मनोज दाहाल काठमाडौं, मंसिर २२
यो सहरमा उनी एउटी सामान्य युवती हुन्।
एमबिए अन्तिम सेमेस्टर पढ्दै गरेकी सामान्य युवती।
स्कुटीमा साधारण मास्कले धुलोधुँवा रोक्न खोज्दै सहरमा हुइँकिने युवती।
स्मार्टफोनमा फेसबुक र ट्विटरबाट देशविदेशका सानाठूला गतिविधि नियालिरहन्छिन्।
बेलाबेला स्टाटस अपडेट गरिरहन्छिन्।
बजारमा के नयाँ किताब आयो भनेर इन्टरनेट ब्राउजमा हराइरहन्छिन्।
सहरको एउटा कुना आरुबारीस्थित उनको घरबाट बुद्धनगरस्थित कलेजमा बिहान साढे छ बजेको क्लास भ्याउन उनलाई कम्तीमा पाँच बजे उठ्नुपर्छ।
सलमान खान उनका प्रिय नायक हुन्।
माधुरी दीक्षित प्रिय नायिका।
अरु युवतीभन्दा अलिकति फरक के भने उनको कपाल रेशमी छ।
अलिकति फरक के भने स्कुल पढ्दासम्म उनी कक्षामा जहिल्यै फस्ट हुन्थिन्।
त्यसपछि एमबिएसम्मै पनि राम्रो नम्बर ल्याइरहेकी छिन्।
अलिकति फरक के भने नाच्न मन पराउँछिन्।
अभिनय गर्न मन पराउँछिन्।
एक महिनापछि उनको छैटौं फिल्म रिलिज हुँदै छ।
चार महिनापछि उनको एमबिए सकिँदैछ।
अर्को केही महिनापछि उनका अरु दुई फिल्म आउँदै छन्।
मिल्यो भने केही महिनापछि उनी आगामी पढाइबारे सोच्दै गरेकी हुनेछिन्।
...
दस वर्षअघि एसएलसीमा ८६ प्रतिशत ल्याएकी केकी अधिकारीका लागि जीवनमा पढाइ सबैभन्दा महत्वपूर्ण छ।
‘म पढ्न रुचाउने एउटी सामान्य युवती हुँ,’ मंसिरको एउटा घमाइलो दिनमा कफी पिउँदै केकी गफिइन्, ‘मेरो बेन्चमेट र मेरो फरक केमात्र हो भने ऊ बैंकमा काम गर्छे, म फिल्ममा।’
‘फिल्ममा
काम गर्ने अभिनेत्री पनि सामान्य युवती हो, त्यही पनि म त हिरोइनजस्तो पनि छैन,’ उनी हाँसिन्, ‘न मेरो हाइट हिरोइनजस्तो छ, न लुक्स नै। मेरो स्किन पनि फेयर छैन।’
उनी मुस्काउँछिन्। भारतीय हिरोइन कोनकाना सेनजस्तो छ उनको मुस्कान।
कसैले वा उनी आफैंले माने पनि, नमाने पनि तीन वर्षभित्रै उनी अब्बल नायिकाको सूचीमा दरिइसकेकी छन्।
उनको नाममा रिलिज भइसकेका पाँच, रिलिज हुनै लागेको एक र सुटिङ सकिइसकेका दुई फिल्म छन्। सयभन्दा बढी म्युजिक भिडियो।
उनी सामान्य युवती हुन् किनभने तत्कालै उनको हातमा कुनै फिल्म छैन।
उनी सामान्य युवती हुन् किनभने उनी बुद्धनगरको प्रेसिडेन्सियल कलेजमा मानव जनशक्ति विषयमा एमबिए गर्दैछिन्।
‘मैले भनिहालेँ, फिल्मभन्दा मेरो लागि पढाइ बढी महत्वपूर्ण छ, कक्षा छुटाउने गरी म फिल्म लिन सक्दिनँ,’ उनी सायद अहिले आफ्नो हातमा कुनै फिल्म नहुनुको कारण खुलाउँदै थिइन्, ‘चार
महिनामा एमबिए सकिएपछि भने केही समय म फिल्ममा मात्र समय दिनेछु।’
प्राइम कलेजबाट इन्फर्मेसन म्यानेजमेन्टमा स्नातक सकेपछि फुर्सदका केही महिना उनले तीनवटा फिल्म खेलेकी थिइन्। एमबिए ज्वइन गर्नुअघि।
...
