प्रणयसहित प्रमोद


काठमाडौ, श्रावण १२ - गायक प्रमोद खरेल मंलगबार बाबुआमाबाट आफ्नो तेस्रो एकल एल्बम 'प्रणय' विमोचन गराउँदा जति खुसी देखिए, छोराको कामबाट बाबुआमा पनि उत्तिकै खुसी थिए ।

बाबु बलभद्र र आमा विष्णु शर्मा खरेल छोरो प्रमोदको एल्बम विमोचनकै लागि भनेर झापा भद्रपुरबाट केही दिनअघि राजधानी आएका थिए । उनीहरूलाई एल्बम सार्वजनिक गर्नमा चलचित्रकर्मी यादव खरेलले सघाएका थिए ।

'डाक्टर बनोस् भन्ने चाहना थियो,' एल्बम विमोचनपछि बाबुले भने, 'तर सांगीतिक क्षेत्रमा लागेर पनि राम्रो काम गरेको देख्दा खुसी लागेको छ ।' बिध्यवासिनी म्युजिक प्रालिले बजारमा ल्याएको एल्बममा 'मबिना कसैकसैलाई...', 'याद गर्न पनि...', 'यो मनले रोज्यो...', 'गल्ती मेरै थियो...', 'कालो कोठी...', 'किन तिम्रो मायाले...', 'कति माया...', र 'मेरो देश प्यारो नेपाल...' गरी ८ गीत समेटिएका छन् ।

'मबिना कसैकसैलाई...' गीत एल्बम आउनुअघि नै श्रोतामाझ लोकपि्रय भइसकेको छ भने 'मेरो देश प्यारो नेपाल...' क्रिकेट एसोसिएसन अफ नेपालका लागि गाइएको विशेष गीत हो । नेपाली क्रिकेट टोली सम्मिलित गीतको म्युजिक भिडियोको लन्डनमा 'पि्रमियर सो' समेत भइसकेको छ ।

महेश खड्का, जगदीश समाल, हरि लम्साल, प्रमोद खरेल, गैरे सुरेशले संगीत दिएको 'प्रणय' एल्बमका गीत शीतल गिरी, राजेन्द्र थापा, प्रमोद खरेल, कृष्ण केसी, विपिन किरण र डा. कृष्णहरि बरालले लेखेका हुन् । यसअघि गायक खरेलका 'प्राप्ति' र 'सेन्टिमेन्ट्स' एल्बम आइसकेका छन् । एक दशकदेखि गायन क्षेत्रमा सक्रिय खरेलको डेब्यु गरेको फिल्म 'पलपलमा' का गीत अहिले चर्चामा छन् ।

दिन खुले सुमनका


तुलसी घिमिरेको निर्देशनमा बनेको दुई किनारा फिल्ममा अभिनय गरेपछि नायकका रूपमा चर्चामा आएका सुमन सिंह त्यसपछि केही समय ओझेलमा परे । बीचमा केही टेलिसिरयल तथा फिल्ममा अभिनय गरे पनि उनको हातमा उल्लेखनीय फिल्म परेनन् । जसकारण उनको चर्चा पातलिँदै गयो ।

तर, पछिल्लो समय उनी एकाएक व्यस्त भएका छन् । एकपछि अर्काे फिल्म छन् उनको हातमा । उनी अभिनीत पल-पलमा, नाइ नभन्नु ल, तिमीविनाको जीवन, द गेम, छविलाल कञ्जुस छैन, बन्दीलगायतका फिल्म प्रदर्शोन्मुख छन् भने ब्याच नं. १६ र कसम फिल्मको सुटिङ हालै सकिएको छ ।

सुमनलाई निर्माता-निर्देशकले एक्सन र लभर हिरोका रूपमा लिने गरेका छन् । नेपाली फिल्म उद्योगमा नायकको अभाव महसुस भइरहेका वेला सुमन निर्माता-निर्देशकका आँखामा परेका छन् ।

