अन्तर्वाता

'कुटाइम'मा बनेको निर्देशक म



म 'कुटाइम’मा बनेको निर्देशक हुँ । स्तरीय फिल्म बनाउने निर्देशक हुन मैले अहिले बल्ल सुरु गर्नुपर्थ्यो । कम्तीमा एक दशक यो क्षेत्रमा संघर्ष गरेपछि मात्र राम्रो निर्देशक बन्न सक्थेँ । तर, मैले निर्देशन सुरु गरेँ १५ वर्षअगाडि । म चलनचल्तीको सफल सिनेमा बनाउने निर्देशक हुँ ।

१२ बात
निर्देशक उज्ज्वल घिमिरेसँग

फिल्म के हो ?

तस्बिरहरूको शृंखला । जसले एउटा कथा भन्छ जुन राम्रो पनि हुन सक्छ, नराम्रो पनि ।

पुस्तक र फिल्ममा के फरक छ ?

पुस्तकमा धेरै पैसा लगानी गर्नु पर्दैन, फिल्ममा धेरै गर्नुपर्छ ।

धेरै पैसा लगानी हुने नेपाली फिल्म कम पैसा लाग्ने पुस्तकभन्दा किन झुर हुन्छ ?

पैसा बढी हुन्छ र त झुर हुन्छ । लगानी गर्नेले उठाउन खोज्छ । त्यसका लागि जे-जे 'प्रयोग' गर्नुपर्ने हो गरिन्छ । प्रयोग गर्दागर्दै त्यो गतिलो बन्न पाउँदैन । पुस्तकजत्तिकै कम पैसा लगानी गरेर पुग्ने भए नेपाली फिल्मको गुणस्तर पनि पुस्तकको जत्तिकै हुन्थ्यो होला ।

निर्देशकको संख्या बढ्दो छ, कलाकार पनि बढ्दै छन् । निर्माता पनि बढेको बढ्यै छन्, तर नेपाली फिल्मका दर्शकचाहिँ किन नबढेका ?

जति नेपाली फिल्म हेर्न मन पराउने दर्शक छन्, उनीहरूकै रुचिलाई आधार मानेर फिल्म बनाइरहेका छौँ हामी । निर्मातालाई लगानी उठाउनुपर्छ । निर्देशक सफल हुनुपर्छ । र, निर्देशक सफल हुनु भनेकै लगानी उठाइदिनुभएको छ हामीकहाँ ।

तपाइर्ं कस्तो निर्देशक हो ?

म 'कुटाइम'मा बनेको निर्देशक हुँ ।

स्तरीय फिल्म बनाउने निर्देशक हुन मैले अहिले बल्ल सुरु गर्नुपथ्र्याे । कम्तीमा एक दशक यो क्षेत्रमा संघर्ष गरेपछि मात्र राम्रो निर्देशक बन्न सक्थेँ । तर, मैले निर्देशन सुरु गरेँ १५ वर्षअगाडि । म चलचल्तीको सफल सिनेमा बनाउने निर्देशक हुँ ।

फिल्म राम्रो बन्न कसको मुख्य भूमिका हुन्छ ? मुख्य पात्र, निर्देशक या निर्माताको ?

निर्देशकको । अरू सबै संयन्त्र हुन् । त्यसलाई कसरी चलाउने निर्देशकको हातमा हुन्छ ।

त्यसो भए तपाईंजस्तो फरक सोच राख्ने निर्देशकका हातमा त सबै कुरा छन् । तर, तपाईं पनि अरू निर्देशकले जस्तै हिरोलाई फेटा गुथाएर २० जना भिलेन ढालेको किन देखाउनुहुन्छ ?

फिल्म दुईप्रकारका हुन्छन् । मूलधारको र फरकधारको । मूलधारका फिल्म व्यावसायिक हुन्छन् । तिनले विशुद्ध व्यापार गर्छन् । तिनमा कल्पनाले काम गर्छ । तथ्यमा आधारित भएर यस्ता फिल्म बनाइँदैनन् । हामीकहाँ फरकधारको सिनेमा बनाउने अवस्था

छैन । त्यसले त्यति व्यापार गर्दैन । तर, बौद्धिक जमातले त्यसलाई मन पराउँछन् । त्यस्तै फिल्म हेर्न रुचाउँछन् । म निर्मातालाई डुबाउनेगरी फिल्म बनाउन सक्दिनँ । मेरो फिल्मको उद्देश्य विशुद्ध मनोरञ्जन हो । त्यसमा हिरो एक्लैले २० जनालाई ढालेको देखाउनु आवश्यक छ ।

यसले फरकधारका फिल्म रुचाउनेलाई अन्याय गरेन ?

