समीक्षा : 'श्रीमान्'

चलचित्र :श्रीमान्
निर्देशक : नवल नेपाल
निर्माता : कल्याण घिमिरे
कथा : कल्याण घिमिरे
पटकथा,संवाद : नवल नेपाल,कल्याण घिमिरे
गीत : संजीवनी, प्रमोद ढुङ्गाना
संगीत : महेश खड्का

‘नपत्याउने खोलाले बगाउँछ’
नेपालीमा एउटा उखान छ, ‘नपत्याउने खोलाले बगाउँछ’,यस्तै भएको छ नेपाली चलचित्रमा । एउटा Low profile मा रहेको चलचित्रले दर्शकको रुपमा मलाई लगभग सवा दुइ घण्टा दर्शक सिटमा बाँधेर राख्न सक्यो, सफल भयो । धन्यवाद छ यो चलचित्रको परिकल्पना गर्ने र परिकल्पनालाई यथार्थ बनाउन सहकार्य गर्ने ती सर्जकहरुलाई जसले एउटा सुन्दर र गम्भिर कथा देखाउन मिहिनेत गरेका छन् ।एउटा नारी जो एक संघर्षरत केटासँग आत्मियताको बन्धनमा बाँधिएर प्रेमरुपी सुन्दर संसारको मुहानमा संसार सजाउँदै हुन्छिन् ।तर त्यो केटा करिअर महत्वकांक्षाका को आवेगमा हुत्तिन्छ । आफ्नो आत्मसम्मानको र आफ्नो पेटमा हुर्कंदै गरेको बच्चाको अधिकारको लागि कानुनी संघर्ष गर्ने शिलशिलामा दोस्रो पात्रसँगै भावनात्मक सम्बन्ध गाँसिन पुग्दछ र त्यो सम्बन्ध साँस्कृतिक श्रीमान,श्रीमतीको रुपमा परिणत हुन्छ । द्वन्द्वको सृजना तब गहिरिन्छ जब यो श्रीमानले रगतको सम्बन्धबीच भेदभाव राख्दछ अर्थात् आफ्नो रगत र पराइको रगत भनेर दुई बालिकाबीच भिन्नता राख्दछ र त्यसको उपजको रुपमा एक हृदयस्पर्षी परिस्थिति सृजना हुन्छ जहाँ सबैकुरा भताभुङ्ग हुन्छ । सुन्दर छ कथाको आधारभूत द्वन्द्व र हृदयस्पर्षी छ त्यसको उपज ।बालमनोविज्ञानसँग वयस्क मनोविज्ञानको द्वन्द्व वास्तवमै एक साहसी प्रयोग र प्रस्तुती हो जसले दर्शकको मनोविज्ञान र भावनालाई झक्झक्याउँछ र कथाको परिस्थिति सँग आफूलाई मूल्याकंन गर्न वाध्य गराउँछ । कथामा जे घट्छ त्यो स्वाभाविक छँदा छँदै पनि दर्शकको मनोविज्ञान पक्ष ,विपक्षमा द्वन्द्व गरिरहेको हुन्छ, जुन यो कथाको महत्वपूर्ण उपलब्धि हो ।यो चलचित्र नेपाली चलचित्रले व्यवसायिकताको नाउँमा बलिउड सिनेमाको कथाहरुको नक्कल गर्नुपर्छ भन्ने कमजोर मानसिकता बोकेका चलचित्रकर्मीहरुलाई सबक हुनेछ । कुनै पनि समस्यामा आधारित भएर कथा सृजना हुन सक्दछ र त्यसै समस्याको वरिपरि पटकथाको संरचना गर्न सकिन्छ । त्यसको लागि केवल चाहिन्छ सृजनसिलता र यो चलचित्रले त्यो पक्षलाई पुष्टि गरेको छ ।यस चलचित्रको कथा पक्ष सुन्दर रहेपनि पटकथा लेख्ने पक्षमा भने सर्जकले सृजनशिलताको अभिव्यक्ति गर्न सकेका छैनन् । पटकथा लेखनको कमजोरी संवादको माध्यमबाट ढाकछोप गर्न खोजिएको छ । त्यसकारण संवादको मात्रा आवश्यक भन्दा थोरै छ,पात्रहरुको चित्रणमा स्वाभाविकता झल्किंदैन र कतिपय परिस्थिति लादिएका छन् ।