पछिल्लो समयमा उनी अभिनीत तोड फिल्मले उनको अभिनय क्षमता प्रस्ट्याइदियो । अचेल उनी ग्याम्लर र खोज दुई फिल्ममा व्यस्त छन् । आफूलाई अन्य थुप्रै फिल्मबाट अफर आइरहेको बताउँछन् उनी । 'अहिले थुप्रै फिल्मको अफर आएका छन् । तर, म सेड्युल नजुधाई काम गर्न चाहन्छु,' अब आफू गोपीकृष्ण मुभिजको खुसी फिल्ममा व्यस्त हुने बताउँदै सुमन भन्छन्, 'एकपछि अर्काे गरी फिल्म गर्छु । मेरो कारणले कसैले दुःख नपाओस् भन्ने चाहना छ मेरो ।'

भदौमा पलपलमा


काठमाडौं/ उकेश दाहालको निर्देशनमा बनेको फिल्म पलपलमा भदौ दोस्रो साताबाट मुलुकभरि एकैसाथ प्रदर्शन हुने भएको छ ।

सेन्सर बोर्डले एडल्ट फिल्मको दर्जा दिएको पलपलमामा रमित ढुंगाना, दिलीप रायमाझी, सुजाता सिटौला, रूपा रानालगायतका कलाकार प्रमुख भूमिकामा छन् । आफ्नो फिल्ममार्फत युवावर्गमा मौलाउँदै गएको प्रेम र सेक्सको प्रतिनिधि कथा प्रस्तुत गरिएको निर्देशक उकेश बताउँछन् । दाहाल मुभिजको ब्यानरमा बनेको यस फिल्मको निर्माता हरिहर आचार्य हुन् ।

सपना पूरा भयो


व्यापारी कमल जैनको एकल लगानीमा निर्माण गरिएको चित्तपोल-५ कैलाशकुट डाँडाको १ सय ४३ फिट अग्लो शिवको मूर्ति प्राण प्रतिष्ठापन भएपछि सर्वसाधारणका लागि खुला भएको छ । कम्तीमा सय जना नेपाली र भारतको दक्ष कलिगड दिनरात खटेर ६ वर्षमा यो मूर्ति तयार गरेको जैनले जानकारी दिए । निर्माणका लागि गिटी, बालुवा, सिमेन्ट, डन्डी आदि निर्माण सामग्री प्रयोग भएको उनले बताए । 'निर्माण सामग्री कति लाग्यो त्यसको कुनै हिसाब छैन,' जैनले भने ।

उभिएको मूर्तिको फाउन्डेसनको कार्य सम्पन्न गर्न मात्र दुई वर्ष लागेको थियो । मूर्ति बाहिरी रंग सामान्य जस्तो देखिए पनि घाम र पानीबाट बचाउन जिङक कोडेट गरेपछि तामालाई स्प्रे गरेर लगाइएको छ । रंग लगाउन मात्र ६ हजार केजी तामा र जिंक लागेको जैन हिलटेक ट्यांकीका मालिक जैनले जानकारी दिए । ७५ रोपनीभन्दा बढी क्षेत्रफलमा निर्माण भएको यो मूर्तिलाई भूकम्प र हावाबाट हुन सक्ने क्षति रोक्न नेपाल र भारतका दक्ष इन्जिनियरहरूले विशेष सावधानीका साथ निर्माण गराएका छन् ।

'म र मेरो परिवारका सदस्यले व्यापारलाई भन्दा बढी मूर्ति निर्माणमा चासो देखाउँदै आफ्नो व्यक्तिगत जीवनको समेत पर्वाह नगरी बिहानदेखि रातिसम्म सा ँगाको डाँडामा बितायौं,' जैनले भने-'शिवको अग्लो मूर्ति बनाएर नेपाललाई चिनाउने मेरो सपना पूरा भएको छ ।' नागरिक उड्डयन तथा पर्यटन मन्त्री शरदसिंह भण्डारीले यो मूर्तिका कारण नेपालमा पर्यटकीय स्थल थपिएको बताए । 'संसारकै सबैभन्दा ठूलो मूर्ति नेपालमा बनेको छ,' मन्त्री भण्डारीले भने- 'यसले देश- विदेशमा हिन्दुधर्मप्रति आस्था राख्नेहरू गौरवान्वित हुनेछन् भने नेपालमै धार्मिक पर्यटक बढ्ने कुरामा दुविधा छैन ।'