नेपाली फिल्म उद्योगमा उनीहरूलाई 'टार्गेट' गरेर फिल्म बनाउने वेला भएकै छैन । घाटा बेहोर्न कोही पनि तयार छैनन् । केही समयपछि म फरकधारका फिल्ममा बनाउने तयारीमा छु । त्यसका लागि खतरा मोल्न तयार हुने निर्माता भेटिरहेको छु । केहीसँग 'डोनेसन'का लागि आग्रह गरेको छु । केही समययता नेपालमा बनेका फरकधारका फिल्म आर्थिक हिसाबमा सफल भएनन् । तिनका निर्माता डुबे । म नडुब्नेगरी बनाउने योजनामा छु ।

यस्तो विचार तपाईंलाई किन पहिल्यै आएन ?

हेर्नूस्, शेखर कपुरले मिस्टर इन्डियाजस्तो व्यावसायिक फिल्म बनाए । त्यसमा के छ ? घडी हेरेर गायब हुने कथा । यो पत्याउने कुरा हो ? पछि उनैले 'ब्यान्डेट क्विन' बनाए । फिल्म क्षेत्र निर्देशक आफूलाई मनपर्ने कुरा बनाउन पाउने क्षेत्र होइन । यसमा आर्थिक कुरा प्रमुख हुन्छ । व्यापार हो, फाइदा खोजिन्छ । म आफूलाई मनपर्ने फिल्म बनाएर देखाउन सक्दिनँ । मलाई निर्माता चाहिन्छ र निर्मातालाई फाइदा ।

तपाईं 'सिन’ चोर्न सिपालु हुनुहुन्छ रे । दसवटा फिल्मका फरक-फरक सिन चोरेर एउटा फिल्म बनाउनुहुन्छ भन्छन् । हो ?

यहाँ सिन चोर्न खोज्ने, तर नसक्ने धेरै छन् । चोरेर हुबहु देखाउन सकिन्छ भने त्यो त मेरो खुबीको कुरा भएन र ?

फिल्मका ठूला गफ गर्ने उज्ज्वलले नेपाली फिल्म क्षेत्रलाई एउटा पनि बेजोड फिल्म दिन सकेन भन्छन् नि ।

मैले बनाएका सबैजसो फिल्म सफल छन् । र, मैले अघि नै स्वीकार गरिसकेँ- म समयभन्दा अगाडि निर्देशक बने । मेरो पहिलो फिल्म 'गोठालो' थियो । त्यसलाई दर्शकले धेरै मन पराए । निर्माताको लगानी उठ्यो । 'जिन्दगानी'ले सय दिन पार गर्‍यो । त्यो

फरकधारका फिल्ममा मन पराउने दर्शकले समेत हेरे । म जुन विचार राख्छु, त्यसैमाथि फिल्म बनाएर दर्शकलाई मूर्ख बनाउन सक्दिनँ । मेरो विचार केवल मेरा लागि हो । त्यो सबैलाई मन पर्दैन । म 'आर्टिस्टिक' मान्छे हुँ । तर, दर्शक के चाहन्छन्, त्यो मैले विचार गर्नुपर्छ । म दर्शकका रुचिका फिल्म बनाउँछु, आफ्नो रुचिको फिल्म होइन ।

चार दशक बढी लामो इतिहास भएको नेपाली फिल्मको स्तरमाथि जान नसक्नुमा कसको हात छ ?

दोष कुनै व्यक्तिको होइन, फिल्म बन्ने प्रक्रियाको छ । विनामिहिनेत र विनासंघर्ष फिल्म बनाइन्छ यहाँ । पैसा लगानी गर्न सक्नेले निर्देशक पनि आफैँ बनाउँछ, हिरो पनि आफैँ बनाउँछ । निर्देशक या हिरो बन्न यहाँ कुनै खुबी चाहिँदैन, अनुभव पनि चाहिँदैन । पैसा हालेर पनि हिरो बन्न सकिन्छ । राम्री हुनु हिरोइनको प्रमुख योग्यता भएको छ यहाँ, तर बलिउड र हलिउडतिर यस्तो हुँदैन । त्यहाँ संघर्ष र खुबीको विकल्प हुदैनन् । हामीकहाँ पैसा या पहुच भए पुग्यो । यसमा म पनि अछुतो छैन । मैले केही विज्ञापन र एक/दुईवटा डकुमेन्ट्री फिल्ममात्रै बनाएको थिएँ । फिल्म निर्देशन गर्ने प्रस्ताव आयो । मैले हुन्न भनिनँ । ममा कति खुबी र अनुभव थियो, न मैले हेरेँ, न निर्माताले । बनाएको फिल्म चल्यो र म बदनाम हुनु परेन । यसरी निर्देशक र हिरो छान्ने प्रचलनमा कैयौँ निर्माताको पैसा डुबेको छ । दर्शक पनि दिक्क भएका छन् ।