रेखा थापाको 'कस्ले चोर्यो मेरो मन' सिड्नीमा प्रर्दशन

सिड्नी, माघ १७ - अभिनेत्री रेखा थापाले निर्माण गरेको चलचित्र कसले चोर्यो मेरो मनको पि्रमियम शो आइतबार सिड्नी स्थित हर्टभिल इन्टरटेनमेन्ट सेन्टरमा प्रर्दशन गरियो ।दर्शकहरुको खचाखच भिडले भरिएको सो सेन्टरमा नायिका रेखा थापा पनि दर्शक दिर्घामा बसेर पुरै अविधि फिल्म हेरेकी थिइन् । अत्यधिक दर्शकहरुको उपस्थिति देखेर हांसिएकी थापा निकै प्रसन्नन मुद्रामा देखिन्थीन ।ई-कान्तिपुरसँगको कुराकानीमा नायिका थापाले विदेशमा बस्ने नेपालीहरुले फिल्म निकै मन पराइदिएकोमा खुसी हँदै अगामी दिनमा अझै स्तरीय फिल्म बनाउन उत्साह जागेको बताइन् । उनले अगाडि भनिन् -"दर्शकहरुको माया र साथ देख्दा म निकै हर्सित छु ।" अवसर र साथ पाएमा अष्ट्रेलिया पछि अन्य मुलुकहरुको शहरमा पनि आफ्नो चलचित्र लैजाने उनले बताइन् । फिल्म अबधि भर दर्शकहरुको ताली र सीठ्ठीले हल निकै गुन्जयमान थियो । विदेशमा प्रर्दशन भएको उनको यो पहिलो चलचित्र हो ।
उक्त नेपाली फिल्म हेर्न अभिभावकहरु आ-आफ्ना साना नानीहरुलाई समेत लिएर आएका थिए । नेपाली टाइम्स अष्ट्रेलियाका प्रकाशक महेन्द्र लम्साल परिवार सहित सो हलमा फिल्मको आनन्द लिदैं आफ्ना नानी तिर देखाउदै भावी पुस्तालाई नेपाल र नेपाली कला संस्कृतिप्रति मोह जगाउन परिवार सहित आएको बताए । उता सधै काममा व्यस्त रहनुपर्ने पश्चिमा शैलीलाई पछयाएका सन्तोष शर्मा फिल्मले सबै दुःख पिडा विर्साएको अनुभूती गर्दै थिए।क्याटमाण्डु फिल्मस्को व्यस्थापनमा उक्त चलचित्र प्रदर्शन गरिएको थियो । सो संस्थाका निर्देशक समीम अनवरले प्रवासीहरुलाई नेपाली कला संस्कृति प्रति मायाको भावना जागृत गराउने तथा नेपाली फिल्म उद्योगलाई विस्तारै अन्र्तराष्ट्रिय स्तरमा लैजाने प्रयासका रुपमा सो चलचित्र भित्राएको बताए । यस अघि पनि सो संस्थाले नाई नभन्नु ल, बिरताको चिनो, साहसी, जस्ता नेपाली चलचित्रहरुको अष्ट्रेलियामा सफल प्रर्दशन गरिसकेको छ ।प्रेम कथामा आधारित उक्त चलचित्रले नेपालमा पनि राम्रो बजार लिएको थियो । सबिर श्रेष्ठको निर्देशन रहेको यो चलचित्रमा रेखा थापा , आर्यन सिग्देल, नीर शाह लगायतका अन्य कलाकारहरुले अभिनय गरेका छन् । सिड्नी पछि सो चलचित्र अष्ट्रेलियाको अन्य शहर मेलवर्न वि्रसवेन तथा पर्थमा समेत प्रर्दशन गरिनेछ ।

स्वरलाई लडाउन राजनीति

नयाँ पुस्तालाई समेटेर निर्माण गरिएको फरक धारको चलचित्र स्वरको ब्यापारमा धक्का पुर्‍याउन विभिन्न पक्षले राजनीति गरिरहेको निर्देशक प्रसन्न पौडेलले आरोप लगाएका छन् ।गएको शुक्रबार देखि उपत्यका बाहिर प्रदर्शन भै रहेको उक्त चलचित्रको थप प्रोमोशनका लागि पुनः देश दौडाहमा निस्किएको स्वर यूनिटले यो समय दर्शक प्रतिक्रिया लिनुको साथै ब्यापारको प्रत्यक्ष जानकारी समेत लिईरहेको छ । तर विभिन्न सिनेमा भवनका सञ्चालकलाई केही व्यक्तिले हातमा लिएर आफ्नो फिल्मको ब्यापारमा धक्का पुर्‍याउने व्यवहार देखाएको प्रसन्नको आरोप छ । निर्देशक पौडेलले नयाँ पुस्ताको सफलतालाई नरूचाउने पूराना व्यक्तिले फिल्मलाई अल्झाउने प्रयास समेत गरेको बताए । यस्तै एक चर्चित नायकले राजबल्लभ कोइरालाको विरूद्धमा केही वितरकहरूसँग लविङ्ग गरी विभिन्न हल सञ्चालकलाई आफ्नो हातमा लिई स्वरलाई असफल बनाउन अभियान समेत सुरु गरेको श्रोतको भनाई छ । तर ती हिरोसँग राजले अहिले सम्म कुनै फिल्ममासँगै काम गरेका छैन् ।स्वरमा राजबल्लभ मुख्य भुमिकामा छन् । चलचित्रमा राजको अभिनय तगडा भएको रिपोर्ट थाहा पाएपछी ती नायकले राजबिरूद्ध अभियान सुरू गरेको गोप्य जानकारी फिल्मीखबरलाई प्राप्त भएको हो। ती नायकले राजको सफलता हेर्न नचाहेको कारण त्यस्तो अभियान सुरू गरेको स्रोतको दावी छ ।

यस्तै सोमबार सम्मको रिपोर्ट अनुसार स्वरको ब्यापार राम्रो रहेको वितरक डीजीटल सिनेमा नेपालका मार्केटिङ्ग प्रमुख दीपक दंगालले जानकारी दिएका छन् । उपत्यकामा भने आगामी शुक्रबार देखि रिलिज हुने सो चलचित्रको मुख्य टिम अहिले चितवनमा छ । को हुन त एउटै उद्योगमा काम गरिरहेका ती नायक जसले आफूसँगैका नायकको विरूद्धमा अभियान सुरू गरिरहेका छन् ? यसको पर्दाफास चाडै हुने छ ।

ढाँट्न मनाही छ

मेरोसिनेमा काठमाडौं १७ माघ,
चलचित्र'नाई नभन्नु ल'बाट नेपाली रजतपटमा प्रवेश गरेकी नायिका ऋचा सिँह ठकुरी ढाँट्न साह्रै सिपालु छिन् ।चलचित्र 'नाई नभन्नु ल' प्रदर्शनताका देशकै एक मात्र कमेडी स्टेशन रेडियो अडियोको फन क्याफे नामक कार्यक्रममा कुरा गर्दै ऋचाले 'म छिट्टै ब्याच्लर जोइन गर्दैछु' भनेकी थिईन् तर उनले जे भनिन् त्यो गरिनन् । हालै गोपी कृष्ण एफ।एम रेडियो फिल्मी सँग कुरा गर्दा पनि उनले फेरी त्यहि कुरा दोहोराएकी छिन् ।त्यसो त ऋचा अहिले कहाँ छिन् भन्ने कुरा कसैलाई थाहा छैन। उनिद्वारा अभिनित दोस्रो चलचित्र 'मन मनै मन पराएँ' यहि फागुन ६ गतेबाट प्रदर्शनमा आउने भनिएको छ ।
ऋचाजी यसरी ढाँट्न मनाही छू है ॥

चुम्बनले सिनेमा चल्छ ?

मेरोसिनेमा काठमाडौं १४ माघ,
चैतमा एउटा सिनेमा आउदैछ निगरानी । निगरानीका निर्देशक राजेन्द्र उप्रेती हुन् । राजेन्द्र उप्रेती सिलसिलाका निर्देशक पनि हुन् । सिलसिला हिरो र हिरोइनबीचको चुम्बनले गर्दा पनि चलेको हो ।
राजेन्द्र उप्रेतीलाई पनि त्यस्तै लागेको होला । त्यसैले त निगरानीमा पनि हिरो र हिरोइनबीच मिठो चुम्बन गराएका छन् । त्यो चुम्बनको फोटोलाई पोष्टरहरुमा ठुलो बनाएर राखेका छन् । पत्रपत्रिकामा पनि चुम्बनकै फोटोहरु बाडेका छन् ।
बिडम्बना हिरो हिरोइनले चुम्बन गरेकै कारण सिलसिलापछि आफ्नो मान्छे आफ्नै हुन्छ पनि सुपरडुपर हिट भयो । यहा प्रश्न उठ्छ कि के चुम्बनकै कारण सिलसिला र आफ्नो माँन्छे आफ्नै हुन्छ सुपरडुपर हिट भएका हुन् त ? चुम्बनलाई बढि हाइलाइट गरेकै भएर दर्शक ती सिनेमा हेर्न ओइरिएका थिए त - यदि त्यसो हो भने निगरानी अबको सुपरडुपर हिट सिनेमा हो भनेर भविष्यवाणी गर्दिए भैगो । केही गरी निगरानी हिट भयो भने त्यसको श्रेय चुम्बनले नै लानसक्छ । अनि त्यसपछि लगातार हरेक सिनेमामा चुम्बन राख्न निर्माता निर्देशक बाध्य हुनेछन् र नेपाली सिनेमाले हलिउडका सिनेमाको एउटा राम्रो नक्कल गर्नेछ । हलिउडका प्रायः सिनेमामा हिरो र हिरोइन चुम्बन गर्छन् । त्यसपछि नेपाली सिनेमामा पनि त्यस्तो दृश्य सामान्य हुन्छ । त्यसैले राजेन्द्र उप्रेतीलाई अग्रिम बधाई, नेपाली सिनेमामा एउटा नौलो ट्रेण्डको शुरुवात गरिदिएकामा ।

रेखा फिल्म लिएर अस्ट्रेलिया

काठमाडौं, माघ १४ (नागरिक) - अभिनेत्री रेखा थापा फिल्म 'कसले चोर्‍यो मेरो मन' रिलिज गर्न बिहीबार अस्ट्रेलिया उडेकी छिन्। २० दिनको बसाइमा त्यहाँका विभिन्न सहरमा फिल्म देखाउने कार्यक्रम रहेको उनले जानकारी दिइन्। यसलाई उनले विदेशमा नेपाली फिल्मको अवस्था थाहा पाउने अवसर ठानेकी छिन्।'आफूले बनाएको फिल्म देखाउन म पहिलो पटक विदेश जान लागेकी हुँ। अस्ट्रेलियापछि अन्य मुलुकमा पनि फिल्म प्रदर्शन गर्ने तयारी भइरहेको छ,'उनले नागरिकसँग भनिन्,'यो अलि बढी बजेटको फिल्म हो। विदेशी बजारको प्रतिक्रिया बुझेर अर्को फिल्म अझै स्तरीय बनाउने कोसिस गर्छु।'यसअघि आफूले बनाएको पाँच फिल्म स्वदेशी दर्शकको रुचिलाई ध्यान दिएर बनाएको उल्लेख गर्दै उनले भनिन्,'फिल्म रिलिजको सिलसिलामा विदेशमा रहेका नेपाली दर्शकको रुचि बु‰न पाउँछु। उनीहरूको चाहनालाई अब बनाउने फिल्ममा समेट्न सजिलो हुन्छ।'
अस्ट्रेलियामा फिल्म देखाउने थाहा पाएपछि आफ्ना शुभचिन्तकले निकै चासो देखाएको उनले बताइन्। क्याटमान्डु फिल्मस्को व्यवस्थापनमा फिल्म 'कसले चोर्‍यो मेरो मन' अस्ट्रेलियामा देखाउन लागिएको उनले बताइन्। 'फिल्मले यहाँ हासिल गरेको चर्चाकै कारण विदेशमा रहेका नेपालीले रिलिजको चासो देखाएका हुन्। यसले पैसा कमाउन भन्दा पनि बजार बु‰न मलाई मद्दत पुग्छ,'रेखाले भनिन्।सबिर श्रेष्ठको निर्देशन रहेको यो फिल्ममा रेखासहित आर्यन सिग्देल,नीर शाह लगायतका कलाकारले अभिनय गरेका छन्। प्रेमकथामा बनेको यो फिल्मले नेपालमा राम्रो व्यापार गरेको थियो।