मन्दिर क्षेत्रलाई मारकाट निषेधित र साकाहारी क्षेत्र घोषणा गरिएको छ । त्यस्तै धूमपान र मदिरा सेवनसमेत निषेध गरिएको जैनले जानकारी दिए । 'महादेवको मूर्ति बनाउने कार्य मेरो एक्लो प्रयास भए पनि यो कार्यमा व्यापारको कुनै सम्बन्ध छैन,' उनले भने- 'मन्दिर परिसरको सरसफाइ एवं फलफूल गोडमेलमा थप लगानी गर्नु नपरोस् भनेर थोरै शुल्क उठाउनेछु ।' उनले मन्दिर प्रवेशका लागि २० रुपैयाँ शुल्क उठाउने निर्णय भए पनि केही दिनका लागि यो कार्य पनि बन्द गरिएको छ ।

मन्दिरसँगैको क्षेत्रमा नेचर केयर अस्पताल निर्माण गरिएको छ । ३२ शय्याको उक्त अस्पतालमा थेरापी, योग, मेडिटेसन, कोलन थेरापी, मड थेरापी, ज्याकुजी, स्टिम इन्फारेज सौना, अक्युप्रेसर आदि सेवा उपलब्ध हुने जैनले जानकारी दिए । शिव मूर्तिका कारण थप पर्यटक भित्र्याउन सकिने मन्त्री भण्डारीले बताए । उनले एकल लगानीमा मूर्ति निर्माण गरेर मुलुकको इज्जत बढाएको भन्दै कमल जैनको खुलेर प्रशंसा गरेका छन् ।

एक हातमा त्रिशूल र अर्कोमा डमरु बोकेको शिवको मूर्तिमा सिमेन्ट र फलामको छड प्रयोग गरिएको छ । सरकारले पर्यटन वर्ष-२०११ मनाउने तयारी गरिरहेको बेला निजी लगानीमा निर्माण भएको शिवको मूर्तिले चित्तपोल पनि पर्यटकीय स्थानका रूपमा चिनिने पक्का छ । यहाँबाट राजधानीको अधिकांश क्षेत्रको अवलो कन गर्न

सकिन्छ । डाँडाबाट राजधानी पूर्वजाने र भित्रिने सवारी साधन गुडेको मनोरम दृश्य देखिन्छ ।

७५ रोपनी जग्गामा मूर्तिलगायत २४ कोठामा ३२ शैय्याको आयुर्बेदिक अस्पताल, बालबालिकालाई खेल्ने ठाउँ, बिरामी बस्ने चारवटा घर निर्माण गरिएका छन् । मूर्तिको काम सक्न १२ करोड रुपैयाँभन्दा बढी खर्च भएको जैनले जानकारी दिए । भक्तपुरको नलिन्चोक-चित्तपोल गाविस भवन हुँदै तीन किलोमिटरको यात्रा पछि मूर्ति भएको स्थानमा पुग्न सकिन्छ भने भक्तपुर र काभ्रेको सिमाना साँगाबाट १० मिनेटको पैदल यात्राबाट त्यहाँ पुगिन्छ ।

हङकङ, साउन ७ (नागरिक) नेपाल-चीन कुटनीतिक सम्बन्ध स्थापनाको ५५ औं वर्षगाँठमा सहभागी हुन अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर बेइजिङ आउँदैछन्।
वर्षगाँठको अवसरमा १८ साउनमा दूतावासले आयोजना गर्ने विशेष कार्यक्रमका लागि सिने कलाकारलाई निम्त्याइएको हो। दूतावासले उक्त दिन बेइजिङमा मुनामदन नाटक प्रदर्शनका लागि निर्देशक सुनिल पोखरेलसहित करिब डेढ दर्जन कलाकार पनि निम्त्याएको छ।

