समीक्षा : मेरो प्यारो माइतिघर

मेरो प्यारो माइतिघर
निर्देशक : उदय सुब्बा
निर्माता : सुरेन्द्र कुरुङबाङ, दिनेश पाख्रिन, कृष्णमणी कुइँकेल
संगीत : चेतन सापकोटा
सम्वाद : देव नेपाल
‘ताईं न तुइं हात लाग्यो दुई’
चलचित्रको समीक्षा गर्नु एकदम कठिन काम हो । विगत् तीन महिनादेखि चलचित्रको समीक्षा गर्ने जिम्मेवारी लिएपछि हरेक हप्ता प्रदर्शनमा आएका चलचित्रका राम्रा पक्षहरुको विषयमा प्रशंसा लेख्न पाए हुन्थ्यो भन्ने आकांक्षा सधैँ हुन्थ्यो । तर प्राय चलचित्र हेरेपछि निराशा मात्र हात पर्‍यो । केही चलचित्रका केही पक्षहरु सन्तोषजनक भएको अवस्थामा त्यस्ता पक्षहरुको सकेको प्रशंसा पनि लेखियो र त्यस्तो क्षण आफ्नो लागि पनि उल्लेखनीय रह्यो । चलचित्रका आधारभूत सिद्धान्त, शुत्र, शैली, अवधारणा र विश्वमा स्थापित मान्यताहरुको आधारमा हाम्रा चलचित्रहरुको विश्लेषण गर्दा पाठकहरुलाई समीक्षा पढ्दा ‘कति नराम्रो लेखेको’ भन्ने आक्रोश जाग्नु जायज हो र कतिपयले मेरो व्यक्तित्वमाथि पनि प्रश्न गरेका छन् त्यसलाई नकारात्मक नमानी नेपाली चलचित्र प्रतिको स्नेहको रुपमा हामीले लिएका छौँ ।म आफू पैसा तिरेर दुइ सवा दुइ घण्टा सामान्य दर्शकहरुसँग बसेर ती चलचित्र हेर्छु र वरिपरि रहेका दर्शकहरुको कुराकानी प्रतिपनि ध्यान दिन्छु । उनीहरुसँग चलचित्रको प्रतिकृया लिन्छु यसपछि बल्ल म चलचित्रलाई प्राविधिक र सृजनात्मक पक्षबाट मूल्याङ्कन गछु । तर हालसम्म प्राय चलचित्र हेरेपछि पिडा मात्र महसुस भएको छ र त्यही आधारमा समिक्षा बनेका छन् । समीक्षामा पिडाहरु पोखिएका हुन् । कसैप्रति कुनै आग्रह, पूर्वाग्रह नराखी चलचित्र हेरें र समीक्षा गर्न चलचित्र हेरेपछि दर्शकहरुको तत्कालको प्रतिकृयालाई मूल आधारको रुपमा लिने क्रममा यस हप्ता एक चलचित्र हेरेपछि रमाइलो प्रतिकृया पाएँ,‘ताइँ न तुइँ हात लाग्यो दुई ।’ यस हप्ता रिलिज चलचित्र ‘मेरो प्यारो माइतिघर’ हेरेपछि अरु दर्शकहरु र म पनि निराश भएँ ।यो चलचित्र एक युवतीसँग जोडिएर आउने विभिन्न घटना, दुर्घटनामा आधारित छ । एक धनी दाजुद्वारा एकदम माया पाएकी युवती जसलाई दाजुले पालेर खर्चको लागि भनेर बीसौं हजार दिन्छन्, गाउँको एउटा सोझो तर सौतिनी आमाको षड्यन्त्र जालमा फँसिरहेको केटोसँग प्रेमविवाह गर्न पुग्छीन् र त्यसपछि सौतेनी सासुको षड्यन्त्रको र हेपाहा प्रवृत्तिको चङ्गुलमा फँस्छिन् । तर जब सौतीनी आमाले सम्पत्तिको लागि गरिरहेको षड्यन्त्र थाहा पाउँछन् त्यसको विद्रोह गरेर केटी आफ्नो श्रीमानलाई उपचार गराउन सहर आउँछे र शहरमा पनि समस्याका अपहरणमा फस्छिन् अनि त्यसबेला दाईको विरताले सबै समस्या समाधान गरेर खुसी हाँसिल गर्छिन् त्यसैले चलचित्रको नाम ‘मेरो प्यारो माइतिघर’ राखिएको हो भनेर अर्थ लाउन सकिन्छ ।