भोलि देखि स्वर प्रदर्शनमा

भोलि शुक्रबार देखि देशभर प्रदर्शनमा आउने भनिएको चलचित्र 'स्वर' अन्तत राजधानी बाहिरका ४० भन्दा बढी सिनेमा भवनहरुबाट एकसाथ प्रदर्शनमा आउने भउको छ ।
अरु कुनै चलचित्रसंग नजुधाउने हिसाबले उपत्यका भित्र माघ २१ गतेबाट मात्र रिलिज गर्ने उद्देश्यले 'स्वरको' रिलिज डेट सारिएको चलचित्रका निर्देशक प्रशन्न पौडेलले बताएका छन् । यो फिल्मको पि्रमियर पनि माघ २० गतेका लागि सारिएको छ ।
साँगितिक चलचित्र स्वर सँगै माघ २१ ग्ते नै 'दिलमाया' तथा 'इतिहास' रिलिजमा आउने भएपछि तिनीहरुकासँग नजुधाउने हिसाबले एक साता पर रिलिज डेट सारिएको हो ।चलचित्रमा राजबल्लभ कोइराला,केकी अधिकारी, बेनिषा हमाल, रिमा बिश्वकर्मा, तृप्पि नाडकर, सुनिल थापा आदि कलाकारहरुले अभिनय गरेका छन् ।

'दुवैसँग सम्बन्ध चिसियो' : निखिल उप्रेती

फिल्मीखबर, काठमाण्डौ, २०६७ माघ १०, सोमवार
मुम्बईको दश महिने बसाई पछी सोमबार दिउँसो काठमाण्डू आईपुगेका नायक निखिल उप्रेतीले श्रीमती कोपिला उप्रेती र श्रीमती भनिएकी नायिका सञ्चिता लुइटेलसँग सम्बन्ध चिसिएको खुलासा गरेका छन् ।
विमान स्थलबाट बाहिर् निस्किए लगत्तै सञ्चारकर्मीमाझ घेरिएका निखिललाई त्रिपक्षिय सम्बन्धको बारेमा प्रश्न गर्दा काठमाण्डूको मौसम जस्तै आफ्नो त्रिपक्षिय सम्बन्धमा केही चिसोपना आएको बताए । यस्तै तपाईहरू तीन जना बीचको सम्बन्ध अब के होला भन्ने सञ्चारकर्मीको अर्को प्रश्नमा उनले भनेका छन्,'हाम्रो सम्बन्धको बारेमा उपयुक्त निर्णय चाडै नै थाहा पाउनु हुनेछ
।'यस्तै विमान स्थलमा उपस्थित भएका उनका शुभेच्छेकहरूले अब भोज कहिले खुवाउने भन्दा उनले एकै पल्ट धेरै भोज खुवाउने प्रतिक्रिया दिएका थिए । के तपाई सधैको लागि नेपाल आउनु भएको हो त भन्ने फिल्मीखबरको प्रश्नमा उनले भने,'केही दिनका लागि मात्र आए हुँ ।'केही दिनका लागि नेपाल आउनुको कारण एक नयाँ चलचित्र 'परिचय' को लागि लोकेशन हन्ट रहेको उनको भनाई छ । जसलाई हिन्दी चलचित्र 'गदर' का सहायक निर्देशक अशोक पाण्डेले निर्देशन गर्ने भएका छन् । निर्देशक पाण्डे सहितको टोली हिजो आईतबार नै काठमाण्डू आईसकेको जानकारी दिईएको छ ।निखिललाई लिन उनका सहयोगी उमेश उप्रेती र कलाकार तथा पर्सनल मेकअप म्यान राम ठाकुर अन्तर्राष्ट्रिय विमान स्थल पुगेका थिए तर उनलाई लिन सञ्चिता र कोपिला कोही पनि विमानस्थलमा पुगेका थिएनन् । बिहान एघार बजे नै निखिल विमान स्थलमा ओर्लने भनिएपनि जहाज ढिला भएका कारण उनी आउन केही समय ढिला भएको थियो । आगमन कक्षमा उनी निस्कदा ठीक २ः१० बजेको थियो । त्यसपछी निखिललाई ट्याक्सीमा राखेर उनका सहयोगीहरूले गन्त्वय तर्फ लगेका थिए । बुझिन आए अनुसार उनी भक्तपुरमा रहेको आफ्नो निवास नगाई गौशाला तर्फ लागेका थिए ।

आइपुगे हराएका हिरो

मेरोसिनेमा काठमाडौं १० माघ,
पारिवारिक किचलोले विदेश पलायन भएका अभिनेता निखिल उप्रेती सोमबार स्वदेश फर्किएका छन् । दक्षिण छिमेकी भारतको मुम्बइमा पछिल्ली पत्नी सन्चिता लुइँटेलसँग बस्दै आएका एक्सन हिरो लामो समयपछि काठमाडौं फर्किएका हुन् । जेट एयरको विमानबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल फर्कँदा उनी नीलो जिन्स ज्याकेट र पाइन्टमा थिए भने कालोचस्माले आँखा छोपिएको थियो ।
उनी निकट स्रोतका अनुसार निखिलले जेठी पत्नी कोपिलासँग सम्बन्ध विच्छेद गर्न चाहेका छन् । तर यसको स्वतन्त्र पुष्टि चाहिँ भैसकेको छैन । उनी व्यावसायिकभन्दा पनि पारिवारिक समस्या व्यवस्थापनका लागि नेपाल आएका बताइएको छ । सन्चिताको दवावमा निखिलले परिवारिक निर्णय लिन चाहेको स्रोत दाबी गर्छ । 'उनी फिल्म खेल्न नेपाल आएका होइनन्' स्रोतको भनाइ छ 'पारिवारिक किचलो व्यवस्थापन नै उनको आगमनको उद्देश्य हो ।'नेपाल टेकेका निखिल पत्रकारसँग यसबारे बोल्ने मुडमा पनि देखिएनन् । उनी यतिबेला मुम्बइमा रहेर दक्षिण भारतीय सिनेमामा स्थापित हुन संघर्षरत छन् । केही महिनाअघि आफू नेपाल आउन इच्छुक नरहेको बताएका निखिलले आफ्नो फेसबुक भित्तोमा नेपाल आउन लागेको लेखेका थिए । स्वभाविक छ -अबको केही साता नेपाली मिडियामा निखिल र निखिलका निर्णय छाउनेछन् ।

बाटोमुनिको फूलको अनलाइन पाइरेसी

मेरोसिनेमा काठमाडौं १० माघ,
प्रदर्शन हुँदै गरेको नेपाली सिनेमा 'बाटो मुनिको फूल'लाई युट्युवमार्फत अनलाइन पाइरेसी गरिएको छ । नेपाली भाषामा प्रसारण भैरहेका विदेशी अनलाइन संस्करणहरुले करोडभन्दा बढी लगानीको यो चलचित्रलाई अवैधरुपमा इन्टरनेटको संजालबाट विश्वब्यापी बनाएका छन् ।पहिलोपटक चल्दै गरेको ताजा स्वदेशी सिनेमालाई अनलाइनमार्फत पाइरेसी गरिएको यो पहिलोपटक हो । पूर्वी नेपालमा केही सिनेमाहरु पाइरेसी भएको महिनादिन नबित्दै गरिएको यो साइवर अपराध नेपाली सिनेमालाई ठूलो धक्का हो ।
अहिलेसम्म ६ हजारभन्दा बढीले युट्युवमार्फत राजेश घतानी निर्मित'बाटो मुनिको फूल' हेरिसकेका छन् । २ घण्टा २० मिनेट लामो सिङ्गो चलचित्रलाई सोसल साइटमार्फत लिक गरिएको हो । निर्माता घतानीका अनुसार कतिपयले मोबाइलमा समेत फिल्म राखेका छन् । 'धमाधम विदेशबाट तपाईंको फिल्म मनपर्‍यो भनेर फोन आउँदा त सुरुमा दङ्ग परे र धन्यवाद पनि दिएँ' निर्माता घतानीले मेरोसिनेमासँग भने 'बुझ्दै जाँदा त युट्युबमार्फत फिल्म पाइरेसी पो गरिएको रहेछ ।'केही महिनाअघि पूर्वमा पाइरेसीका कारण मारमा परेका निर्माता घतानी अनलाइन पाइरेसीले आफू थप पीडामा परेको बताए । 'अनलाइन पाइरेसी नेपाली सिनेमाका लागि गम्भिर हो' उनले भने 'वितरक संस्थाहरु पाइरेसीविरुद्ध लाग्नुपर्ने भएपनि असहयोग पाइरहेका छौं ।' महिनाअघि नेपालमा रिलिज भैसकेको यो चलचित्रले वितरक डीसीएनको बक्सअफिसमा १ करोड ग्रस कलेक्सन गरिसकेको छ । पाइरेसीका कारण यो चलचित्र सर्वाधिक मारमा पनि परेको छ ।

युट्युवमा यशकुमारको उजुरी

मेरोसिनेमा काठमाडौं १० माघ,
निर्माता यशकुमारले सोसल साइट युट्युवमा राखिएको आफू निर्मित चलचित्र 'बाटो मुनिको फूल' हटाउन युट्युव मुख्यालयमा उजुरी गरेका छन् ।झन्डै आधापृष्ठ लामो उजुरीमा उनले चलचित्रको आधिकारिता आफूसँग रहेको र अपलोड गरिएको चलचित्र विनाइजाजत भएकाले हटाउन माग गरेका छन् ।
क्यानडाबाट संचालित एक वेभसाइटले पहिलोपटक पाइरेसी गरेको जानकारी आफूलाई प्राप्त भएको बताउँदै उनलेअविलम्व पाइरेसी सिनेमा हटाउन माग गरेका हुन् ।युट्युवमा उजुरी गर्नुअघि दोषीलाई कार्वाहीका लागि माग गर्दै उनी हनुमानढोका प्रहरीमा पुगेका थिए तर प्रहरीले साइवर अपराधीलाई कार्वाही गर्ने संयन्त्र नभएकाले उजुरी दर्ता गर्न मानेन ।'प्रहरीले पहिलोपटक यस्तो घटना भएको बताएर अक्कनमक्क परेका थिए' उनले भने 'युट्युवमा उजुरी त गरेको छु चाँडो होस भन्ने हाम्रो आशा छ ।' यशकुमार चलचित्रका प्रमुख निर्माता हुन् ।उक्त वेभसाइटले यसअघि प्रदर्शन भैसकेका दर्जनभन्दा बढी नेपाली चलचित्रलाई पनि वेभसाइटमा राखेको छ । अपलोड गरिएका ती सबै चलचित्र पाइरेसी गरिएका हुन् ।

नयाँ चिनोलाई साठीलाख

रिमेक सिनेमा 'चिनो'ले नेपाली सिनेमाको ब्यापारमा केही उत्साहको वातावरण सिर्जना गरिदिएको छ । धमाधम सिनेमाहरु फ्लप भैरहेको बेला शोभित बस्नेत निर्देशित यो फिल्मले भने मध्यम पिकअप लियो र वितरक डीसीएनको बक्सअफिसमा पहिलो साता साठी लाख रुपैंया ग्रस कलेक्सन गर्‍यो । पछिल्ला तीनदिनको तुलनामा अघिल्ला चारदिनमा चिनोको पिकअप उत्साहपूर्ण रह्यो ।

कमजोर रिभ्यू बटुलेपनि नेपाली चलचित्रका नियमित दर्शकले सिनेमा रुचाएका छन् । अर्को साताका लागि होल्डओभर कायम गरेपनि शुक्रबारदेखि प्रदर्शनमा आएको बिराज भट्ट स्टारर 'गंगाजल'ले चिनोको पिकअपमा बाधा पुर् याइरहेको प्रष्ट देखिएको छ । अघिल्लो साताजस्तो पिकअप दोस्रो सातामा हुनसकिरहेको छैन । डीसीएन वितरण प्रमुख दीपक दंगालका अनुसार प्रमोद भण्डारी निर्देशित 'गंगाजल'ले उपत्यकामा औषत पिकअप लिइरहेको छ ।अघिल्लो शुक्रबारसम्म 'गोर्खापल्टन'को कुल ग्रस २ करोड २८ लाख पुगेको छ । 'गोर्खापल्टन' अहिलेपनि राजधानीका केही सिनेमा घरहरुमा प्रदर्शन भैरहेको छ । पुनःनिर्माणपछि प्रदर्शन थालेको कालोपुलस्थित हीरारत्न हलले प्रशान्त तामाङ अभिनित चलचित्र चलाएको छ । चलचित्र वितरक तथा समीक्षकहरु कुनै सिनेमाले केही आम्दानी गर् यो भन्दैमा उद्योगको व्यावसायिक संकट नहटेको बताउँछन् ।

ऋचाको जवानी !

