राजनिती

१९ मन्त्रालय माओवादी-एमालेलाई, बाँकी ७ अन्यलाई
काठमाडौं, माघ २६ - मन्त्रालय बाँडफाटमा सहमति जुटाउन गठित एमाले-माओवादी कार्यदलले बुधबार पनि मन्त्रालय बाँडफाट टुंगो लगाउन सकेन ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा ठोस सहमति हुन नसकेको कार्यदल सदस्यहरुले जानकारी दिएका छन् । बैठक सकारात्मक भए पनि दलभित्र आन्तरिक छलफल आवश्यक भएकाले पुनः बुधबार नै बैठक बस्ने माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।एमालेले आन्तरिक छलफल गरेपछि शीर्ष तहमा मन्त्रालय बाँडफाटबारे बैठक बस्ने श्रेष्ठले जानकारी दिए । शक्तिशाली मन्त्रालय बाँडफाटबारे कार्यदलमा सहमति नभएपछि त्यसको जिम्मा शीर्ष नेताहरुलाई दिएको उनले बताए ।बैठकमा ७ वटा मन्त्रालय अन्य दललाई दिएर बाँकी १९ मन्त्रालय माओवादी-एमालेले बाँड्ने सहमति भएको कार्यदल सदस्य एवं माओवादी प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए । कार्यदलले गृहमन्त्रालयमा भने सहमति जुटाउन नसकेको शर्माले बताए ।