केकीका बुबा बद्री अधिकारी नेपाली सिनेमा र रंगमञ्चमा सुनिएको नाम हो। एउटा गम्भीर नाम।
विराटनगरका अधिकारी आरोहण नाट्यसंस्थासँग सम्बन्धित थिए। उनको खातामा केही राम्रा नाटक, केही राम्रा सिरियल र केही राम्रा सिनेमा पनि छन्।
र, एउटी ज्ञानी छोरी जो आफ्नो सिनेमा करियरको जस बुबाको यो क्षेत्रसँगको सम्बद्धता र केही सिकिरहन चाहने आफ्नो स्वभावको जस मानिस जहिल्यै रियालिटीमा उभिनुपर्छ भने बुबाको लगातारको प्रेरणालाई दिन्छिन्।
सिनेमा र रंगमञ्चले नेपालमा अहिले पनि राम्ररी खान दिँदैन। अधिकारीको जमानामा झन् दिने कुरै भएन।
जीविकाका लागि अधिकारीले काठमाडौंमा आफू बस्ने ठाउँ आरुबारीमा स्कुल खोलेका थिए– बाल सिर्जनालय।
केकी आरुबारीमै जन्मिन्, हुर्किन्, बढिन्। त्यही स्कुलमै नर्सरीदेखि एसएलसीसम्म पढिन्।
‘म जहिल्यै फस्ट गर्ल थिएँ,’ पढाइको कुरा गर्दा केकीका चम्किला आँखा झनै चम्किन्छन्।
‘तर, जस कहिल्यै नपाउने, नराम्रो गर्दा पनि बुबाकै स्कुलमा पनि राम्रो नपढेको आरोप आउँथ्यो, राम्रो गर्दा पनि बुबाको स्कुलमा राम्रो गरिहाल्छे नि भन्थे,’ केकी हाँस्छिन्।
साइन्स केकीको प्रिय विषय थियो। नेपालीमा पनि उनी पोख्त थिइन्।
एसएलसीमा राम्रो नतिजा ल्याएकी केकी स्वभाविक रुपले परिवारको आशा र उत्साह थिइन्। घरकी जेठी छोरी, सपना पनि। डाक्टर बन्ने अदृश्य प्रेसर थियो।
ह्वाइट हाउस कलेजमा प्लस टु साइन्समा भर्ना भएपछिका दुई वर्ष उनले नाच्न पनि पाइनन्। नत्र स्कुलमा जहिल्यै कम्मर मर्काउँथिन्। नाच्नु उनको केटाकेटीदेखिकै सोख थियो।
प्लस टुका दुई वर्ष घर, कलेज, होमवर्क गर्दागर्दै बिते।
नतिजा– ७६ प्रतिशत।
अगाडि झन् मेहनत र कठीन पढाइले पर्खिरहेको थियो– एमबिबिएसको प्रवेश परीक्षा। त्यसपछि डाक्टरी।
यहीबीच उनले पढाइलाई ब्रेक दिएकी थिइन्– एनटिभी टुमा आउने नृत्यको रियालिटी सो ‘घिन्ताङ’मा सहभागी भएर। नाच्न मन पराउने उनी यही सोमार्फत पहिलोपल्ट सार्वजनिक कार्यक्रममा देखिएकी थिइन्।
प्लस टुका कठीन दुई वर्ष, अन्तर्यमा पर्फमेन्स आर्टप्रति रुचि।
उनको स्वच्छन्द मन एमबिबिएसभन्दा अलि ठूलो संसार एक्स्प्लोर गर्न चाहन्थ्यो सायद।
प्रवेश परीक्षाको केही दिनअघि उनले डाक्टरी सपनालाई विश्राम दिइन्।
...