टसन लुक देखिने अभिनेत्री ऋचा घिमिरेको धोको पुरा होलाजस्तो छ । डेढमहिने युरोप घुमघामपछि दुब्लाउने उनको रहर मेटिने क्रममा छ ।मोटोपनसँग संघर्ष गरिरहेकी ऋचा बेलायतबाट ल्याएको हर्बल औषधी पिएर तौल घटाउन मिहेनत गरिरहेकी थिइन् । पछिल्लो महिनामात्र 'वीरताको चिनो' स्टार ऋचाको तौल ६ किलो घटेको छ । जारी प्रोजेक्ट 'तुलसी'को सुटिङका लागि पनि ऋचाले आफ्नो तौललाई घटाएर ५३ किलो पुर्‍याउनुपर्ने हुन्छ ।'मैले ६ किलो तौल घटाएँ । पुर्‍याउनुपर्ने ५३ किलो हो । आशा गरेअनुसार तौल घटिरहेको छ । प्लिज भगवान मलाई सहयोग गरिदिनुहोस' ऋचाले भगवानसँग सहयोग मागिरहेकी छिन् ।यसका लागि ऋचाले के मात्र गरिन्न ? मर्निङवाक, जगिङ, डाइटिङ सबै । तर उनको हर्वल औषधीले भने प्रभावकारी काम गरिरहेको रहेछ । उनको घट्दो तौलबाट श्रीमान पति शंकर लामिछाने पनि खुशि छन् । साँच्चिकै ऋचाको जवानी बढ्दो उमेरसँगै देखापरिरहेको छ ।

निखिल, सञ्चिता र कोपिलाको क्लाईमेक्स

करिब एक बर्ष अगाडी निखिल उप्रेती नायिका सञ्चिता लुईटेलसँग दोस्रो बिबाह गरेर मुम्बई पसेको खबरले अहिलेसम्म पनि रजतपटमा हल्लीखल्ली मच्चाई रहेको छ ।हुनत यि दुई बिच प्रेम रहेको तर बिबाह भने अझै भईनसकेको भन्ने खबर पनि नआएको हैन तर पनि नायिका सञ्चिताले निखिलले आफ्नो सिउँदो भरेको बताउँदै आएकी छिन् । यता निखिलकी पहिली पत्नि कोपिलाले भने निखिलले बिबाह गर्नै नसक्ने दाबी गरेकी छिन् । तर यो बिषयमा भने नायक निखिल उप्रेती मौन जस्तै बनेर बसेका छन् ।सञ्चारमाध्यममा निखिल र सञ्चिता मुम्बईको एउटै फ्ल्याटमा बस्दै आएको समाचार निकै प्रकाशित भए । तर केहि दिन अघिमात्र कोपिला आफ्नो छोरो लिएर पति भेट्न मुम्बई पुगेकी थिईन् । स्रोतले बताएअनुसार कोपिलाले निखिलको रूममा सञ्चिताको कुनै सामान भेटिनन् र उनी निखिलले बिहे नगरेको कुरामा ढुक्क भईन् ।बिशेष स्रोतले बताएअनुसार कोपिला आउन खबर थाहा पाए लगत्तै सञ्चिताले आफ्ना सामानहरू सबै लुकाएर अहिले उनी नेपाल आएकी छिन् । यता निखिललाई भेटेर कोपिला पनि अहिले नेपाल फर्की सकेकी छिन् भने निखिल पनि केहि दिनमा नेपाल आउने बताईएको छ ।निखिल नेपाल आए लगत्तै उनी कोपिला र सञ्चिता मध्ये कोही एकको हुने लगभग पक्का छ । चलचित्रको भाषामा भन्दा यि तीनको क्लाईमेक्स अबको केहि दिनमा शुरू हुँदैछ र यि तीन मध्ये एक जना निक्लिने करिब निश्चित छ । किनकी सञ्चिताले अब निखिल आफ्नो मात्र रहेको बताईसकेकी छिन् भने कोपिलाले निखिललाई कुनै पनि हालतमा नछोड्ने अड्डी लिएकी छिन् ।

निर्देशकलाई थाहा छैन फिल्म रिलिज भएको

फिल्मीखबर, काठमाण्डौ, २०६७ माघ ७, शुक्रवार
आजबाट अचानक काठमाण्डौ उपत्यकाको अठार र हेटौडाको एउटा सिनेमा भवनमा रिलिज गरिएको चलचित्र गंगाजलको प्रदर्शनको बारेमा स्वयम सो चलचित्रका निर्देशकलाई जानकारी नदिईएको खुल्न आएको छ ।
निर्माता सुनिल ढकाल र निर्देशक प्रमोद भण्डारी बीच सामान्य मनमुटाव उत्पन्न भएपछी रिलिजको अघिल्लो दिन मात्र भण्डारीले सो जानकारी बाहिरबाट पाएका थिए । उता निर्माता ढकालले भने फिल्म रिलिजको जानकारी धेरै समय अघि देखि नै निर्देशकलाई थाहा दिएको दाबी गरेका छन् । तर निर्देशक भण्डारी भने सो कुरालाई मान्न तयार छैनन् । यस्तै सो चलचित्रका कलाकारहरू बिराज भट्ट, रेखा थापा तथा सोभिता सिंखडालाई पनि फिल्म रिलिज बारे सामान्य जानकारी समेत नदिईएको बुझिएको छ । तर यो कुरालाई भने निर्माता ढकाल आफै स्वीकार्छन् । उनी भन्छन्, 'कलाकारको व्यस्तता होला भनेर खबर गरिन ।'यो साता क्यूबाट शासन प्रदर्शनमा आउने पालो भएपनि प्रिन्ट तयार नभएकाले शासनको ठाँउमा एक साताको लागि गंगाजल अचानक लगाईएको हो । गएको सातादेखि प्रदर्शनमा आएका चलचित्र 'न बिर्सें तिमीलाई न पाएँ तिमीलाई' र 'चिनो' को ब्यापार दोस्रो सातामा खस्किने संकेत पाएपछी हल सञ्चालहरूले नयाँ फिल्मको माग गरेका थिए जस अनुरूप निर्माता संघको स्वीकृतिमा गंगाजल एकाएक प्रदर्शनमा आएको हो ।

गंगाजल र धोवीघाटको असर चिनोमा

मेरोसिनेमा काठमाण्डौं ७ माघ ,
निर्देशक शोभित बस्नेतका लागि दोस्रो साता चुनौतिपूर्ण हुनसक्छ । कारण -शुक्रबारदेखि उपत्यकामा प्रदर्शन थालेको 'गंगाजल'ले बस्नेत निर्देशित 'चिनो'को प्रभावलाई ओपनिङमै न्यून तुल्याइदिएको छ । क्यूवका १३ थिएटरबाट प्रदर्शन थालेको 'गंगाजल'ले डीसीएन सर्भरको 'चिनो'को कलेक्सनमा बाधा पारिदियो । किनभने दुवै चलचित्रका हिरो बिराज भट्ट हुन् र स्वभाविकरुपमा बिराजका दर्शकहरु बाँडिएका छन् ।
प्रमोद भण्डारी निर्देशित 'गंगाजल'ले मोफसलमै बस्नेतको अघिल्लो प्रोजेक्ट 'कन्यादान'लाई धक्का दिएको थियो । फलस्वरुप 'कन्यादान'ले दुवै थिएटरमा कलेक्सन ग्राफ उकाल्न सकेन र फ्लप भयो । अब पालो उपत्यकामा । उही 'गंगाजल' र उही निर्देशकको पछिल्लो प्रोजेक्ट । ओपनिङका दुइदिनमा करिब ३० लाखको ग्रस बटुलेको 'चिनो'ले सप्ताहन्तको पहिलो दिन कलेक्सनमा जोड दिन सकेन ।उस्तै कथा र उस्तै मेकिङ ट्रेन्डका यी दुई चलचित्रको प्रतिस्पर्धाले दुवैको ब्यापारमा कठिन हुने पक्का छ जुन तथ्य शुक्रबार देखापर्‍यो । शुक्रबारै रिलिज भएको बलिउड स्टार आमिर खानको सिनेमा 'धोवीघाट' पनि चिनोका लागि चुनौतिपूर्ण बन्यो । किनभने कतिपय डीसीएन सर्भरका सिनेमा हलले 'चिनो' उतारेर आमिर खानको 'धोवीघाट' प्रदर्शन गरेका छन् । निर्देशक बस्नेतका लागि दोस्रो साताको बाटो सजिलो हुनेछैन ।

'स्क्यान्डल गरेर भए पनि चर्चामा आउँछन् भुवन केसी


काठमाडौं, माघ ७ (नागरिक)- फिल्म क्षेत्रका कलाकारहरू को-कस्ता छन्? अभिनेत्री रेखाको भोगाइ:
जोक सुनाउन र ठट्टा गर्न माहिर : गणेश उप्रेती। कहिलेकाहीँ सिरियस भूमिका गर्दा पनि आफ्नै पाराको जोक्स गर्नुहुन्छ। उहाँको जोक्सले गर्दा निर्देशक हैरान भएको घटना पनि छ।
स्क्यान्डल गरेर भए पनि चर्चामा आउनेः भुवन केसी। स्क्यान्डल उहाँलाई प्रमोसन गर्ने साधारण माध्यम हो। भुवन र स्क्यान्डल एकअर्काबिना अपूर्ण छन्।
अरूको दुःख सुनेर तुरुन्तै रोइहाल्नेः वसुन्धरा भुसाल। मायाको खानी नै हुनुहुन्छ। अरूको समस्यामा तुरुन्त आँसुको धारा बगाउनुहुन्छ।

आनी बानी
रेखा थापा, अभिनेत्री
कम बोल्ने तर प्रतिभावान : छवि ओझा। बोलीभन्दा काममा विश्वास गर्नुहुन्छ।
धेरै खर्च गर्ने स्वाभावको : नरेश पौडेल। खर्च नगर्नु पर्ने स्थितिमा पनि खर्च गर्नुहुन्छ।
आफ्नो काम ठीक समयमा गर्नेः रेखा थापा। म कामप्रति पागल नै छु। काम नसिद्धिएसम्म अरूतिर ध्यान जाँदैन।
काममा सधैं सिरियस हुने, ठट्टा नगर्नेः राजेन्द्र खड्गी। रमाइलो गर्ने समयमा रमाइलो गर्न तयार भए पनि कामको समयमा यताउता भयो भने पिटाइ पनि खाइन्छ।
लुगा चिटिक्क मिलाएर लगाउनेः जीवन लुइँटेल। प्रायः फिटिङ ड्रेसअपमै हुन्छ।
झनक्क रिसाउने र पछि माफी माग्नेः करिश्मा मानन्धर। उहाँ रिसाएको माफी मागेपछि थाहा हुन्छ।
सफासुग्घरी, खानपिनको सफाइमा धेरै सचेतः अरूणिमा लम्साल। सफा र स्तरीय खाना उनलाई फिल्ममा लिनुअघि निर्माताले सोच्नुपर्ने कुरा हो।

कलाकार शान्ति मास्केको निधन

सन्तोष रिमाल, काठमाडौं, माघ ५- अभिनेत्री शान्ति मास्केको गए राति १० बजे निधन भएको छ। मुटुको रोगबाट पीडित मास्केको ८३ वर्षको उमेरमा निधन भएको हो। उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका बिहानदेखि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो। प्रधानमन्त्री सहित सरकारका मन्त्री तथा कलाकारहरुले प्रज्ञा भवन पुगेर मास्केप्रति श्रद्धाञ्जली व्यक्त गरे।श्रद्धाञ्जलि दिन पुगेका प्रधानमन्त्रीले मास्केको निधनले नेपाली कला क्षेत्रलाई अपुरणीय क्षति पुगेको बताए। 'मास्केको कलाकारिताबाट अरुले पनि सिक्न जरुरी छ', प्रधानमन्त्री नेपालले भने।मास्केलाई अन्तिम श्रद्धाञ्जलि दिन बसन्धुरा भुसाल, भुवन चन्द, चैत्यदेवी सिंह, धिरेन शाक्य सहितका कला क्षेत्रका धेरै व्यक्ति प्रज्ञा भवन पुगेका थिए।

यसैबीच दार्जिलिङकी प्रसिद्ध लोकगायिका हिरादेवी वाइवाको बुधबार बिहान निधन भएको छ। पश्चिम बंगालको सिलिगुढीस्थित निवासमा तापिरहेको आगो कपडामा सल्केपछि जलेर घाइते भएकी उनलाई उपचारार्थ उत्तर बंगाल मेडिकल कलेजमा भर्ना गरिएको थियो। उनको उपचारकै क्रममा विहान साढे ६ बजे निधन भएको हो।सन् ६० को दशकमा चर्चित भएको 'फरिया ल्याइदेछन् त्यो पनि राता घनन, त्यही पनि मनपरेन भन्देउ न भनन'गीतकी गायिका वाइवा दशक अघिदेखि दार्जीलिङ छोडेर सिलिगुढी बस्दै आएकी थिइन्। त्यसबाहेक दर्जनौं तामाङ सेलो गीत पनि उनका परिचयका रुपमा लोकप्रिय छन्।एक छोरा र दुई छोरीकी आमा उनी त्यहाँ एक्लै बस्थिन्। छोराछोरी सिंगापुरमा छन्।