चिनियाँ भाषामा अनुवाद भइरहेको मुनामदन नेपाल-चीन सांस्कृतिक सम्बन्धको आधार मानिन्छ। कामको खोजीमा भोट आएका मदनले त्यहाँ पाएको सहयोगलाई लेखक लक्ष्मीप्रसाद देवकोटाले दुई देशका नागरिकबीचको भावनात्मक सम्बन्धका रूपमा प्रस्तुत गरेका छन्।
१९५५ अगस्ट १ मा नेपाल-चीन कुटनीतिक सम्बन्ध स्थापना भएयता सांस्कृतिक सम्बन्ध पनि बिस्तार भएको छ। दुई देशबीच सन् १९९५ मा सांस्कृतिक सहयोग सम्बन्धी एक सम्झौता भएपछि हरेक वर्ष सांस्कृतिक आदानप्रदान हुँदै आएका छन्। कुटनीतिक सम्बन्ध स्थापनाको पचासौं वर्षगाँठको सन्दर्भमा काठमाडौंस्थित चिनियाँ दूतावासले जुन २००५ मा एक सातासम्म ‘चाइना फेस्टिभल' आयोजना गरेको थियो। डेढ महिनाअघि बेइजिङमा संगीतकार अम्बर गुरुङको ‘अम्बर साँझ' भएको थियो।

वर्षगाँठको अवसरमा दूतावासले बेइजिङका कुटनीतिज्ञ र सरकारी अधिकारीहरूका लागि ‘रिसेप्सन' पनि आयोजना गर्र्दैछ।

प्रेममा उमेर बाधक हुँदैन


प्रेममा उमेर बाधक हुँदैन
रोजिन शाक्य

यौन विशेषज्ञ तथा मनोचिकिन्त्सकहरूका अनुसार मेनोपज शारीरिक अवस्थाभन्दा व्यक्तिको मानसिक सोचमा निर्भर गर्छ। ४० को उमेर पार गर्ने बित्तिकै यदि व्यक्तिले स्वयंलाई बूढो मान्छ भने त्यसको प्रभाव उसको दिनचर्यामा पनि पर्छ। श्रीमान्-श्रीमतीले एक-अर्काको भावनाको ख्याल गरेर यदि शारीरिक सम्बन्ध स्थापित गर्छन् भने ५० को आयुपश्चात् पनि लामो समयसम्म यौनजीवनको आनन्द लिन सकिन्छ।



अधिकांश विवाहित महिला सन्तान ठूला भएपछि श्रीमान्सँगको सम्बन्धलाई त्यति महत्त्व दिँदैनन् । यौनका लागि अब उमेर सीमा नाघिसकेको धारणा तिनको हुन्छ । श्रीमान्द्वारा पहल गरिए पनि उनीहरू या त बहाना बनाउँछन् या अब व्यक्तिगत सुखको साटो घर गृहस्थीको दायित्वलाई पूर्ति गर्ने र सन्तानको करियरमा ध्यान दिनु बढी आवश्यक छ भन्ने मान्छन् । यस्तो सोचले श्रीमान्-श्रीमतीको सम्बन्धमा दूरी बढाउँछ र तनाव एवं मानसिक अशान्तिसँगै कैयन् अवस्थामा स्थिति भयावहसमेत बन्न पुग्छ । यसबाट जोगिन कुनै पनि प्रकारको नकारात्मक सोचले जन्म लिने वातावरण सिर्जना गर्नुहुँदैन । दाम्पत्य जीवनको सुमधुरता एवं स्थायित्वको आधार यौनजीवन पनि भएको कुरा बिर्सनुहुँदैन । शारीरिक सम्बन्धप्रतिको थोरै पनि उदासिनताले दाम्पत्य सम्बन्ध नीरस एवं कमजोर हुने सम्भावना रहन्छ ।

मनलाई सम्झाउनु आवश्यक

यौन विशेषज्ञ तथा मनोचिकिन्त्सकहरूका अनुसार मेनोपज शारीरिक अवस्थाभन्दा व्यक्तिको मानसिक सोचमा निर्भर गर्छ । ४० को उमेर पार गर्ने बित्तिकै यदि व्यक्तिले स्वयंलाई बूढो मान्छ भने त्यसको प्रभाव उसको दिनचर्यामा पनि पर्छ । श्रीमान्-श्रीमतीले एक-अर्काको भावनाको ख्याल गरेर यदि शारीरिक सम्बन्ध स्थापित गर्छन् भने ५० को आयुपश्चात् पनि लामो समयसम्म यौनजीवनको आनन्द लिन सकिन्छ ।