‘घिन्ताङ’मा डान्सर नै बन्न आएका थिए अधिकांश सहभागी। उनी भने ब्रेकका लागि आएकी थिइन्। रमाइलो गर्नु थियो उनको उद्देश्य। क्यामराअघि नाच्नु थियो। नृत्यकला तिखार्नु थियो।
त्यो रियालिटी सो, जो आफैं केही महिना चलेर बन्द भयो, ले उनको जीवनमा थुप्रै ढोका खोलिदियो।
उनको पहिलो म्युजिक भिडियो।
उनको पहिलो एड।
उनको पहिलो फिल्म।
त्यही ढोकाबाट छिरेर उनी यहाँसम्म आइपुगेकी छिन्।
उनको पहिलो म्युजिक भिडियो ‘घिन्ताङ’मै आएका अतिथि गायक मिङ्मा शेर्पाले गाएको गीतमा बनेको हो।
उनको पहिलो एड ‘के तिमी क्लोजअप गर्दछौ?’ ‘घिन्ताङ’मै उनको प्रस्तुति देखेर विज्ञापन एजेन्सी थम्पसनले अफर गरेको हो।
उनको पहिलो फिल्म स्वर ‘घिन्ताङ’का सञ्चालक प्रसन्न पौडेलले नै निर्माण गरेका हुन्।
र, त्यहीँबाट सुरु भयो केकीको हिरोइन यात्रा।
इन्फर्मेसन म्यानेजमेन्टमा स्नातक गर्ने क्रममा आए उनका जीवनका थुप्रै रोचक मोडहरु।
उनीसँग मोबाइल फोन पनि थिएन।
थम्पसनका कर्मचारीहरुले ‘घिन्ताङ’का सञ्चालकहरुसँग सम्पर्क गरेर उनको घरको नम्बर पत्ता लगाए।
यसरी फोनमार्फत घरमै आयो, उनको करियरको पहिलो कोसेढुंगा– के तिमी क्लोजअप गर्दछौ?
थम्पसनका कर्मचारीले फोनमा भने, ‘अडिसन दिन आउनू। फोटो लिएर।’
उनीसँग गतिला फोटा थिएनन्। कहिल्यै फोटोसुट गराएकी थिइनन्।
थम्पसनले नै गरायो, उनको पहिलो फोटोसुट।
उनको भावभंगिमा आकर्षक थियो, इन्डियन लुक थियो। उनले ‘के तिमी क्लोजअप गर्दछौ’ पाइन्।
म्युजिक भिडियो रिलिज भएकै थिएन, टिभीमा ‘के तिमी क्लोजअप गर्दछौ’ बज्न थाल्यो।
केकीलाई आफू रातारात सेलिब्रिटी भएको महसुस हुन थाल्यो।
लोकप्रिय अखबार र टिभीहरुमा आफूले आँखा नचाएको देखेर उनलाई अलिकति लाज, अलिकति डर, अलिकति अनौठो र धेरै मज्जा लाग्न थाल्यो।
क्याम्पस जाँदा पनि मानिसहरु आफैंलाई हेरिरहेका हुन् कि जस्तो लाग्थ्यो।
थम्पसनले उनलाई जीवनको पहिलो कमाइ पनि दियो।
केही हजार रुपैयाँ र प्रसस्त आत्मविश्वास।
अहिले उनी राम्रै कमाउँछिन्। म्युजिक भिडियोको कमाइ आकर्षक हुन्छ। एकैदिनमा सुटिङ सकिन्छ।
‘फिल्ममा त म नयाँ छु, तर धेरै म्युजिक भिडियोमा खेलिसकेकी छु, म्युजिक भिडियोको काम एक या मुस्किलले दुई दिनमा सकिन्छ तर पारिश्रमिक राम्रो आउँछ,’ कुशल नृत्यांगना केकी म्युजिक भिडियोका लागि स्टार हुन्।
फिल्मबाट पनि उनी राम्रै पारिश्रमिक पाउँछिन्।
...