मुम्बईका नेपाली कलाकारको कथा

काठमाडौं, माघ ४ (नागरिक)- मुम्बई सहरमा बस्ने सफल नेपाली कलाकारहरूमाथि डकुमेन्ट्री तयार भएको छ। नेपाल भारत सम्बन्धको अवसरमा नेपालस्थित भारतीय दूतावासले तयार गरेको डकुमेन्ट्रीमा नेपाली मूलका कलाकारको कथा समेटिएको छ। 'रेन्बो ओभर मुम्बई' शीर्षकको डकुमेन्ट्रीमा नेपाली मूलका सात कलाकारका कथा छन्। मुम्बईमा बसोबास गर्ने लाखौं नेपाली मूलका व्यक्तित्वमध्ये केही सफल कलाकारको कथा डकुमेन्ट्रीमा हेर्न पाइनेछ।गत वर्षको भारतीय स्वतन्त्रता दिवसको अवसरमा निर्माण सुरु गरिएको डकुमेन्ट्रीले नेपाल र भारतबीचको मैत्री सम्बन्धबारे जानकारी गराउँदछ।शेखर खरेलको निर्देशनमा बनेको डकुमेन्ट्रीमा अभिनेत्री मनीषा कोइराला, सेक्सोफोनिस्ट मनोहरि सिंह, चित्रकार लक्ष्मण श्रेष्ठ, गायक उदितनारायण झा, ग्यामर फोटोग्राफर राकेश श्रेष्ठ, आर्ट निर्देशक अञ्जन गजुरेल र क्यामेराम्यान वसन्त कर्माचार्य अटाएका छन्।
करिब एक १ वर्ष लगाएर तयार गरिएको ५० मिनेट लामो डकुमेन्ट्री आउँदो फागुनमा प्रदर्शन गरिनेछ। यसमा सात कलाकारलाई इन्द्रेणीका सात रङसँग तुलना गरिएको हो। 'कुनै एक विषयमा डकुमेन्ट्री बनाउनुपर्ने हुँदा मनोरञ्जन क्षेत्र रोजेको हुँ। विषयवस्तुका दृष्टिले मुम्बईमा नेपाली मूलका यी सात व्यक्तित्वहरू सफल छन्,' शेखरले भने। सेक्सोफोनिस्ट मनोहरि सिंहको निधनप्रति निर्देशक शेखर दुःखी छन्।
हप्ताको तीनपटक मिर्गौलाको उपचार गराइरहेका मनोहरिको ८३ वर्षको उमेरमा गत असार २९ का दिन निधन भएको थियो। उनले संगीतकार आरडी बर्मनसँग चिफ एरेन्जरको रूपमा काम गरेका थिए।
कलाकार लक्ष्मण श्रेष्ठले चित्रकलामा नेपाली परिवेशलाई उतार्ने गर्छन्। अन्तर्राष्ट्रियस्तरमै चर्चित होटल ताजमा उनले तयार गरेका चारवटा चित्र टाँगिएका छन्। क्यामेराम्यान वसन्त कर्माचार्यले भारतीय चर्चित सिरियल 'सिआइडी'मा आवद्ध छन्। त्यस्तै अञ्जन गजुरेल भारतीय सिनेमाका लागि सेट तयार गर्छन्। अर्का ग्ल्यामर फोटोग्राफर राकेश श्रेष्ठ सेलिब्रिटी फोटोग्राफीमा चर्चित छन्। नेपालीहरूका लागि गौरव मानिने अभिनेत्री मनीषा कोइराला र उदितनारायण झाको कथाले दर्शकलाई प्रोत्साहित गर्ने शेखरको धारणा छ। डकुमेन्ट्री तयार गर्दा शेखरले धेरै अनुभव समेटेका छन्। 'मैले अरू पनि सफल नेपाली भेटेको थिएँ तर नेपाली हुन् भन्दा पत्याउनै गाह्रो हुन्छ,' बताउने शेखरका अनुसार मुम्बईका धनाढ्यहरूको सूचीमा नेपाली मूलका मानिसमेत छन्। डकुमेन्ट्रीलाई नेपालस्थित भारतीय दूतावासले नेपाल र भारतमा प्रिमियर गर्ने छ।

ज्याकेट खोल्न हिरोइनको अटेरी

काठमाडौं, माघ ३ (नागरिक)- वसन्तपुरमा शनिबार साँझ हिरो राजवल्लभ कोइराला पातलो कमिजमा देखिए। चिसोले गर्दा उनी लुगलुग काम्दै थिए। फिल्मको सुटिङ थियो। नत्र उनले किन सहन्थे र त्यस्तो चिसो! 'प्रीतिको फूल' भन्ने फिल्मको सुटिङमा हिरोइन युना उप्रेती र केही झ्याप्ले फाइटरहरू पनि थिए। फाइटरहरूले हिरोइनलाई लखेट्दै गर्दा हिरोले सुरक्षा दिने दृश्य खिच्ने दाउ फाइट डाइरेक्टर योगेन्द्र श्रेष्ठको थियो।फाइटरहरू युनालाई लखेट्न तयार भए। तर, उनीहरू सबै बाक्ला ज्याकेटमा थिए। हिरो जाडोमा कमिजमात्र लगाएर बस्ने, भिलेनहरू र हिरोइन चाहिँ ज्याकेटमा! राजवल्लभलाई रिस उठ्नु स्वाभाविक थियो।
सुटिङ सुरु हुनै लाग्दा उनले फाइट डाइरेक्टर योगेन्द्रसँग प्रश्न गरे, 'दिउँसो सुन्धारामा दौडिँदा चाहिँ पातलो लुगा, अहिले चाहिँ बाक्लो?' पछि फिल्ममा नमिल्दो देखिने हुनाले सबैले ज्याकेट खोल्नु पर्ने सुझाव राजवल्लभले दिए।योगेन्द्रलाई कुरा चित्त बुझ्यो। उनको एक चुड्कीमा सबै फाइटरहरू ज्याकेटविहीन बने। हिरोइन युना चाहिँ आनाकानी गर्दै थिइन्। उनले ज्याकेट खोल्न नमान्नुको कारण पनि धेरै बेर लुक्न सकेन।'हिम्मत-२' फिल्ममै लगाइसकेको धर्के टिसर्ट देखिने हुँदा युनाले ज्याकेट खोल्न नमानेकी रहिछन्। राजवल्लभ पनि के कम? उनले ठट्टा गरे, 'एउटै हेयर स्टाइलको भरमा राजेश हमालले रजाइँ गरेको २० वर्ष भइसक्यो, तिम्रो टिसर्ट दोहोरिँदैमा के हुन्छ र!'योगेन्द्रले पनि कर गरेपछि युनाको केही लागेन। उनलाई ड्रेसम्यानले भ्यानभित्र लगे। सायद, टिसर्ट बदल्न होला। भ्यानबाट हिरोइन त्यही टिसर्टमा फर्किन् वा अर्कै ?हिरोइनको टिसर्टप्रति चासो देखाउनुभन्दा 'पेट पूजा' गर्नु उचित लागेपछि यी सबै दृश्यका प्रत्यक्षदर्शी नागरिक का ग्राफिक डिजाइनर घरतिर लागे।

जिन्दगीको के भर छ र... गायकको निधन

काठमाडौं, माघ ३ (नागरिक)-एक सयभन्दा बढी नेपाली चलिचत्रमा गीत गाएका कुमार कान्छाको ५३ वर्षको उमेरमा सोमबार मुम्बइस्थित रइजा अस्पतालमा निधन भएको छ। 'कोशेली' र तुलसी घिमरेको निर्देशनमा बनेको चर्चित नेपाली चलिचत्र 'लाहुरे'मा अभियन समेत गरेका कान्छाले नेपाली, हिन्दी, पन्जावी, बंगाली, उडिया, मराठी, भोजपुरी, मैथिली सहित २५ भाषामा एक हजार भन्दा बढी गीत गाएका छन्।
कान्छाले साइनो चलिचत्रका लागि गाएको 'आमैले भन्थे... धाराको पानी...' गीत नेपाली जनजिब्रोमा लामो समयसम्म झुन्डिएको थियो। अर्को गीत 'जिन्दगीको के भर छ र...' लामो समयसम्म चर्चित रहेको थियो। साइनो र अर्को एक गरी उनका दुई क्यासेट एल्बम बजारमा आएका थिए।मेरुदण्ड (स्पाइनल कर्ड)मा उत्पन्न खराबीका कारण शरीरको तल्लो भाग चल्न नसकी केही समयदेखि मुम्वईस्थित रइजा अस्पतालमा उनको उपचार भइरहेको थियो। कमाएको सबै सम्पत्ति उपचारमा खर्च भएपछि अस्पताल शैय्याबाटै उनले सहयोग गर्न नेपालीहरुलाई आह्वान गरेका थिए। उनको आह्वानको भिडियो युट्युबमा अपलोड गरी सहयोग संकलन गरिएको थियो।उनको उपचारका लागि काठमाडौंमा कुमार कान्छा उपचार सहयोग समिति निर्माण गरी विभिन्न सहयोग जुटाइएको थियो।
लाखौं शुभचिन्तकको माया पाए पनि कुमार कान्छा अब सदाका लागि अस्ताएका छन्। 'जिन्दगीको के भर छ र...!'

अबदेखि सातामा तीन चलचित्र

मेरोसिनेमा काठमाडौं २७ पुस,
नेपाली सिनेमा उद्योगका लागि दुःखद खबर । अबदेखि सातामा औषत तीन चलचित्र प्रदर्शनमा आउँदैछन् । यसो हुनुमा निर्माताहरुबीचको असमझदारी प्रमुख कारण रहेको ठम्याइ जानकारहरुको छ । ०६७ मा प्रदर्शनमा आएका ५२ सिनेमामध्ये चारवटाले मात्र लगानी उठाएका थिए । त्यो खतरा दोहोरिने क्रममा छ र सुरुआत भने आगामी शुक्रबारदेखि सुरु हुँदैछ । योगेश घिमिरेको 'नबिर्सें तिमीलाई नपाएँ तिमीलाई', नरेन्द्र थापाको 'देशदेखि बिदेश' र शोभित बस्नेतको 'चिनो' एकसाथ रिलिज हुँदैछन् । तीनैजना निर्माताले आ-आफ्ना फिल्म तगडा रहेको घमण्ड गरिरहेका छन् ।

माघ चौधमा 'शासन', 'स्वर', 'दिलमाया' र 'मैले भुल्नै सकिँन' रिलिज हुँदैछन् । वर्ष २०११ भरी हप्तैपिच्छे तीनचारवटा सिनेमा रिलिज हुनेछन् । प्रतिक्षा सूचिमा रहेका ७२ सिनेमा उपत्यका र बाँकी मोफसलमा रिलिज हुने भएकाले प्रदर्शनमा उतारचढाव आएको हो । एकैचोटी चलचित्रहरु रिलिज हुँदा त्यसको फाइदा दर्शकलाई पुग्ने भएपनि निर्मातालाई भने घाटा हुन्छ । एकल प्रदर्शनमा फाइदा हुने जान्दाजान्दै पनि कतिपय निर्माता फिल्म जुधाउँदा राम्रो चलचित्रलाई के असर पर्छ भने तर्क गरिरहेका छन् ।'सिनेमा चलाउनु ठूलो कुरा होइन जति ब्यावसाय ठूलो हो' निर्माता संघका कार्यकारी सदस्य जयप्रकाश रिजाल भन्छन् 'यसले नेपाली चलचित्रको भविष्य सुधारोन्मुख देखिदैंन निर्माताहरु बीचमा समझदारी छैन र आफ्नो फिल्म तगडा रहेको दावी गरिरहेका छन् ।' प्रदर्शनको यो अनियमितताले नकारात्मक सन्देश प्रवाह हुने र नयाँ आउने निर्मातालाई हतोत्साही तुल्याउने उनको धारणा छ । निर्माता तथा वितरक सुनिल मानन्धरको विश्लेषणमा नेपाली चलचित्रले अहिलेजस्तो संकट कहिल्यै भोगेको थिएन ।

पाका हिरोहिरोइनको जवानी…!

मेरोसिनेमा, काठमाडौं २७ पुस,सन्दर्भ शीलाकी जवानीको होइन । नेपाली सिनेमाका पाका हिरोहिरोइनको जवानीको । कुनैसमय 'अनस्क्रिन' अभिनयले नेपाली दर्शक रिझाएका पुरानो पुस्ताका अभिनेता र अभिनेत्रीलाई फेरी वैंशको पालुवा पलाएजस्तो छ । कुनैसमय नेपाली चलचित्रमा एकछत्र साम्राज्य जमाएका पाका हिरोहिरोइनहरु एक नयाँ चलचित्रमा कम्मर मर्काएको भूमिका र दृश्यमा देखापर्दैछन् संयुक्तरुपमा । यस्तो मेसो मिलाएका हुन् निर्देशक शंकर घिमिरेले आफ्नो जारी प्रोजेक्ट 'तुलसी'मा ।
शिव श्रेष्ठ, भुवन केसी र राजेश हमाल तथा करिश्मा मानन्धर, मौसमी मल्ल र तृप्ती नाड्कर दशकौंपछि 'अनस्क्रिन रोमान्स'मा उत्रँदैछन् । 'तुलसी'को एक गीतमा यी केमेष्ट्री मिलेका जोडीहरुले कतिको मन हर्ने हुन् अनुमानको कुरा । निर्देशक घिमिरेले गृहजिल्ला चितवनमा भैरहेको महोत्सवको छेकोमा यस्तो प्रकृतिको सुटिङ गर्न लागेका हुन् । 'तीनहजारको क्राउडबीच नाचको सुटिङ गर्नेछु' उनले भने 'कृत्रिम तरिकाले मान्छे बोलाएर सुटिङ गर्नुभन्दा त्यसमा प्राकृतिक स्वाद दिन चाहन्छु ।'तीनदिन लगाएर नाचको सुटिङ गर्नेछन् उनले । 'गाउँमा एउटा हल्ला चल्छ र सबैजना मेला भर्न आउँछन्' सिनेमाको पटकथा सुनाए उनले 'अनि पाका हिरोहिरोइनहरु नाचेको हेर्न गाउँलेहरु मेलामा ओइरिन्छन् ।' पत्नी ऋचाको अपोजिटमा हिरो विमलेशलाई पनि नचाउँदैछन् शंकरले । चार गीतको सुटिङको सिलसिलामा यतिबेला 'तुलसी' युनिट अन्नपूर्ण चक्रीय पदमार्गको धम्पुसमा छ ।

दिलमायाको 'छुट्छ कि साथ...'

