बाटोमुनिको फूलको अनलाइन पाइरेसी

मेरोसिनेमा काठमाडौं १० माघ,
प्रदर्शन हुँदै गरेको नेपाली सिनेमा 'बाटो मुनिको फूल'लाई युट्युवमार्फत अनलाइन पाइरेसी गरिएको छ । नेपाली भाषामा प्रसारण भैरहेका विदेशी अनलाइन संस्करणहरुले करोडभन्दा बढी लगानीको यो चलचित्रलाई अवैधरुपमा इन्टरनेटको संजालबाट विश्वब्यापी बनाएका छन् ।पहिलोपटक चल्दै गरेको ताजा स्वदेशी सिनेमालाई अनलाइनमार्फत पाइरेसी गरिएको यो पहिलोपटक हो । पूर्वी नेपालमा केही सिनेमाहरु पाइरेसी भएको महिनादिन नबित्दै गरिएको यो साइवर अपराध नेपाली सिनेमालाई ठूलो धक्का हो ।
अहिलेसम्म ६ हजारभन्दा बढीले युट्युवमार्फत राजेश घतानी निर्मित'बाटो मुनिको फूल' हेरिसकेका छन् । २ घण्टा २० मिनेट लामो सिङ्गो चलचित्रलाई सोसल साइटमार्फत लिक गरिएको हो । निर्माता घतानीका अनुसार कतिपयले मोबाइलमा समेत फिल्म राखेका छन् । 'धमाधम विदेशबाट तपाईंको फिल्म मनपर्‍यो भनेर फोन आउँदा त सुरुमा दङ्ग परे र धन्यवाद पनि दिएँ' निर्माता घतानीले मेरोसिनेमासँग भने 'बुझ्दै जाँदा त युट्युबमार्फत फिल्म पाइरेसी पो गरिएको रहेछ ।'केही महिनाअघि पूर्वमा पाइरेसीका कारण मारमा परेका निर्माता घतानी अनलाइन पाइरेसीले आफू थप पीडामा परेको बताए । 'अनलाइन पाइरेसी नेपाली सिनेमाका लागि गम्भिर हो' उनले भने 'वितरक संस्थाहरु पाइरेसीविरुद्ध लाग्नुपर्ने भएपनि असहयोग पाइरहेका छौं ।' महिनाअघि नेपालमा रिलिज भैसकेको यो चलचित्रले वितरक डीसीएनको बक्सअफिसमा १ करोड ग्रस कलेक्सन गरिसकेको छ । पाइरेसीका कारण यो चलचित्र सर्वाधिक मारमा पनि परेको छ ।

0 comments:

Post a Comment