एक अनुसन्धानअनुसार बढ्दो उमेरमा नियमित शारीरिक सम्बन्धले अकारण बढ्ने मोटोपनलाई रोक्छ । चिड्चिडापन, मानसिक अशान्ति एवं अनिद्रा जस्ता धेरै रोगबाट धेरै हदसम्म बचाउँछ । सेक्सका बखत निस्कने केही विशेष हार्मोनले व्यक्तिलाई मानसिक तनावबाट टाढा राख्न मद्दत गर्छ भने बढ्दो उमेरमा केही सामान्य बिरामीसित लड्न अनि शरीरको प्रतिरोधक क्षमता बढाउन सहायक हुन्छ । सेक्सका बखत हृदयको धड्कन स्वाभाविक रुपले बढ्छ जसले गर्दा हृदयलाई स्वस्थ राख्न मद्दत प्राप्त हुन्छ । यौनलाई गैर आवश्यक कुरा मान्नु शारीरिक एवं मानसिक दुवै रुपमा हानिकारक सावित हुनसक्छ । विशेष रुपमा बढदो उमेरमा शारीरिक सम्बन्ध श्रीमान्-श्रीमतीका बीच आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने माध्यम सावित हुन्छ ।

एक-अर्कालाई साथ दिनुपर्छ

यो सत्य हो कि सन्तान हुर्किसकेपछि अभिभावकको जिम्मेवारी अझ बढ्छ । तिनको भविष्यको चिन्ता एवं घरगृहस्थीको कार्यमा अल्झेर एकअर्कालाई समय दिनसमेत गार्‍हो हुन्छ । सुखी एवं सन्तुष्ट दाम्पत्य जीवनका लागि यस्तो स्थिति पूर्ण रूपमा प्रतिकूल हो । सम्पूर्ण कर्तव्य दायित्व निर्वाह गरेपश्चात् के पनि बिसर् नुहुँदैन भने श्रीमान्-श्रीमतीलाई एकअर्काको आवश्यकता पर्छ । त्यसैले व्यस्त भए पनि आफ्ना लागि समय निकाल्नुपर्छ । सन्तानबिना पनि एकअर्काको साथ रहने प्रयास गर्नुपर्छ । आफ्नो जीवनसाथीलाई कुनै पनि अवस्थामा नदेख्याजस्तो गर्नुहुँदैन । समय र अवस्था अनुकूल यौनजीवनको आनन्द लिन जान्नुपर्छ । ४०-४५ को आयुपश्चात् पनि यौनजीवन बाँच्न सकिन्छ । शारीरिक असक्षमता वा विशेष बिमारीमा मात्र यो सम्भव नहुन सक्छ । हाम्रो सामाजिक संरचनाअनुसार चालीसको आयुपश्चात् यौन सम्बन्धप्रति अधिकांश महिला उदासीन हुन्छन्, जागरूकता देखाउँदैनन्, संकोच मान्छन् । यो संकोच पूर्णरुपले मानसिक हुन्छ तर शारीरिक आवश्यकता भने कायमै रहन्छ । यही द्वन्द्वको स्थितिले मानसिक तनाव सिर्जना गर्छ । दम्पती एकअर्काप्रति आरोप लगाउन थाल्छन् र यसले दाम्पत्य जीवनलाई समस्याग्रस्त बनाउँछ ।