फिल्मीखबर, काठमाण्डौ, २०६७ पौष २५, आईतवार
कुनै पनि चलचित्र राम्रो बन्नुमा गीतसंगीतको पनि मह्त्वपूर्ण हात रहन्छ । चलचित्रमा प्रयोग गरिने गीतसंगीत जति राम्रो भयो त्यसले चलचित्रको प्रचारप्रसारमा त्यतिनै महत्वपूर्ण भुमिका पनि खेलेको हुन्छ । पछिल्लो समयमा फस्टाउँदै गएको कलर रिङ्ग ब्याक टोन यसको जल्दोबल्दो उदाहरणको रूपमा रहेको छ ।
बिभिन्न दूरसञ्चार प्रदायक संस्थाहरूले प्रदान गरेको रिङ्ग ब्याक टोनले अहिले गितसंगीतका स्रस्टाहरूलाई निकै सहयोग पुर्‍याएको छ । यसको प्रत्यक्ष असर नेपाली चलचित्र उधोगलाई परेको छ । 'कहाँ भेटिएला', 'नाई नभन्नु ल', टक्कर दुई मुटुको' लगायतका चलचित्र का गीत निकै चर्चित भए र निर्माताले सिआरबिटीबाट पैसा पनि मज्जाले कमाए । पछिल्लो चरणमा एलिजा रिजालको निर्माणमा बनेको चलचित्र 'दिलमाया' को 'छुट्छ कि साथ...' बोलको गीत अहिले निकै चर्चित छ ।माघ १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र 'दिलमाया' को उक्त गीतको सिआरबिटीबाट उठेको रकम नै निर्माता रिजालले आफ्नो चलचित्रको प्रचारप्रसारमा खर्च गरेकी छिन् । उनी भन्छिन्, 'सिआरबिटीबाट उठेको रकमले मलाई पब्लिसिटी गर्न धेरै मद्दत गरेको छ ।' अहिले सो गीतको सिआरबिटी करिब ८४ हजार पटक डाउनलोड भईसकेको छ । नेपाल टेलिकम अन्तर्गत नै उक्त गीत करिब ५४ हजार पटक डाउनलोड भईसकेको छ भने एनसेलमा पनि करिब करिब ३० हजार पटक सो गीत डाउनलोड भईसकेको चलचित्रका निर्देशक राजु गिरीले बताए ।युवासंगीतकार अर्जुन पोखरेलले चलचित्रमा पहिलो पटक संगीतबद्व गरेको सो गीतमा दुर्गा खरेलले स्वर दिएकी छिन् । जसलाई अमृत रेग्मीले लेखेका हुन् । आफूले पहिलो पटक संगीत भरेको सो गीतले निकै चर्चा पाएपछि संगीतकार पोखरेल अहिले निकै खुसी छन् । उनी भन्छन्, 'यो सबै संगीतप्रेमी स्रोताहरूले दिनुभएको माया हो ।' आशा गरौं चलचित्रको गीतले जसरी चर्चा पाएको छ माघ १४ गतेपछि चलचित्रले पनि त्यत्तिकै चर्चा पाओस् ।
चलचित्र सफल हुनु र निर्माताले सोहीअनुसार पैसा पाउनु फरक कुरा हुन् । वर्ष २०१० को हिट नेपाली चलचित्र 'गोर्खापल्टन'का निर्मातालाई यतिबेला यही भएको छ । सिनेमाले २ करोड १० लाख ग्रस त बटुल्यो तर निर्माताको हातमा त्यसको एक तृतियांश पनि परेको छैन । औषत निर्माण बजेट खर्च भएपनि चलचित्रको लगानी बराबरको पैसा हात पर्न निर्माता सुरज वंशललाई मुस्किल छ । वंशल भन्छन् 'शब्दमा हिट हुनु र व्यवहारमा हिट हुनु बेग्लै रहेछ । जुन मैले भोगिरहेछु ।'प्रशान्त तामाङ स्टारर चलचित्रले डीसीएनको बक्सअफिसमा २ करोड बढ्ता ब्यापार गरेको थियो । पैसा हातमा पार्न निर्माता वंशल प्रदर्शक र वितरककहाँको दौडधूपमा व्यस्त भएपनि उनलाई हलवालाबाट सजिलै पैसा फुत्केला भन्ने आशा कमै लागेको छ ।'के गर्नु हलवालाहरु पैसा दिनै मान्दैनन्' उनका भाइ समेत रहेका निर्माता जितु वंशल भन्छन् 'यसमा हलवाला मात्र दोषी रहेनन् हाम्रो सिस्टमनै दोषी छ ।'नीति परिवर्तन नगरेसम्म निर्माताले समस्या भोगिरहने उनको कथन छ ।
यस्तै चपेटामा छन् 'फस्टलभ' निर्माता माधव वाग्ले । वर्ष २०१० मा डेढकरोड ब्यापार गरेको चलचित्रबाट वाग्लेले ५० लाख लगानी बराबरको पैसा त हात पारे तर फाइदाको पैसा उनलाई सूको हात लागेन । 'जहाँको तहीँ भएँ म' उनी भन्छन् 'पैसा हात लाग्ने आशा त छ तर फाइदाको पैसा अहिलेसम्म पाएको छैन । यद्यपी गाउँका साना थिएटरमा अझैपनि डीभीडीबाट चलिरहेकाले थप १२ लाख आउने आशा पालेका छन् उनले ।'हलवालाहरु भन्छन् एउटा गर्छन् अर्को' वाग्ले भन्छन् 'पैसा त के विवरण समेत प्रदर्शकबाट ठीक आउँदैन ।' जसका कारण निर्माता मर्कामा पर्ने गरेको उनको भनाई छ । 'फिल्म हिट भयो भनेर मात्र हुँदैन, पैसा उठे पो फिल्म हिट' वाग्लेको अनुभव छ 'ब्यापार त घामजस्तै छर्लङ्ग हुनुपर्ने तर त्यस्तो छैन भ्याट, टीडीएस र खर्च भनेर गोलमटोल गर्ने प्रवृत्ति छ ।' वितेको वर्ष उत्कृष्ट चलचित्रका यी दुवै निर्माताहरु हलवालाको प्रवृत्ति नसुधि्रएसम्म पैसा पनि हातमा नपर्ने र कमब्याक हुन निर्मातालाई कठिन पर्ने धारणा राख्छन् । पुरानाको हालत त यस्तो छ भने नयाँको हालत कस्तो हुने हो यी निर्माताद्धय प्रश्न गर्छन् ।
अन्तिम समयमा आएर पर्यटन बोर्ड र संचार मन्त्रालयले असहयोग गरेपछि चलचित्र 'तुलसी'को सुटिङ नजिकका पर्यटकीय स्थानहरुमा गरिने भएको छ । बाँकी चार गीतको छायांकनका लागि सुटिङ युनिट अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गतको धम्पुसतर्फ सोमबार लाग्दैछ । प्रस्तुतकर्ता ऋचा घिमिरेका अनुसार पोखरा र चितवनमा पनि गीतको सुटिङ गरिनेछ । यसअघि रारा, तिलिचो र च्छोरोल्पा हिमतालमा छायांकन गरिने योजना थियो । 'तर पर्यटन बोर्डले गोरखाको बारपाकमा सुटिङ गरिएमात्र लजिङ निःशुल्क गर्ने भनेपछि योजना स्थगित गर्न बाध्य भयौं' अभिनेत्री घिमिरेले भनिन् ।
'हाम्रो योजना ती रमणीय र दुर्गम स्थानहरुमा सुटिङ गरी ठाउँहरुको प्रचारप्रसार गर्ने थियो' संचार मन्त्रालयसँग तीनचार चरणमा छलफल भएको जनाउँदै घिमिरेले भनिन् 'हाम्रो उद्देश्य पर्यटन वर्षको अवसरमा ती स्थानको प्रचारप्रसार गर्नुथियो र सहयोग पाएनौं । ब्रायन एडम्स र सोनम कपुर नेपाल आउँदा ठूला-ठूला कार्यक्रम गर्ने सरकारले आफ्नै देशको सिनेमा जगतलाई यसरी उपेक्षा गर्ला भन्ने हामीलाई लागेको थिएन ।' चलचित्र विकास बोर्डको महिला समिति सदस्य भएको हैसियतले पनि आफूले सिनेमा र कलाको मुद्दालाई संविधानमा उल्लेख गर्न लागिपर्ने ऋचाले बताइन् ।रोकिएको ६ महिनापछि सोसल ड्रामा श्रेणीको प्रोजेक्ट सुचारु हुन लागेको हो । आयोजित चितवन महोत्सवको मौका पारेर सोही स्थानमा एक गीतको पनि सुटिङ गरिनेछ । जहाँ राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, तृप्ती नाड्कर, मौसमी मल्ल, करिश्मा मानन्धर, निर्देशक शिव रेग्मीसहित चलचित्रका प्राविधिक, लाइटब्वाइ सबै देखापर्नेछन् । शंकर घिमिरेले निर्माण/निर्देशन गर्ने चलचित्रमा रन्जित गजमेरले संगीत भर्दैछन् । वल्र्डवाइड मूभि मेकस्रको ब्यानरमा बन्न लागेको सिनेमामा राजु शाही र गोविन्द राईले नृत्य निर्देशन गर्दैछन् ।

धर्मापछि बलिउडमा मनीषाको कमब्याक

अभिनेत्री मनिषा कोइरालाले नेपाली चलचित्र 'धर्मा'पछि आइतबार औपचारिक रुपमा बलिउड कमब्याक गरेकी छिन् । यूपी अध्यक्ष तथा बीएसपी सुप्रीमो मायावतीको जीवनकथामाथि निर्माण हुने प्रोजेक्टमा मनीषाले साइन गरेकी छिन् । देहरादूनका योगराज सैनी निर्माता रहेको प्रोजेक्टमार्फत मनीषा भारतीय चलचित्रमा फर्किएकी हुन् । निर्देशन पनि देहरादूनका नवनीत कौशिकले गर्नेछन् ।
चलचित्रमा शक्ति कपुर र झाँसीकी रानीको भूमिकाबाट प्रसिद्ध उल्का गुप्तापनि देखापर्नेछन् । उल्काले मायाको बाल्यकालको भूमिका निर्वाह गर्नेछिन् । निर्माता सैनीका अनुसार चलचित्र मायावतीबारे नभई उनको जीवन र संघर्षमा आधारित हुने बताए । आफू मायावतीबाट निकै प्रेरित रहेको पनि उनले बताए । उनको यो फिल्ममा यस्ती एक दलित महिलाको कथा हुनेछ जसले पुरा जीवन संघर्षमा बिताउनेछिन् ।चलचित्र मायावतीको कथामा कुन अर्थमा भिन्न छ भनेर सोधिएको प्रश्नमा सैनीले भने 'फिल्ममा ती युवती एकदिन प्रधानमन्त्री बन्नेछिन् ।' उनै योगराज बीएसपीको टिकटमा बिधायक चुनावमा पराजित भैसकेका छन् । यसबारे मनीषासँग सोध्दा उनले पनि आफ्ना स्वकिय सचिवले योगराजसँग एकवर्ष पहिले नै कुरा गरिसकेको बताइन् । स्क्रिप्ट पढिसकेपछि मनीषाले रोलका लागि तयारी गर्नेछिन् ।

भूतको बस्तीमा सन्त्रास

दोलखा, पुस २३ - भूतप्रेतको चंगुलमा फसेर ६ जनामध्ये दुई साथी गायब भइसकेका छन् । बाँकीमध्ये एउटा जोडीचाहिँ भूतबस्तीबाट पर सुन्दर भूगोलमा नाच्दै-गाउँदै छ ।