केकीले ‘के तिमी क्लोजअप गर्दछौ’मा आँखा नचाएको हरिवंश आचार्यले नोटिस गरेका रहेछन्।
उनले केकीको अभियनकलाको खुब प्रशंसा गरे र आफ्नो एउटा सिरियलमा काम गर्न अफर गरे। केकीले पढाइका कारण भ्याइनन्।
पहिलो म्युजिक भिडियोले उनलाई चर्चा नदिए पनि दोस्रो म्युजिक भिडियो निकै लोकप्रिय भयो। अञ्जु पन्तले गाएको रिमिक्स गीत ‘वनमा फुल्यो फूलैफूल’मा उनको अभिनय र नृत्यको खुब प्रशंसा भयो। उनलाई भटाभट म्युजिक भिडियोको अफर आउन थाल्यो।
स्नातक तहको पढाइ सक्ने बेलातिर करिब तीन वर्षअघि उनको पहिलो फिल्म ‘स्वर’ रिलिज भयो। त्यसपछि ‘आइएम सरी।’
तीन वर्षमा उनी आठ फिल्म पुरानी भइसकेकी छन्।
‘स्वर’ र ‘आइएम सरी’पछि उनले ‘मसान’, ‘मायाको बारीमा’, ‘महसुस’, ‘बितेका पल’, ‘मुटु’ र ‘माइ प्रमिस’मा अभिनय गरिसकेकी छन्।
‘बितेका पल’ पुस २६ गते रिलिज हुँदै छ भने ‘मुटु’ र ‘माइ प्रमिस’ पोस्ट प्रोडक्सनमा छन्।
...
गोपालप्रसाद रिमालको बहुचर्चित नाटक ‘मसान’माथि नीर शाहले बनाएको सिनेमा केकीको करियरको ‘मास्टरपिस’ हो।
‘यो फिल्म मेरो लागि धेरै महत्वपूर्ण थियो, भेरी इम्पर्टेन्ट टु माइ हार्ट,’ केकी सम्झिन्छिन्।
केकीलाई नीर शाहले मसानमा कान्छी बुहारीको भूमिका दिन चाहेका थिए। सपोर्टिङ रोल भए पनि ऐतिहासिक फिल्ममा अभिनय गर्न पाउनु करियरको कोसेढुंगा थियो। उनी त्यसका लागि तयार थिइन्।
आफूलाई कान्छी बुहारीको भूमिकाका लागि खार्दै थिइन्, मानसिक रुपमा।
एकदिन अचानक नीर शाहले भने, ‘तिमी कान्छी बुहारीको भूमिकामा काम गर्न सक्दैनौं।’
केकी केही बोल्न सकिनन्। उनको जीवनको महत्वपूर्ण सपनामाथि प्रहार थियो त्यो।
उनले नीर शाहको आँखामा आँखा जुधाएर हेर्न पनि सकिनन्। ‘नीर सरको आँखा र मुहारमा यस्तो तेज छ, उहाँको अगाडि खुलेर कुरा गर्न पनि सक्दिन थिएँ म,’ केकी त्यो दिन सम्झन्छिन्।
केही बेरको मौनतापछि नीरले भने, ‘तिमीले पहिलो श्रीमतीको भूमिका खेल्नुपर्छ। हेलेनको चरित्र।’
उनलाई विश्वास लागेन। आफूजस्तो नयाँ कलाकार यति महत्वपूर्ण भूमिकामा छानिनु सम्भवै छैन भन्ने लाग्यो।
त्यो धेरै महत्वपूर्ण र प्रभावशाली चरित्र थियो।
नीरले यसो भनेपछि उनको मनमा आएको दोस्रो प्रश्न थियो, ‘के म यो भूमिका गर्न सकुँला?’
