मुख्य पात्रहरूमा कुनै गम्भीरता छैन। फिल्म निर्देशकले 'जित' निश्चित गरेको आभास उनीहरूलाई भइसकेको झैं लाग्छ। प्रतियोगितामा भाग लिनुअघिको डर वा कौतुहलता उनीहरूमा पटक्कै छैन। आफ्नो प्रस्तुतिका बारेमा छलफल पनि गर्दैनन्। संगीतकर्मी नलाग्नुको कारण यो पनि हो।
प्रतियोगितामा अरू केही ब्यान्डका प्रस्तुति पनि देखाइनुपर्थ्यो। त्यसले अरू ब्यान्डको स्तर थाहा हुन्थ्यो। र 'स्वर' ब्यान्डको जित पत्यारलाग्दो र उल्लासमय बन्थ्यो। प्रतियोगितामा निर्णायक समिति देखिन्छ तर दर्शक देखिँदैन। प्रत्यक्ष कार्यक्रम होइन टेलिभिजनको रियालिटी शो मान्ने हो भने पनि त्यहाँ टिभी क्यामेराम्यानहरू छैनन्। 'स्वर' ब्यान्ड र निर्णायक समितिको भिजुयल कनेक्सन पनि अस्पष्ट छ।
कुनै पनि घटना आफै सम्भव हुँदैन। कसै न कसैको भूमिका हुनैपर्छ। 'स्वर'को कन्सर्टमा स्वप्निलमाथि कसले किन आक्रमण गर्‍यो? अचम्म लाग्छ। जबकि त्यही चोटले स्वप्निलको यात्रा टुंगिन पुग्छ।
फिल्मका प्रायः दृश्य एकान्त नदी, ताल र पहरामा खिचिएको छ। यो रोग अरू थुप्रै निर्देशकमा पाइन्छ। फिल्म 'बाटोमुनिको फूल'मा पनि यो कमजोरी थियो। आखिर निर्देशकहरू किन समाजदेखि भाग्छन्? मान्छेका भोगाइहरू समाजसँग गाँसिएको हुन्छ र यसलाई अलग्याउन सकिँदैन। 'स्वर' हेर्दा यस्तो लाग्छ, मानौं यो दुनियाँमा फिल्मका मुख्य पात्रहरूमात्र छन्। अरू मान्छेको चहलपहल नै छैन।
प्रप्स (सामान)को प्रयोगलाई कथासँग जोड्ने मामिलामा 'स्वर' पनि पछि परेको छ। निशालाई भेट्न जाँदा स्वप्निलले बोकेको भर्‍याङले कथालाई यथार्थको धरातलमा अवतरण गर्न सक्थ्यो। तर स्वप्निलले निशाको घरमा छाडेर गएको भर्‍याङलाई निर्देशकले पनि त्यतिकै छाडिदिएका छन्।
बुबाले प्रेमीसँग भेट्न नदिएपछि विरक्तिएकी हिरोइन आफ्नो खाटमा घोप्टिएर रुने 'फिल्मी' दृश्य 'स्वर'मा छुटेको छैन। निर्देशकले नयाँ काम गरेका छैनन् भन्न सकिने एउटा दृश्य हो यो।
धेरै दृश्यमा पात्रको 'प्वाइन्ट अफ भ्यु' छैन। कलेजमा स्वप्निलले अटोग्राफ दिँदा, रातको समयमा आमालाई भेट्न आउँदा र स्वप्निल तथा निशाबीचका धेरै दृश्यमा 'प्वाइन्ट अफ भ्यु'को आवश्यकता महसुस हुन्छ। पात्रको आँखाबाट हेर्दा दर्शकलाई दृश्य सजीव लाग्छ र त्यसमै डुब्न मद्दत गर्छ। 'स्वर'मा निर्देशक र छायाँकार दुवैले यसको महŒव बुझेनन्।
फिल्ममा तृप्तीले खेलेको आमा पात्र कुनै पनि कोणबाट संगीतविरोधी लाग्दैन। जबकि छोराको संगीतप्रतिको लगनशीलताको ऊ कहिल्यै कदर गर्दैन। संगीतप्रति वितृष्णा हुनुको कुनै विशेष कारण उल्लेख गरिएको छैन। पछि फेरि संगीतमा लागेको त्यही छोराप्रति उसको मन किन फर्किन्छ, कुनै तर्क छैन।
फिल्मका हरेक पात्र 'लभगुरु' लाग्छन्। सबैले प्रेमका दर्शन छाँट्छन्। स्वाभाविक भए हुन्थ्यो। तर, निर्देशकले संवाद रटाएको भान हुन्छ। दर्शन छाँट्ने खालको परिपक्वता पात्रमा छैन पनि।
पुनश्चः म्युजिक भिडियोका निर्देशकले मोडलिङ क्षेत्रका कलाकार लिएर टुके क्यामेराले खिच्दैमा र जयनेपाल वा कुमारी हलमा रिलिज गर्दैमा फिल्म राम्रो हुँदैन।

0 comments:

Post a Comment