विज्ञान विद्यार्थीको समूह सञ्जीवनी बुटी खोज्दै हिँड्दा डरलाग्दो ठाउँमा फस्छ । अनुसन्धानमा हिँडेका उनीहरू भूतप्रेतको घेराबन्दीमा परेकै बेला मुकेश आचार्य -विक्रम) र क्षितिजा शाक्य(सुशीला) भने स्वर्गीय भूमिमा केही बेर रमाउँछन्, गौरीशंकर हिमाल देखिने देउराली र चरिकोटमा । मुख्य पात्र यी जोडी चलचित्र 'सन्त्रास'को गीतको सुटिङ क्रममा बिहीबार यहाँ देखिएका हुन् ।मध्यान्तरपछि केहीबेर दर्शकले आनन्दको सास फेर्न पाऊन् भनेर राखिएका प्रेमप्रसंगका गीति दृश्यहरू छायांकन गर्न संगीक्षा फिल्म इन्टरटेनमेन्टको टोली दोलखा आइपुगेको हो ।भूतप्रेत र तन्त्रमन्त्रमा आधारित डरलाग्दा दृश्यबीच चिहानबस्तीभन्दा पर पुगेका प्रेमीहरूलाई खरीढुंगा, तिखातल, चरिकोट टँुडिखेल, देउरालीका जंगल र बस्तीहरू सन्तोषको सास फेर्ने थला भएका छन् । 'दर्शकलाई साँच्चिकै भूतप्रेतले सताइएका डरलाग्दा दृश्यबाट केहीबेर अलग रहेको अनुभूति मिल्नेछ,' फिल्मका निर्देशक दिनेश कार्कीले भने ।

'यति धेरै माया गरे जसको कुनै सीमा छैन..'फेरि गीत बज्न थाल्यो । मुकेश र क्षितिजा हावाले उडिरहेको ड्रेस मिलाउँदै नाच्दै पोजिसनमा खडा भए । छेवैबाट नृत्यनिर्देशक गोविन्द राईले दुवैलाई अनेक इसाराबाट गाइड गर्दै थिए । क्यामेराम्यान रामेश्वर कार्की व्यस्त बन्न थाले । जम्मा पाँच मिनेटको गीतको सुटिङका लागि कलाकार टोलीले तीन दिन दोलखामा खर्चिनेछ ।'साथीहरू भटाभट मरिरहेको स्थितिको दृश्य हो यो'क्षितिजाले भनिन्,'हामी दुई प्रेमीप्रेमिका हुन्छौँ र यो नृत्य दृश्य सपनाको हुन्छ ।'एउटा घरमा बास बस्नेहरूले 'पाहुनालाई हत्तपत्त बास नदिनू' भन्ने उखानसँग मिल्दो गरी छोरीलाई बलात्कारपछि हत्या गरिदिन्छन्, बाबुलाई पनि बाँकी राख्दैनन् । उनीहरूले बाबुछोरीलाई एकै चिहान पार्छन् । हिन्दु संस्कारमा बाबु र छोरीको एउटै चिहान खन्नु हुन्न भन्ने मान्यतामा विश्वस्त हुँदै त्यहीँबाट प्रेतको जन्म भएको देखाइन्छ र त्यसले मान्छेलाई सताउन थाल्छ । अनुसन्धानमा निस्किएका विज्ञान विद्यार्थीहरू पनि भूतप्रेतकै फन्दामा फस्छन् ।फिल्ममा अन्ततः विज्ञानका विद्यार्थीलाई हार खुवाएर तन्त्रमन्त्रद्वारा प्रेतको सन्त्रास समाप्त पारेको कथावस्तु रहेको निर्देशक कार्कीले सुनाए ।फिल्ममा मोहन निरौला, सुनील थापा, रागिनी, जयकृष्ण बस्नेत, सुसन खड्कालगायतको अभिनय रहनेछ भने पटकथा मोहन निरौलाको ।

बारमा हराईन् माया

दुई बर्षअघि सञ्चारकर्मी एवं चलचित्र निर्देशक दिनेश डीसीले आफ्नो निर्देशनमा तेस्रो चलचित्र मायाज् बार निर्माण गर्ने घोषणा गरेका थिए । जस अनुरूप उनले सो चलचित्रका लागि मुख्य कलाकारमा नायक अर्जुन कार्की र रेखा थापालाई समेत चयन गरेका थिए । अनि त्यो प्रोजेक्टमा लगानी गर्न वितरक समेत रहेका निर्माता सुनिल मानन्धर पनि होस्टे हैस्टे गर्दै लागि परेका थिए ।
तर सवै कुरा हुदाँ हुदै पनि निर्देशक डीसीले तयार गर्ने भनेको सो फिल्म अन्तत: नबन्ने भएको छ । संयोगबस एक दोहोरी बारमा भेटिएका डीसीलाई ठट्यौली शैलीमा कहाँ हराईन त तपाईकी माया भन्ने फिल्मीखबरको प्रश्नमा डीसीले भने 'अब बन्दैन यो फिल्म ।'किन बन्दैन भन्ने अर्को प्रश्नमा डीसीले पछिल्लो चरणमा आफ्नो व्यस्तता बढ्दै गएकाले फिल्म निर्देशन गर्न टाईम नभएको भन्दै चाहेर पनि निर्देशन गर्न नसक्ने बताए । यस्तै उता सो फिल्ममा लगानी गर्छु भनेर कम्मर कसेका सुनिल मानन्धर भने दिनेशको भनाईलाई एकरत्ति मान्न तयार छैनन् ।उनी भन्छन् 'दिनेशले भनेर हुन्छ ?त्यो फिल्म उसैले निर्देशन गर्नु पर्छ ।'सो फिल्मको स्क्रिप्ट दिनेशले लेखेका हुन् ।यो समय दिनेश डीसी टेलिभिजन रियालिटी शोमा व्यस्त छन् भने केही दिनअघि मात्र उनले नयाँ टेलिभिजन च्यानल'राजधानी टीभी 'र एफएफ'रेडियो राजधानी' जोइन गरेकाले उनको व्यस्तता अझ बढेको छ । यस्तै नयाँ कम्पनी जोइन गरेको खुशीमा व्यस्तता निकै बढेको भन्दै उनी भन्दै थिए 'हराउने भईन मेरी माया ।'

बितेको साता निराशजनक

नयाँवर्षको पहिलो साता नेपाली चलचित्रको व्यावसायिक पाटो सुखद हुन सकेन । न्यूइयर इभमा रिलिज भएको हरर चलचित्र 'एकदिन एकरात'को कलेक्सन अपेक्षाकृत रुपमा निराशजनक रह्यो र डिजिटल सिनेमा नेपालको बक्सअफिसमा १८ लाख ग्रसमा खुम्चियो ।खासगरी सहरी र मल्टिप्लेक्स दर्शकले 'एकदिन एकरात'लाई रुचाएका छन् । काठमाण्डू उपत्यकासहित पोखरा, दमक, बिर्तामोडलगायतका सहरी क्षेत्रका थिएटरमा देवकुमार श्रेष्ठ निर्देशित चलचित्रले राम्रो कलेक्सन गर्‍यो भने दाङ, बुटवल, हेटौंडालगायतका थिएटरमा यो चलचित्र निराशजनक रह्यो । 'खासगरी सहरी क्षेत्रका दर्शक जो सिनेमामा विविधिकरण चाहन्छन् ती दर्शकले रुचाएका छन्' डीसीएन वितरण चिफ दीपक दंगालले भने ।अनुप बराल, दिया मास्के स्टारर चलचित्रले निराजशनक सुरुआत गरेको छ । वर्ष २०१० को अन्त्यतिर उकालो लाग्दो चलचित्रको ब्यापार २०११ को सुरुआतसँगै ओरालो लागेको छ । कलेक्सनजस्तै यो चलचित्रले मिश्रित रिभ्यू पनि संकलन गरिरहेको थियो । डीसीएनका अनुसार 'बाटो मुनिको फूल'ले ९० लाख र 'धर्मा'ले औषत ६० लाख कलेक्सन गरेका छन् ।

महानायकले गरे टेलिभिजन शिलन्यास

महानायक राजेश हमाल, अभिनेत्रीद्धय करिश्मा मानन्धर, रेखा थापालगायत सेलिव्रेटीले शुक्रबार पश्चिम नेपालको टीकापुरमा फुलबारी टेलिभिजनको संयुक्तरुपमा शिलन्यास गरेका छन् । फूलबारी एफएमको वार्षिकोत्सवको अवसरमा महानायकले चाँडै प्रसारणमा ल्याउन लागिएको उक्त टेलिभिजन शिलन्यास गरेका हुन् ।उक्त अवसरमा द्धन्द्धनिर्देशक राजेन्द्र खड्गी, लोकगायक बद्री पंगेनी, साहित्यकार तथा डीएसपी महेशविक्रम शाहले पनि संयुक्तरुपमा शिलन्यास गरे । यी सबै सेलिव्रेटीलाई टीकापुरमा भव्य स्वागत गरियो । पाँचदिनसम्म मनाइन लागिएको एफएम वार्षिकोत्सवको उद्घाटन पनि महानायकले गरे । हमाललगायतका सेलिव्रेटीलाई हेर्न हजारौं कलाकार टीकापुर पुगेका छन् ।एउटै माचमा चर्चित राष्ट्रिय कलाकारलाई देखेपछि प्राङ्गणमा दर्शकको भिडलाई नियन्त्रण गर्न सुरक्षाकर्मीलाई समेत हम्मेहम्मे परेको थियो । कैलाली लगायत विभिन्न ठाउँबाट बसहरु रिजर्ब गरेर हमाललाई हेर्नका लागि ठूलो संख्यामा मानिसहरु टीकापुर आई पुगेका छन् । उक्त टेलिभिजन प्रसारणमा आएपछि कर्णालीका बासिन्दा लाभान्वित हुने आशा लिइएको छ ।

बदलियो रमितको मुड

आलोचकहरुले जे-सुकै भनून 'पलपलमा' स्टार रमित ढुंगानाको मुड चाहिँ फेरिएकै हो । बर्षदिनपछि अमेरिका बसेर फर्किएका यी सेक्सी हिरो रजतपट कमब्याक त गरे तर बेग्लै मुडमा । आफूलाई कमर्सियल चलचित्रबाट स्थापित गराएका रमित यतिबेला तिनै कमर्सियल सिनेमाबाट टाढिने क्रममा छन् । सिकोसंगत कमर्सियल धारका निर्माता, साथीसँगी र जानेचुनेकासँग भएपनि उनलाई विस्तारै अफविट अर्थात कलात्मक चलचित्रले तान्दै लगेको छ । रमित स्वयम यो बदलिँदो मुडका साक्षी हुन् ।

आखिर रमित किन यसो गर्दैछन् ? मेरोसिनेमासँग उनले राज खोले -'एकवर्ष लामो अमेरिका बसाइमा बल्ल बुँझे । किनभने अन्तराष्ट्रिय क्षेत्रले हामीलाई कमर्सियलभन्दा पनि कला अर्थात अफविट चलचित्रका माध्यमबाट चिन्दो रहेछ ।' जसै उनी अमेरिकाबाट फर्किए लगत्तै उनले आर्टस् सिनेमा निर्माण गर्न थाले । डायस्पोराको त्यही प्रभाव यतिबेला रमितमा परेको रहेछ जसकारण उनी यतिबेला होमप्रोडक्सनको दोस्रो प्रोजेक्टका लागि स्क्रिप्ट लेख्दैछन् ।'टोटल्ली अफविट सिनेमा लेख्दैछु' झ्यापुल्ले कपालका रमित भन्छन् 'देशभक्तिको भावनाले प्रेरित हुनेछ ।' ब्यावसायिक भनिने सिनेमामा जस्तो गानाबजाना हुनेछैन उनको यो फिल्ममा । 'यसले बदलिँदो रमितको मुड दर्शाउँछ' रमित खुले । यसको अर्थ तत्कालै उनले कमर्सियल फिल्म खेल्ने भन्ने होइन । 'विस्तारै कम गर्दै लग्ने हो' भन्छन् 'त्यसैको उदाहरण हो शोभित दाइको पछिल्लो प्रोजेक्ट नवराज साइन गरेको ।' उनी स्वयमलाई लाग्छ -के रमितको फेरिएको मुडले काम गर्ला ?

हरर हिरोइनका आश्चर्य !