यसअघि उनको मनमा पहिलो प्रश्न आएको थियो, ‘इज ही जोकिङ?’
उनले प्रस्ट हुन चाहिन्। सोधिन्, ‘सर, आर यु जोकिङ?’
नीर शाहको अनुहार गम्भीर थियो। सधैंझैं।
उनले भने, ‘नो, नाउ यु प्रुभ इट।’
हेलेनको भूमिका सजिलो थिएन। उत्तिकै चुनौतीपूर्ण र रोमाञ्चक थियो। आफूभन्दा निकै बढी उमेरको महिला चरित्र निर्वाह गर्नु थियो, केकीलाई। त्यो पनि करिब सय वर्ष पुरानो समयको।
केकीलाई यसै पनि चुनौती मन पर्छ।
उनले नीर शाहको विश्वासमा न्याय गरिन्, हेलेनको चरित्र कुशलतासाथ निर्वाह गरेर।
कान्छी बुहारीको भूमिका नीता ढुंगानाले पाइन्। मुख्य पुरुष चरित्रको भूमिकामा राजबल्लभ कोइराला थिए।
‘त्यो फिल्म, मेरो भूमिका, नीर शाह सरको काम– सबै मन पराइएको थियो तर बसन्ती वा प्रेमपिण्डजस्तो चर्चित भएन,’ केकीले सम्झिन्, ‘तैपनि मेरो करियरको सर्वोत्कृष्ट फिल्म हो त्यो।’
...
‘घिन्ताङ’ र ‘के तिमी क्लोजअप गर्दछौ?’को पाँच वर्षपछि केकी परिपक्व भएकी छन्।
फिल्मी दुनियाँमा चर्चित नाम बनेकी छन्। रहरैरहरमा मनोरञ्जनको दुनियाँमा छिरेकी केकीलाई अहिले आफ्नो क्षेत्र बढी गम्भीर लाग्न थालेको छ।
बीए पास गरेका हिरोइन कम हुने नेपाली फिल्म इन्डस्ट्रीमा उनले ‘एडुकेटेड हिरोइन’को उपमा पाएकी छन्।
एमबिए सकेपछि के गर्ने?
‘अझै पढ्ने। सपना त धेरै छन्। फिल्म मेकिङ पनि पढ्ने मन छ। सिनेमाको दुनियाँमा राम्रोसँग कन्ट्रिब्युट गर्न चाहन्छु,’ उमेर, अनुभव र अध्ययनले उनलाई गम्भीर बनाएको छ।
‘म सनी रौनियार बन्न चाहन्न, केही राम्रो फिल्म खेल्ने र सधैंका लागि यो क्षेत्रबाट टाढिने,’ उनको अनुहारमा आत्मविश्वास थियो, ‘म जिन्दगीभर नै फिल्ममा काम गरिरहन चाहन्छु। नेपाली फिल्ममा।’
पिएचडी गर्ने सोच पनि छ। ‘मनमा योजना त धेरै छन्, तर ती अहिले मनमै रहन दिनुपर्छ, बिस्तारै एक्सनमा जाने,’ उनी हाँसिन्।
बुबाले भन्नुहुन्थ्यो, अहिले पनि भन्नुहुन्छ, ‘आफ्नोबारे जान। आफू वरिपरिको वातावरणबारे जान। नेपालीमा लेख।’
उनलाई वरिपरिको वातावरणबारे, आफू उभिएको जमिनबारे रुचि छ। कविता लेख्छिन्। फ्री राइटिङ पनि गर्न मन पराउँछिन्।
भन्नै परेन, पढन्ते केकीलाई किताब पढ्न रमाइलो लाग्छ। कोर्सबाहिरका पनि।
पाउलो कोहेलोका लगभग सबै उपन्यास भ्याइसकिन्।
अध्ययनशील छन्। आँटेको काम पूरा गर्ने दृढता पनि छ।
‘सबैभन्दा ठूलो कुरा, मेरा गोडा जमिनमा उभिएका छन्, म आफूलाई सेलिबे्रटी वा स्टार ठान्दिन, म होइन पनि,’ नारायणहिटी दरबारको पूर्वी भागमा रहेको इमागो डे ग्यालरी एन्ड रेस्टुरेन्टमा चिज केकको सानो टुक्रा मुखमा राख्दै केकीले भनिन्। कुर्सीमा घाम ओझेल पर्दै थियो।
...
