केकी कथा

मनोज दाहाल काठमाडौं, मंसिर २२
यो सहरमा उनी एउटी सामान्य युवती हुन्। एमबिए अन्तिम सेमेस्टर पढ्दै गरेकी सामान्य युवती। स्कुटीमा साधारण मास्कले धुलोधुँवा रोक्न खोज्दै सहरमा हुइँकिने युवती। स्मार्टफोनमा फेसबुक र ट्विटरबाट देशविदेशका सानाठूला गतिविधि नियालिरहन्छिन्। बेलाबेला स्टाटस अपडेट गरिरहन्छिन्। बजारमा के नयाँ किताब आयो भनेर इन्टरनेट ब्राउजमा हराइरहन्छिन्। सहरको एउटा कुना आरुबारीस्थित उनको घरबाट बुद्धनगरस्थित कलेजमा बिहान साढे छ बजेको क्लास भ्याउन उनलाई कम्तीमा पाँच बजे उठ्नुपर्छ। सलमान खान उनका प्रिय नायक हुन्। माधुरी दीक्षित प्रिय नायिका। अरु युवतीभन्दा अलिकति फरक के भने उनको कपाल रेशमी छ। अलिकति फरक के भने स्कुल पढ्दासम्म उनी कक्षामा जहिल्यै फस्ट हुन्थिन्। त्यसपछि एमबिएसम्मै पनि राम्रो नम्बर ल्याइरहेकी छिन्। अलिकति फरक के भने नाच्न मन पराउँछिन्। अभिनय गर्न मन पराउँछिन्। एक महिनापछि उनको छैटौं फिल्म रिलिज हुँदै छ। चार महिनापछि उनको एमबिए सकिँदैछ। अर्को केही महिनापछि उनका अरु दुई फिल्म आउँदै छन्। मिल्यो भने केही महिनापछि उनी आगामी पढाइबारे सोच्दै गरेकी हुनेछिन्। ... दस वर्षअघि एसएलसीमा ८६ प्रतिशत ल्याएकी केकी अधिकारीका लागि जीवनमा पढाइ सबैभन्दा महत्वपूर्ण छ। ‘म पढ्न रुचाउने एउटी सामान्य युवती हुँ,’ मंसिरको एउटा घमाइलो दिनमा कफी पिउँदै केकी गफिइन्, ‘मेरो बेन्चमेट र मेरो फरक केमात्र हो भने ऊ बैंकमा काम गर्छे, म फिल्ममा।’ ‘फिल्ममा