निर्देशकले शब्दरुपी पटकथालाई दृश्यरुपी चलचित्रमा रुपान्तरण गर्न पुरानै शैली अपनाएका छन् जो यस खालको भावअनुसार त्यति उपयुक्त बन्न सकेको छैन, देखिँदैन पनि ।विषयवस्तु र त्यसमाथि रचिएको कथामा जति मौलिकता र आधुनिकता भएपनि त्यसको प्रस्तुतीकरण शैलीमा अपनाइने पुरानै परम्परा यस चलचित्रको लागि हानीकारक बनेको छ, नत्र चलचित्रले उत्कृष्टताको उचाइ नाप्नेथियो । शैलीको आधुनिकी करणको अभावमा पात्रहरुको निर्माण र विकास तथा कलाकारहरुले त्यो पक्षलाई जीवन्तता दिने क्रममा गर्ने अभिनय एकदम अनुभवहीन र भड्कीलो भएको छ । चलचित्रमा बालकलाकारहरुको अभिनयमा जुन सहजता छ वयस्क कलाकारहरुको अभिनयमा सहजता भन्दा प्राविधिकता हावी भएको पाइन्छ । मुख्य पात्रको रुपमा रहेकी पुजना प्रधानले आफ्नो पात्रमा आत्मीयता भन्दा पनि प्राविधिक कलाकारको दृष्टिकोण बढी हावी गराएकी छन् जसको कारण उनले पाएकी जीवनको सबैभन्दा चुनौतिपूर्ण पात्रलाई जीवन्तता दिन चुकेकी छन् भने उनीसँगै दुई पुरुष पात्र अझ भनौं श्रीमान पात्रहरु ‘अभिनय, देखाउने कला हो’ भन्ने मान्यतामै रुमल्लिएका छन् । अभिनय जस्तै यस चलचित्रको प्राविधिक पक्ष पनि प्राविधिक मनोविज्ञान भित्र मात्रै जकडिएको छ ।चलचित्र निर्माण गर्ने शैली दुई किसिमले हुने विश्वब्यापी लहर छ । पहिलो, चल्दै आएको, बिक्दै आएको, कमाउँदै आएको समय र स्थान, जसलाई यही नै र यसरी नै गरिनुपर्दछ भन्ने स्थापित मूल्य मान्यता जसले एउटा संरचना र रुप ग्रहण गरिसकेको छ, जसलाई technicals (inbox) शैली भनिन्छ । र दोस्रो out of the box शैली, जहाँ सर्जकको नितान्त अवधारणा हुन्छ जसले विषयवस्तुलाई गहन ढङ्गले आत्मानुभूति गर्दै सृजनशील ढङ्गले प्रस्तुतीकरण गर्ने शैली निर्माण गर्छ ।यस चलचित्रको कथा चुन्ने शिलशिलामा भने out of the box शैली अपनाइएको छ । तर त्यसपछि पूर्ण रुपले प्राविधिक शैली नै अपनाइएको छ सायद चलचित्र निर्माणकर्ताहरुको rise taking गर्ने आँट नभएर होला । यो दृष्टिकोणको कमीले होला तर जे होस् यस चलचित्रले एउटा पक्षमा भएपनि आफ्नो छुट्टै अस्तित्वको झण्डा गाडेको छ र त्यसको लागि मात्र भएपनि यो चलचित्रको प्रशंसा गर्न जो कोही वाध्य हुन्छ ।अन्त्यमा चलचित्रको सबैभन्दा ठूलो star value भनेको यसको कथा हो र त्यसलाई पटकथा,संवादले साथ दिनु पर्दछ । यस अर्थमा चलचित्र ‘श्रीमान’ सँग ठूला नाम गरेका कलाकार, प्राविधिक नभएपनि एउटा बलियो स्टार छ कथाको रुपमा ।

0 comments:

Post a Comment