हामी लगातार तीन घन्टादेखि गफिइरहेका थियौं।
‘यो रेस्टुरेन्ट मलाई मन पर्छ, कोजी छ, मानिसहरुलाई अरुको उति वास्ता पनि हुँदैन,’ केकीले वरिपरि आँखा डुलाउँदै भनिन्।
उनलाई कसैले हेरिरहेको थिएन। ‘यसै पनि म फिल्म र बाहिर फरक छु, मलाई हिरोइन होला भनेर कसैले कल्पना नै गर्दैन,’ हो, उनी सामान्य देखिन्थिन्।
घाम र केकीको साथ रमाइलो थियो।
मैले उनको आध्यात्मिक व्यक्तित्वबारे जान्न चाहेँ।
‘स्पिरिच्युयालिटी इज समथिङ द्याट कम्स फ्रम इन्साइड,’ केकीले अंग्रेजीमा भनिन् र नेपाली जोडिन्, ‘ह्याप्पी भएको बेला, कन्टेन्ट भएको बेला म आफूलाई पूर्ण महसुस गर्छु, त्यही मेरो लागि स्पिरिच्युयालिटी हो।’
‘मानसिक शान्ति नै सबैभन्दा महत्वपूर्ण कुरा हो,’ उनले थपिन्, ‘मानिसले आफू केमा खुसी हुन्छु भन्ने जीवनभरिमा पनि थाहा पाउँदैनन्, मैले यति सानै उमेरमा नै केमा खुसी हुन्छु भन्ने थाहा पाएको छु।’
केमा खुसी हुन्छिन्?
‘म नाच्दा, पर्फम गर्दा, अभिनय गर्दा आफैंलाई बिर्सन्छु, एकदमै खुसी महसुस गर्छु,’ उनका आँखा चम्किए।
‘म फिल्ममा काम गर्छु, तर फिल्मी गतिविधिबाट टाढै बस्छु, पार्टीमा जान्न,’ सामान्य केटीले सामान्यै तरिकाले भनिन्, ‘त्यही भएर फिल्मी दुनियाँमा न मेरा कुनै निकट मित्र छन्, न कसैसँग कुनै प्रकारको वैरभाव।’
हो, केकीका कलेजकै साथीभाइ बढी छन्।
‘मेरा लागि जीवनमा दुइटा कुरा एकदमै महत्वपूर्ण छन्,’ केकीको लवजमा दार्शनिक टोन आइरहेको थियो, ‘सिक्नु र जुनसुकै काममा सय प्रतिशत दिनु।’
उनलाई मानिसहरुसँग कुरा गर्न मन पर्छ, हृदयको गहिराइदेखि। ‘लभ इज अल्वेज इम्पर्टेन्ट, इन यो वर्क एन्ड इन योर लाइफ,’ मानौं, उनी प्रेमकी प्रवक्ता हुन्।
कतिपयले उनलाई कोनकोना सेन शर्मा भन्छन्, कतिपयले दिव्या भारती। कतिपयले काजोल वा श्रीदेवीसँग तुलना गर्छन्।
नृत्य र अभिनय दुवै विधामा एकाकार केकीलाई अभिनय गरेको बेला सबाना आजमी र नाचेको बेला माधुरी दीक्षित मन पर्छन्।
उनी आफैं भने के बन्न चाहन्छिन्?
‘केकी अधिकारी, म केकी अधिकारी बन्न चाहन्छु। सधैं सिक्न चाहने र सबैलाई प्रेम गर्ने एउटी सामान्य युवती बनिरहन चाहन्छु।’ source : setopati
0 comments:
Post a Comment