हरर हिरोइन दिया मास्केका लागि 'एकदिन एकरात'को कमब्याक सुखद रह्यो । खासगरी काठमाण्डूका रैथाने दर्शकमाझ दियाले राम्रो पब्लिसिटी बटुलिन् मोफसलमा फिडब्याक जेसुकै भएपनि । तर्साउने चलचित्र हेरिसकेपछि कतिपय निर्देशक र निर्माताहरुले दियालाई आफ्ना प्रोजेक्टहरुमा एप्रोच गर्न थालेका छन् । झन्डै आधादर्जन अफविट जनरका चलचित्र दियाको पाइपलाइनमा त छन् तर दिया तीमध्येबाट कुनै एकलाई चुज गर्न चाहन्छिन् । 'यो निकै कठिन रहेछ' उनले भनिन् 'स्क्रिप्टहरु हेरिरहेकी छु ।'

आगामी चलचित्रका एप्रोच जेसुकै भएपनि चल्दै गरेको हरर फिल्मको ह्याङओभर भने अझै निखि्रसकेको छैन उनमा । साता बितिसेकपनि दियाले राम्रा, नराम्रा र मध्यम खालका प्रतिक्रीयाहरु पाइरहेकी छिन् । अखबारमा छापिएका रिभ्यू र दर्शकले हेरिसकेपछि भन्ने रिभ्यूले यी हिस्सी हिरोइनलाई आश्चर्य तुल्याएको छ रे । 'किन ठीक विपरित कमेन्टहरु आइरहेको छ' दियालाई लाग्छ 'पत्रपत्रिकाहरु फिल्म नबुझिएको लेख्छन् भने साधारण दर्शकहरु राम्रो रहेको भन्छन् । बौद्धिक भनिनेलाई पत्याउने कि साधारण दर्शकलाई ?'दियाले अखबारमा छापिएका रिभ्यूका कटिङहरु पनि सुरक्षित राखेकी छिन् । अखबार मात्र होइन निर्देशकहरुले पनि फिल्म हेरेर दियालाई टिप्पणी गर्न थालेछन् । 'निर्देशक आलोक नेम्बाङले फिल्म हेरेर अलिक नबुझिएको बताए रे' दिया भन्छिन् 'मिश्रित कमेन्टहरु जसले मलाई बारम्बार याद दिलाइरहन्छन् । अरुभन्दा भन्दा पनि पत्रिकामा छापिएका र दर्शकले भनेका कुरा मेरालागि आश्चर्यका विषय बनिरहेका छन् ।'

अदालत जाँदैछन् दीपेन्द्र

आफ्नो नीजि जीवनमा हस्तक्षेप गर्ने खालको समाचार प्रसारण गरेको भन्दै निर्देशक दीपेन्द्र के. खनाल एक वेभसाइटविरुद्ध मुद्दा दर्ता गर्न अदालत जाँदैछन् । एक अनलाइन संस्करणले साताअघि अभिनेत्री अनु शाह र दीपेन्द्रबीचको कथित सम्बन्धबारे समाचार प्रसारण गरेको थियो । 'उक्त साइटविरुद्ध मुद्दा दर्ता गर्दैछु' दीपेन्द्रले मेरोसिनेमासँग भने 'भ्रामक, कपोलकल्पित र नीजि जीवनमा हस्तक्षेप गर्ने खालको समाचार जसमा सत्यता छैन ।' सम्बन्धलाई पुष्टि गर्न दीपेन्द्र उक्त पोर्टललाई चुनौति पनि दिएका छन् ।

विहिबारसम्म संचालकले उक्त साइटमा खण्डन नगरे मुद्दा दर्ता गर्ने बताए उनले । संचालक धर्मराज भुषालले समाचार लेख्ने कर्मचारीको खोजी गर्ने जवाफ दीपेन्द्रलाई दिएका छन् । 'बेलुकासम्म सच्याएको पाइँन भने मुद्दा लड्ने तयारीमा छु' -खनालले भने । 'दुइवटा फिल्म रेगुलर खेलाएँ भन्दैमा के मैले पाप गरेँ ?' दीपेन्द्रले भने 'राजेश हमाललाई पनि लगातार दुइवटा फिल्म खेलाएको हुँ । समाचारमा के लेखियो भन्दा पनि नियत के हो प्रमुख कुरा हो । उक्त साइटले सबैको नीजि जीवनको आयाम र परिधि बुझ्नुपर्छ ।'दीपेन्द्रले आफ्नो पहिलो प्रोजेक्ट 'द युगदेखि युगसम्म'मा अनुलाई ब्रेक दिएका थिए । जारी प्रोजेक्ट 'धर्मा'मा पनि अनुको अभिनय छ । मेरोसिनेमाको प्रतिक्रीयामा अनुले पनि समाचारमा सत्यता नरहेको बताइन् । 'हामीबीच राम्रो व्यावसायिक सम्बन्ध छ' अनुले भनिन् 'जे लेखियो उक्त समाचारमा सत्यता छैन ।' दीपेन्द्र निर्देशित 'धर्मा' अहिले पूर्वका थिएटरमा प्रदर्शन भैरहेको छ ।

नाम मात्रका गुडविल एम्बासडर

नेपाल टुरिजम बोर्डले पर्यटन वर्ष २०११ नजिकिँदै गर्दा थुप्रै सेलिव्रेटीलाई धमाधम 'गुडविल एम्बासडर' घोषणा गर्‍यो । प्रशान्त तामाङ, राजेश हमाल, आनीछोइङ डोल्मा, सदिक्षा श्रेष्ठ सद्भावना दूत बने । मुलुकमा पर्यटन वर्षको महाउत्सव सुरु भैसक्यो तर गुडविल एम्बासडर घोषणा गरिएकाहरु यसतर्फ उदासिन छन् । चर्चा र लोकप्रियताको आधारमा एम्बेसडर त बनायो टुरिजम बोर्डले यद्यपी गुडविल एम्बासडर भएकाहरु यतिबेला नाममात्रका छन् ।

प्रचारप्रसारमा जुट्लान भनेर दूत घोषणा गरिएपनि आ-आफ्नै धपेडीमा व्यस्त भइदिँदा नेपाली सिनेमाका अभिनेता र गायकहरु सेरेमोनिएल एम्बासडरमा सीमित भएका छन् । राजेश हमालको लोकप्रियता देखेर बोर्डले एम्बासडर बनाएपनि हमाल यतिबेला सिनेमा सुटिङ र सामान्य भौतिक पूर्वाधारणको उद्घाटनमा खुम्चिएका छन् । सन् २०११ मा सिनेमा निर्देशन गर्छु भनेपनि हमाललाई फिल्म खेल्ने टुरिजम प्रमोटमा लाग्ने कि निर्देशन गर्ने समय छैन । अन्तक्रीया कार्यक्रममा दौडने हमाललाई पर्यटन प्रवद्र्धनका लागि फुस्रद छैन ।यस्तै विशेषतामा छन् पूर्वइन्डियन आइडल तथा अभिनेता प्रशान्त तामाङ । नेपाली फिल्मको हिरो भन्दा पनि इन्डियन आइडलको हैसियतमा प्रशान्तलाई गुडविल एम्बासडर बनाइएको थियो । तर, उनी यतिबेला कन्सर्ट र फिल्म सुटिङका लागि मुम्बइमा व्यस्त छन् । राजेश र प्रशान्त दुवैले पर्यटन वर्ष सुरु भएको हप्ता बित्न लाग्दा पनि ब्यवहारमा त के सोसल साइटमा समेत सिन्को भाँचेका छैनन् । टुरिजम बोर्डकी नयन शर्मा भन्छिन् 'खै सचिवालयले के र कति आधारमा एम्बासडर बनायो हामीलाई थाहा छैन ।'

राजेन्द्र र सुशिल बिच भिडन्त नहुने

निर्देशक राजेन्द्र उप्रेती र निर्माता सुशिल पोखरेल बिच फाल्गुनको दोस्रो साता भिडन्त हुने करिब पक्का पक्की नै थियो तर त्यो भिडन्त हुनबाट भगवानले बचाएको छ ।राजधानीमा प्रदर्शन भईरहेको चलचित्र 'भगवान सबैको' तेस्रो सातामा प्रदर्शन भएपछि शुसिलको चलचित्र निगरानी करिब एक महिना धकेलिएको हो । निगरानी करिब एक महिना पछि प्रदर्शन हुने भएपछि निगरानीसँग फाल्गुनको पहिलो साता भिड्न लागेको अर्को चलचित्र 'मनमनै मन पराएँ' मात्र देशभर एकसाथ प्रदर्शनमा आउने भएको छ । तर डिसिएन सर्भरबाट प्रदर्शन हुन लागेको चलचित्र 'मनमनै मन पराएँ' सँग क्यु सिस्टमबाट प्रदर्शन हुने अर्को कुनै एक चलचित्र भिड्ने छ ।आफैंले निर्देशन गरेको चलचित्र निगरानीसँग आफ्नो निर्माण र निर्देशनमा बनेको चलचित्र मनमनै मन पराएँ एकसाथ प्रदर्शन हुन लाग्दा निर्देशक उप्रेती निकै चिन्तित थिए । आफ्ना दुबै चलचित्रले प्रदर्शनको राम्रो समय पाएकोमा अहिले उनी निकै खुसी छन् । निर्देशक उप्रेती फाल्गुनको पहिलो साता आफूले निर्माण गरेको चलचित्र 'मनमनै मन पराएँ' कुनै पनि हालतमा प्रदर्शन गर्ने बताउँदै आएका थिए भने निगरानीका निर्माता सुशिलले पालो प्रणाली अनुसार जुन समयमा पालो आउँछ त्यो समय आफूलाई मान्य हुने भन्दै आएका थिए ।तर पनि प्रदर्शनको मिती लम्बिदा निर्माता सुशिल केहि चिन्तित भने देखिएका छन् । उनी भन्छन्, 'प्रदर्शनको मिती सर्नु भनेको पब्लिसिटीमा अनावश्यक पैसा खर्च गर्नु हो ।' एक महिना पछि सर्दा करिब एक लाख बढि पैसा पब्लिसिटीमा खर्च गर्नुपर्ने दुख व्यक्त गर्दै सुशिल थप्छन्, 'चलचित्र नचलिरहेको अवस्थामा प्रदर्शनको मिती सर्दै जानु र खल्तीको पैसा रित्तिंदै जानु मेरो मात्र नभएर सम्पूर्ण निर्माताको लागी दु:खको कुरा हो ।'यसैगरी यिनै निर्देशक राजेन्द्र उप्रेतीको निर्देशनमा सुशिलले निर्माण गरेको अर्को चलचित्र 'जय शिब शंकर' पनि निगरानी लगत्तै प्रदर्शन हुने भएको छ । राजधानी बाहिर राम्रो व्यापार गर्न सफल चलचित्र जय शिब शंकर पनि क्यु सिस्टमबाट प्रदर्शन हुनलागेको हो ।

नायिकाको मेकअपले छायांकनमा ढिलाई

मेरो कपाल फेरी फुस्कियो । क्यामेरामा नृत्यको एक स्टेप कैद हुन नपाउदै नायिका नन्दिता केसी कपाल मिलाउन तम्सिईन् । उनी कपाल मिलाउन तम्सिएपछि चलचित्रको छायांकन रोकियो ।नायकद्धय विराज भट्ट र कर्म नृत्य निर्देशक दिनेश अधिकारीले सिकाएको नृत्यको स्टेप सिक्नमा तल्लिन थिए । उता नायिका नन्दिता भने कपाल मिलाउने वाहानामा अनुहार सिगार्न व्यस्त भईन् । गितको छायांकन भएकाले दुई नायकको विचमा यि नायिका अनि पछाडि कोरसको वाक्लो संख्या । हेर्दा यो सेट निक्कै आकर्षक थियो । यता निर्देशक दिनेश अधिकारीलाई हतार थियो । किनकी उनलाई दिईएको समयमा एक गितको पुरा छायांकन सक्नुपर्ने थियो ।
वल्लतल्ल नायिकाको श्रृङगार पटार सकियो र उनी फेरी काम गर्न सेटमा पुगिन् । नायिका नन्दिताले दुई नायकको विचमा वसेर केही वेरमात्र कम्मर के हल्लाएकी थिईन् उनको व्लाउजको पछाडि पट्टिको तुना फुस्किएछ । उनी फेरी तुना फुस्कीयो भन्दै कुर्चिमा वसिन् । छायांकन फेरी पनि यि नायिकाको कारणले रोकीयो । नन्दिताको श्रृङगारको लागी एकजना श्रृङगारीकाले भ्याएकी थिईनन् । सायद यहि कारणले होला तुलसी घिमिरेकी धर्मपत्नि भारती घिमिरे पनि नन्दितालाई स्याहार्न मै व्यस्त थिईन् ।नन्दिताले मेकअप गर्न ढिलासुस्ती गरेपछि नायकद्धय विराज र कर्मको त कुनै काम नै हुने भएन । तर उनिहरु आफूलाई नायिकाको जसरी सिङगार्न भन्दा पनि आफ्नो नृत्यलाई तिखार्नमा लागेको देखियो । नायिका नन्दिता केसी भने आफूलाई कसरी राम्री देखाउने भन्ने सोचमै मग्न देखिएकी थिईन् । झन उनको छेउमा पुग्ने चलचित्रकर्मी देखि पत्रकारले आज तपाई कति राम्री देखिनु भएकी भनेर फुर्काईदिदा उनी झनै मख्ख पर्थिन् ।मंगलावार वेलुकी काठमाण्डौको महाराजगन्ज स्थित एक पार्टि प्यालेसमा पुग्दा हामीले देखेकॊ रोचक दृश्य हो यो । तुलसी घिमिरेको लेखन तथा निर्देशनमा वनिरहेको चलचित्र मृगतृष्णामा हामीले नायिका नन्दिताको चर्तिकलालाई राम्रैसँग अवलोकन गर्‍यौं । चलचित्रको छायांकन स्थलमा होस् या अन्य कुनै समयमा युवकलाई भन्दा युवतिलाई तयार हुन वढि समय लाग्छ नै । तर नायीका केसीको तयार हुन लागेको समय भने गजबको थियो । त्यहाँ चलचित्र मृगतृष्णाको छायांकन भएता पनि नायिका नन्दिता केसीलाई भने राम्री वन्ने तृष्णाले छोडेको थिएन ।

