निर्देशकलाई थाहा छैन फिल्म रिलिज भएको

फिल्मीखबर, काठमाण्डौ, २०६७ माघ ७, शुक्रवार
आजबाट अचानक काठमाण्डौ उपत्यकाको अठार र हेटौडाको एउटा सिनेमा भवनमा रिलिज गरिएको चलचित्र गंगाजलको प्रदर्शनको बारेमा स्वयम सो चलचित्रका निर्देशकलाई जानकारी नदिईएको खुल्न आएको छ ।
निर्माता सुनिल ढकाल र निर्देशक प्रमोद भण्डारी बीच सामान्य मनमुटाव उत्पन्न भएपछी रिलिजको अघिल्लो दिन मात्र भण्डारीले सो जानकारी बाहिरबाट पाएका थिए । उता निर्माता ढकालले भने फिल्म रिलिजको जानकारी धेरै समय अघि देखि नै निर्देशकलाई थाहा दिएको दाबी गरेका छन् । तर निर्देशक भण्डारी भने सो कुरालाई मान्न तयार छैनन् । यस्तै सो चलचित्रका कलाकारहरू बिराज भट्ट, रेखा थापा तथा सोभिता सिंखडालाई पनि फिल्म रिलिज बारे सामान्य जानकारी समेत नदिईएको बुझिएको छ । तर यो कुरालाई भने निर्माता ढकाल आफै स्वीकार्छन् । उनी भन्छन्, 'कलाकारको व्यस्तता होला भनेर खबर गरिन ।'यो साता क्यूबाट शासन प्रदर्शनमा आउने पालो भएपनि प्रिन्ट तयार नभएकाले शासनको ठाँउमा एक साताको लागि गंगाजल अचानक लगाईएको हो । गएको सातादेखि प्रदर्शनमा आएका चलचित्र 'न बिर्सें तिमीलाई न पाएँ तिमीलाई' र 'चिनो' को ब्यापार दोस्रो सातामा खस्किने संकेत पाएपछी हल सञ्चालहरूले नयाँ फिल्मको माग गरेका थिए जस अनुरूप निर्माता संघको स्वीकृतिमा गंगाजल एकाएक प्रदर्शनमा आएको हो ।

0 comments:

Post a Comment