इच्छालाई दबाउन हुँदैन

बढ्दो उमेरसँगै दम्पती दुवैलाई एक-अर्काको आवश्यकता महसुस हुन्छ । त्यसैले जीवनसाथीको भावनाको सम्मान गर्दै मानसिक एवं शारीरिक रूपबाट उनलाई सन्तुष्ट गर्ने हरसम्भव प्रयास गर्नुपर्छ । कैयन् अवस्थामा केही पुरुषमा पेरोनी वा पेनिक इरेक्सन डिसअर्डरजस्ता देखा पर्छ । यसलाई सर्जिकल वा नन-सर्जिकल उपायद्वारा समाधान गरी पुनः पहिले जस्तै यौनजीवनमा सक्रिय हुन सकिन्छ । यदि व्यक्ति मानसिक रूपबाटै स्वयंलाई बूढो र असक्षम सम्झन थाल्छ भने उपचार अझ बढी कठिन हुन्छ । अतः दम्पती दुवैले आ-आफ्नो इच्छा दबाउनबाट जोगिनुपर्छ । जीवनको हरेक क्षणलाई बढीभन्दा बढी उपयोग गर्ने प्रयत्न गर्नुपर्छ । चिकित्सकहरूका अनुसार ४५ वर्षको उमेरपश्चात् महिलामा मेनोपज प्रारम्भ भए पनि शारीरिक क्रियामा कुनै प्रकारको बाधा उत्पन्न हुँदैन, न त यौन आनन्दमै कमी आउँछ । गर्भावस्थाको भय पनि कम हुने भएकाले यौन आनन्दको लाभ अझ बढी उठाउन सकिन्छ । केही समस्या महसुस भए यौन प्रक्रियामा परिवर्तन ल्याउनुपर्छ । लगातार एउटै क्रियाले नीरसता उत्पन्न हुन्छ, त्यसैले आफ्नो सुविधा र चाहनाअनुसार शारीरिक सम्बन्धमा केही नयाँ प्रयोग गर्नु उपयुक्त हुन्छ । यसबाट जीवनमा नवीनता छाउँछ र दाम्पत्य जीवन अझ रोमाञ्चक बन्न पुग्छ ।

रेखाको पहिलो पारिश्रमिक १ रूपैया


नेपाली रजतपटमा नम्बर वान नायिकाको उपाधी पाएकी नायिका रेखा थापाले आफ्नो पहिलो फिल्मबाट १ रूपैया पारिश्रमिक लिएको तथ्य खुलेको छ ।

२०५७ सालमा चलचित्र हिरोबाट डेब्यू गरेकी नायिका थापालाई सोही चलचित्रका निर्माताले एक रूपैयाको सिक्का दिएको तथ्य खुल्न आएको छ । नायिका थापालाई सो चलचित्र खेल्नु पूर्व 'ला यो एक रूपैया राख, यसले त धेरै पैसा कमाउछेउ' भन्दै उनलाई निर्माताले एक रूपैयाको सिक्का दिएका हुन् ।


एक रूपैयबाट सुरू थापाको दश बर्षो फिल्मी जिवनमा उनले लगभग सय चलत्रिमा अभिनय गरिसकेकी छिन् । यध्पी उनले आफ्नो पछिल्लो चलचित्र हिफाजत पछी एक अनर्लाइन मिडियलाई आफ्नो पारिश्रमिक अब देखि २ लाख ५० हजार पुगेको बताएकी थिइन् ।

स्पेन फाइनलमा / जर्मनी पराजित


काठमाडौं, अषाढ २४ - तीन पटकको विश्वकप विजेता जर्मनीको यात्रालाई पूर्णविराम लगाउँदै स्पेन पहिलोपल्ट विश्वकपको फाइलनमा प्रवेश गरेको छ । बिहीबार बिहान भएको अन्तिम सेमीफाइनल खेलमा फुटबल महारथी जर्मनीलाई १-० गोलले हराउँदै स्पेन फाइनल प्रवेश गरेको हो ।

खेलअवधिभर जर्मनीलाई दबाबमा राखे पनि स्पेनले पहिलो हाफसम्म गोल लगाउन सकेन । दोश्रो हाफको २७ औं मिनेटमा स्पेनका कार्लेस पुयोलले गरेको गोल नै निर्णायक बन्यो । स्पेनले फाइनलमा बुधबार बिहानको विजेता नेदरल्याण्ड्ससँग आइतबार प्रतिष्पर्धा गर्नेछ ।

विश्वकप दाबेदार अर्जेन्टिनालाई ४-० को फराकिलो अन्तरले हराएको जर्मनीले सेमीफाइलनमा भने उत्कृष्ठ प्रदर्शन गर्न सकेन ।

जर्मनी र स्पेनबीच यसअघि युरोकपको फाइनलमा भेट भएको थियो । युरोकपमा स्पेनले १-० को कठीन जीत हात पारेको थियो ।

विश्वकपको पहिलो सेमीफाइनलमा बुधबार बिहान उरुग्वेलाई २-३ ले हराउँदै नेदरल्याण्ड्स फाइनल प्रवेश गरेको छ ।