कुमार कान्छालाई नम्रताको तीन लाख सहयोग

स्पाईनल कर्डको समस्यापछी प्यारालाईसिस भएर मुम्बईको एक अस्पतालमा लामो समय देखि थलिएका पार्श्व गायक कुमार कान्छालाई नायिका नम्रता श्रेष्ठले ३ लाख २८ हजार नगद सहयोग गरेकी छिन् ।
गएको पौष तीन गते उनले आयोजना गरेको कन्सर्टबाट संकलन भएको उक्त रकम मध्ये ३ लाख ७ हजार रकमलाई बुधबार कुमार कान्छाको खातामा जम्मा गरिदिएकी हुन भने बाकी २१ हजार नगद संगीतकार आलोक श्रीले केही दिनमै उपब्लध गराएर पुनः सो रकम कान्छाको खातामा जम्मा गरिदिने नम्रताको भनाई थियो पारदर्शी हिसावमा कन्सर्टबाट उठेको सम्पूर्ण रकमको विवरण सञ्चारकर्मीमाँझ देखाउदै नम्रताले कन्सर्टबाट कुल ३ लाख ८० हजार संकलन भएको र कर्न्सट खर्च कटाएर बाकी सवै कान्छालाई सहयोग गरेको जानकारी दिईन् । कान्छाको उपचारका लागि थुप्रै क्षेत्रबाट सहयोग रकम जम्मा गर्ने काम भै रहेको बेला छोटो अवधिमा नम्रताले सवै भन्दा धेरै रमक संकलन गर्न सफल भएकी हुन् । यदि उहाँको उपचारका लागि थप रकम चाहिए अन्य क्षेत्रबाट पनि आफ्नो सहयोग निरन्तर रहने र त्यसको तयारीमा समेत आफु रहेको उनको भनाई थियो । केही नयाँ फिल्मी प्रोजेक्टको तयारीमा समेत रहेकी नम्रताले कान्छालाई सहयोग गर्न अपिल समेत गरेकी छिन् । यदि तपाई पनि कुमार कान्छालाई सहयोग गर्न चाहनुहुन्छ भने कान्छाको काठमाण्डौको दरबारमार्ग स्थित एसबिआई बैकमा रहेको ब्यक्तिगत खाता नम्बरमा जम्मा गर्न सक्नु हुनेछ ।

नाम : कुमार शाही
खाता नम्बर : १७७१५२४१४००९३७

जीवन लुइटेल सिक्किम प्रहरीको हिरासतमा

एक युवतीको पछी लाग्दै सिक्किम पुगेका नायक जीवन लुइटेललाई त्यहाँको प्रहरीले हिरासतमा लिएको छ । हिरासतमा लिएको जीवनलाई चौकीको जेलमा तीन प्रहरीले केरकार समेत गरेका थिए । केरकारमा उनलाई त्यहाँको प्रहरीले आतकंकारी समेत भएको आशंका गर्दै मानसिक तनाव दिएको छ । कसरी दिएको थियो त, उनलाई मानसिक तनाव ? हिरासतमा रहेका जीवन र प्रहरीको छोटो सम्बादलाई तस्बिर सहित हामीले हुबहु सार्वजनिक गर्ने प्रयास गरेका छौ ।
सिक्किम प्रहरी : तँ सिक्किममा आतंक मचाउन आको होस ?
जीवन : हैन सर ! (जीवनले हैन भन्दा उनलाई प्रहरीले धम्क्याउदै थप केरकार गरेको थियो ।)
सिक्किम प्रहरी : तँ आतंककारी नै होस् ।
जीवन : (चिच्याउँदै) म आतंककारी हैन ।
सिक्किम प्रहरी : भन तेरो उद्देश्य के हो ? तँ कसलाई मार्न आ'को होस् ?
जीवन : म कसैलाई मार्न आ'को हैन ।
जीवनले पटक पटक निर्दोष भएर त्यस्तो मनशाय ब्यक्त गर्दा पनि सिक्किम प्रहरी निर्दयी भएर उनलाई थप केरकार गरिरहेको थियो । केरकार सकिए लगत्तै निर्देशक बिजय थापाले ओके फाईनल भन्दै सिन सकिएको जानकारी गराए र सुटिङ स्थलको माहोल रमाईलोमा परिणत भयो ।माथि उल्लेख गरिएको सिक्किम प्रहरीको सम्बाद र घटना चलचित्र 'जब जब माया बस्छ' भित्र घट्ने एउटा घटना हो जहाँ सो चलचित्रका नायक जीवन लुइटेल कारण बस सिक्किम पुगेका हुन्छन् र त्यहाँको प्रहरीले उनलाई माथि प्रस्तुत गरिएको सम्वाद झै केरकार गर्न थाल्छन् । रेखा थापा, सृजना बस्नेत समेत मुख्य भूमिकामा रहेको उक्त चलचित्रको छायाकंन काठमाण्डौका विभिन्न स्थनमा तिब्र गतिमा भै रहेको छ ।मणिराम पौडेलको निर्माणमा बनेको उक्त फिल्ममा सृजना सिक्किमकी सासंद भएर खेलेकी छिन् भने रेखा उनको छोरी भएर ।

चुलबुल पाण्डेको भर्चुअल बर्थडे !

चुलबुल पाण्डे अर्थात अभिनेता कर्म 'मृगतृष्णा'को सुटिङमा यति व्यस्त भइदिए कि जन्मदिन मनाउने फुस्रद पनि उनलाई भएन । सोसल साइट र फोनबाट उनलाई धेरैलाई बर्थडे विस त गरे तर कर्मले बुधबारको आफ्नो जन्मदिनलाई काममै समर्पित गरे । 'केक काटेर र पार्टी गरेर जन्मदिन मनाउनुपर्छ भन्ने लाग्दैन' एकदिन एकरात स्टारले भने 'मेरा लागि काम नै ठूलो हो र काममै लागेर बर्थडे सेलिव्रेट गरेँ ।' बुधबारदेखि उनी २६ वर्षमा टेकेका छन् ।
'बेलुकासम्म सुटिङमा ब्यस्त हुने भएकाले विशेष प्लान पनि छैन' कर्म भन्छन् 'तरपनि धेरैले मलाई सोसल साइट र फोन गरेर बर्थडे विस गर्नुभयो र दीर्घायुको शुभकामना दिनुभयो ।' सेटमै हिरो बिराज भट्ट, निर्देशक तुलसी घिमिरे, हिरोइन नन्दिता केसीले कर्मलाई बर्थडे शुभकामना दिएका थिए । 'फेसबुकलाई धन्यवाद जसले विश्वभरका साथीमाझ मेरो बर्थडे शुभकामना आदानप्रदान गर्ने माध्यम बनिदियो' उनले भने 'पहिलोपटक भर्चुअल बर्थडे मनाउनुको मजा नै बेग्लै हुँदो रहेछ ।'बर्थडेको मेसोमा कर्मसँग आगामी दिनका केही अठोटहरु पनि छन् । उनी आगामी दिनमा राम्रा प्रोजेक्ट गर्न चाहन्छन् । 'राम्रा प्रोजेक्ट गर्नु मेरो चाहना हो' उनले भने 'मेरो बर्थडे विस पनि यही हुनेछ ।' चुलबुल पाण्डेलाई ह्याप्पी बर्थडे !

फोटोसपको होइन, रेजिनाको रिएल !

आयोजित प्रेसमिटमा धेरै पत्रकारले चलचित्र 'चिनो'मा रेजिना उप्रेतीले रिएल एक्सन गरेकी हुन् भनेर ठम्याउन सकेनन् । सिनेमाको प्रोमो र पोस्टर हेरिसकेपछि धेरैले रेजिनाको नक्कली एक्सन र फोटोसपको कमाल भनेर आशंका गरे ।
प्रेस मिट होस्ट गरिरहेका निर्देशक शोभित बस्नेतलाई पुष्टि गर्न चुनौति आइपर्‍यो र तत्कालै मन्चमा बसेकी रेजिनालाई फाङ र किक देखाउन आग्रह गरे । रेजिना अकमकिइन् । स्टेज अघिको चिसो भुइँमा ओर्लिएर उनले चलचित्रमा गरेजस्तो फाङ र किकका पोजहरु देखाउन थालिन् र पत्रकारले क्यामेरामा कैद गर्न थाले । अनि शोभितले भने- बल्ल देख्नुभो ?पुस ३० मा रिलिज हुन लागेको रिमेक चलचित्र 'चिनो'बारे जानकारी दिन आयोजित प्रेसमिटमा भएको रमाइलो घटना हो यो । पत्रकारले नपत्याएपछि रेजिनालाई वास्तविकता देखाउनुपरेको थियो । यतिसम्मकी काजल म्याडमको वेशभुषा र भूमिकामा मन्चमा बसेका द्धन्द्धनिर्देशक राजेन्द्र खड्गी र निर्देशक बस्नेत पनि रेजिनाको स्टन्टपछि ढुक्क भएका थिए । रेजिनाले यो चलचित्रमा घोडाचढी र फ्रीफलका साहसिक स्टन्टहरु पनि दिएकी छिन् ।जमघटमा धेरैले रेजिनाको एक्सनको खुलेर प्रशसा गरे । द्वन्द्वनिर्देशक खड्गीले त पहिलोपटक नेपाली चलचित्रमा हिरोइनले गरेको यो साहसिक एक्सन भएको टिप्पणी गर्न चुकेनन् । 'हिरोइन होइन हिरोहरुले गर्न नसक्ने एक्सन पनि रेजिनाले गरेकी छिन्' निर्देशक शोभित बस्नेत भन्दै थिए ।
चर्चा तेस्रोलिङ्गीको
चलचित्रमा काजल म्याडमको रुपमा द्वन्द्वनिर्देशक राजेन्द्र खड्गी तेस्रोलिङ्गी भएर खेलेका छन् । 'खेल्दा-खेल्दा आफैलाई गे जस्तो लाग्न थाल्यो' खड्गी भन्दै थिए । भुवन केसीकी पूर्वपत्नी सुस्मिता केसीको सुझावमा फिल्मको खलपात्रलाई तेस्रोलिङ्गी बनाइएको र सुरुमा यो भूमिका अशोक शर्मालाई दिइएकोमा ब्यवस्तताले राजेन्द्रले खेलिदिएको शोभितले बताए ।

न बिर्सें तिमीलाईमा फष्टलभको अडियो

उसैत गीतको शिर्षक विपिन किरणको शब्दमा अञ्जु पन्तले गाएको हिट गजल न बिर्सें तिमीलाई न पाए तिमीलाईको एक अन्तराबाट भिकेर बनाईएको हो । यति मात्र हैन निकै चर्चा पाएका त्यो गीतको कारण आफ्नो फिल्म हिट हुन्छ भन्ने हेतुले निर्देशक योगेश घिमिरॆले सो गीतलाई चलचित्रमै समावेश समेत गरिछाडे ।उसै त टाइटल नै राम्रो अनि गीत पनि राम्रो भएको कारण चर्चा पाईसकेको ती गीतको शब्द र गीतलाई समेत आफ्नो फिल्मको अंग बनाएका योगशले फिल्मको अडियो विकाउन अर्को पनि आइडिया फुराएका छन् । आगामी पौष ३० गते देखि देशब्यापी प्रदर्शनमा आउन लागेको सो फिल्मको अडियो गीत सोमबार एक कार्यक्रममा विमोचन समेत गरियो । चलचित्रकी निर्माता प्रज्ञा जोशीको चार बर्षे छोरा प्रथम श्रेष्ठ र निर्देशक ऋषि लामिछानेको अढाई बर्षीया छोरी संमृद्धि लामिछानेले अडियो विमोचन गरेका थिए ।उक्त एलबममा सिमोस सुनुवारले निर्देशन गरेको चलचित्र फष्टलभको शीर्ष गीत पहिलो प्रेमको पहिलो कम्मपन पनि समावेश गरेर अडियो विकाउको राम्रो आईडिया झिकेको फिल्मीखबरले देखेको छ । सो चलचित्रमा फष्टलभको चर्चित गीत भने समावेश गरिएको छैन । तर अडियो सिडी किन्दा श्रोताले स्वरूपराज आचार्य र रजिना रिमालले गाएको गीतलाई बोनस स्वरूप पाउने भएका छन् ।किन यस्तो गरियो नि भन्दा निर्देशक घिमिरेले भने,'हाम्रो फिल्ममा थोरै गीत भएकाले अडियो किन्ने श्रोताले थोरै देखेर नकिन्ला भन्ने लाग्यो अनि बोनस स्वरूप फष्ट लभको गीत राखेका हौ । 'भने पछी तपाईको फिल्मको गीत कमजोर छ कि क्या हो भन्ने अर्को प्रश्नमा योगेशले भने, 'गीत राम्रो भएपनि थोरै देखेर अडियो किन्ने श्रोता त्यसै नर्फिउन भन्ने हिसावले यसरी अर्को फिल्मको गीत समावेश गरेका हौ।'योगेशको फिल्ममा शिर्ष गीत बाहेक जम्मा तीन वटा मात्र गीत समावेश गरिएका छन् । ती तीनैवटा गीतलाई महेश खड्काले लेखेका हुन भने संगीत पनि उनैले दिएका छन् । सो अडियोलाई सम्झना अडियो भिडियोले बजार व्यस्वस्थापनको जिम्मा लिएको छ ।