'फस्टलभ' नै अगाडि

सविर श्रेष्ठ निर्देशित 'कसले चोर्‍यो मेरो मन'ले दोस्रो सातासम्म पनि 'फस्टलभ'को कलेक्सन अनुपातलाई भेट्टाउन सकिरहेको छैन । निर्माताले रेकर्ड ब्रेक गरेको दावी गरेपनि वितरक डिजिटल सिनेमा नेपाल (डीसीएन)अन्तर्गत बक्सअफिसको कलेक्सनले छवि ओझको उक्त दावीलाई उल्ट्याइदिएको छ । सिमोस सुनुवार निर्देशित 'फस्टलभ'ले पहिलो साता ८५ लाखको जबर्जस्त ओपनिङ गरेको थियो जब कि सविर निर्देशित 'कसले चोर्‍यो मेरो मन'ले ६७ लाख मात्र । यी दुईबीच १८ लाखको ओपनिङ अन्तर छ ।'फस्टलभ'ले उपत्यकाका सिङ्गल र मल्टिप्लेक्स दुवैमा चौंथो सातासम्म उत्साहजनक पिकअप गरिरहेपनि दोस्रो सातामै 'कसले चोर्‍यो मेरो मन'थिएटरबाट उत्रिएको छ । छवि ओझाको यो चलचित्रले सहरका मल्टिप्लेक्स दर्शकको मन जित्न सकेन । राजधानीको प्रमुख मल्टिप्लेक्स कुमारीबाट शुक्रवार 'कसले चोर्‍यो मेरो मन'उत्रिएको छ । यो फिल्मलाई बलिउड चलचित्र 'आक्रोश' र 'रक्तचरित्र'ले रिप्लेस गरिदिएका छन् । यद्यपी कलेक्सनको दौडमा 'कसले चोर्‍यो मेरो मन'ले 'फस्टलभ'लाई पछ्याउँदै गरेको कुरा निर्विवाद छ ।

पहिलो सातामै'कसले चोर्‍यो मेरो मन'अर्को चलचित्र 'फस्टलभ'माथि हावी भएको बताइएपनि तथ्यांकले त्यो बताउँदैन । झन्डै १ करोड ८० लाख ग्रस बटुलेको 'फस्टलभ'लाई कलेक्सनको दौडमा उछिन्ने सम्भावना टरिसकेको छ । यदि 'फस्टलभ'को रिभेन्यूलाई माथ गर्न 'कसले चोर्‍यो मेरो मन'ले जसरी भएपनि ६० प्रतिशत ओपनिङ गर्न सक्नुपथ्र्यो । तर, परिणाम; फिल्मको ओपनिङमै थिएटर सुनसान रहे । यद्यपी रेखा थापाको 'स्टारडम'माथि टेकेर यो फिल्मले मोफसलमा सन्तोषजनक कलेक्सन गर्‍यो र गरिरहेको छ । यद्यपी 'फस्टलभ'लाई दौडमा जित्ने आधार बलिया छैनन् ।चलचित्र समीक्षकहरु यी दुई सिनेमाबीच ब्यापार अन्तर हुनुमा 'दर्शक-विभाजित' प्रमुख कारण बताउँछन् । जस्तो : 'फस्टलभ'ले सबै वर्गका दर्शक मास अडिएन्सलाई समेटेको थियो भने 'कसले चोर्‍यो मेरो मन'ले 'ग्रामिण र अर्धबजारिया' दर्शकलाई मात्र । दोस्रो पक्ष; यी दुई सिनेमाबीच पब्लिसिटीको शैलीमा धेरै अन्तर थियो । नाम र पोस्टरजस्ता आवरणले पनि दर्शक फिल्म हेर्न थिएटरसम्म पुगेका थिए । तर 'फस्टलभ'पछि प्रदर्शन हुने चलचित्रमध्ये 'कसले चोर्‍यो मेरो मन'ले कलेक्सनको दौडमा आलोक नेम्वाङ निर्देशित 'कोही…मेरो'लाई भने उछिनेको छ ।

नम्रताले थालिन् डेटिङ


कलिउड 'डिभा' नम्रता श्रेष्ठलाई बल्ल डेट्मा जाने मौका मिलेछ । 'मिस यू' हिरोइनले डेटमा रोमान्स गर्ने चान्स पाएकी छिन् । डेट् जान पाएकोमा गद्गद् मात्र छैनिन् उत्साही पनि बनेकी छिन् । उनको डेटिङ व्वाइफ्रेन्डसँग भने होइन फ्यानसँग हो । डेटिङ पनि एकान्त र रमणीय लोकेसनमा होइन लाजिम्पाटस्थित आफ्नै रेष्टुराँ एटिकमा । शुक्रवार आठजना प्रशंसकसँग नम्रता डेट गइन् । दसैंअघिदेखि संचालनमा आएको एठ्-डी सिनेमाले उनलाई डेटिङको मेसो मिलाइदिएको हो ।नम्रता एठ्-डी सिनेमाकी ब्रान्ड एम्बेसडर हुन् । उक्त सिनेमाबाट हप्तैपिच्छे छानिने भाग्यमानी विजेतासँग नम्रता डेटिङ पुग्नेछिन् । प्रत्येक साता छानिने विजेताहरु नम्रतासँग भेटेर सँगै बुइँगलको कफि पिउन पाउनेछन् । 'निकै उत्साही छु' डेटमा भेटिएकी नम्रताले मेरोसिनेमासँग भनिन् 'यसले फ्यानसँग प्रत्यक्ष अन्तकि्रया गर्ने र कफिगफ गर्ने मौका मिलाइदिएको छ ।'

सुटिङ भैरहेको दिलीप रायमाझीको सिनेमा 'मिस यू'बाट समय निकालेर नम्रता एठ्-डी सिनेमाको पब्लिसिटीमा जुटिरहेकी छिन् । उक्त सिनेमाका लागि नम्रताले फोटोसुट पनि गर्दैछिन् । वास्तविक व्वाइफ्रेन्डसँग डेट जान नपाएपनि हिरोइनलाई फ्यानसँगै भएपनि डेटिङ जाने मौका मिलेको छ । कहिले व्वाइफ्रेन्डसँग डेटमा निस्किन्छिन् उनी यो त उनको गोजीको कुरा ।