कथाको सृजना केही बलिउडका चलचित्रको मिश्रित स्वरुपमा छन् र पटकथा बनिबनाउ र बासी हुन् । एक पछि अर्को घटना घट्छ भनेर सहज रुपमा भन्न सकिने हुँदा चलचित्र चल्ने अवधिभर मन थामेर बस्न अत्यन्तै कठिन हुन्छ । पटकथालाई फेरि त्यस्तै बनिबनाउ र बासी संवादले त झन् कमजोर बनाएको छ । त्यसकारण चलचित्रको लेखोट,(कथात्मक पक्ष) मृत अवस्थामा छ । अब यस्तो पटकथा संवादमा कलाकारहरुले के नै गर्न सक्छन् ? सबैजना पात्र हैन कलाकार मात्रै देखिन्छन् चलचित्र भरि । राजेश हमाल, त यति प्राविधिक(Mechanical)प्रस्तुत हुन्छन् कि उनमा कुनै भावना झल्किँदैन र उनलाई पात्रको संवेदनासँग कुनै सरोकार नै छैन । उनी उभिदिन्छन् र बोल्न पर्ने संवाद बोल्छन्, हिँड्नु पर्दा हिँड्छन् र हिर्काउनु पर्दा हिर्काउँछन् ।दृश्यहरु ‘छाप्न’ को लागि छापिएका छन्, सम्पादनमा काट्ने र जोड्ने मात्र भएको छ, पाश्र्व संगीतमा वाजा बजाउनुकालागि बाजा बजाइएको छ । र यसरी बनाउन मात्रैकालागि बनाइएको चलचित्र हो ‘मेरो प्यारो माइतिघर’ जसले दर्शकलाई बनिबनाउ मनोरंजन पस्कन्छ ।यहाँ एउटा प्रचलन छ, ‘आर्ट चलचित्र र कमर्शियल चलचित्र’ भनेर छुट्याउने । आर्ट हुन दर्शकलाई मनोरन्जन नै गराउन हुन्न भन्ने र कमर्शियल हुन दर्शकलाई बनिबनाउ मनोरंजन जबर्जस्ति पस्किनपर्ने । यो चलचित्र कमसेकम कमर्शियलको नाउमा जबरजस्ति मनोरंजन ठोस्न खोजिएको विकृत मानसिकताको उपज चलचित्र हो । यस्ता चलचित्रहरु बजारमा थुप्रै आएका छन्, आउँदैछन् र आउनेछन् तर यो चलचित्र नेपाली चलचित्र इतिहासमा कहिँ पनि नाम दर्ता गराउन सक्दैन र भिडमा हराउँछ । व्यावसायिक चलचित्र बनाउने नाउँमा यसरी बासी मनोरंजनको व्यापार मात्र गर्न खोज्दा नेपाली चलचित्रमा समस्या स्थापित भएको हो । चलचित्रको मुख्य उद्देश्य नै मनोरंजन हो । विश्व व्यापारमा चलचित्रलाई मनोरंजनको साधन र साद्य मानिन्छ । मानिसलाई स्वस्थ खाना, सफा लुगा, स्वस्थ हावा पानीको आवश्यकता परेझैँ स्वस्थ मनोरंजनको अत्यन्तै आवश्यकता पर्दछ । त्यसैकारण हामी मनोरंजनको व्यापारलाई कमजोर नठानी गर्वसाथ सार्थक, विश्वसनीय र सृजनशील मनोरंजनको व्यापार गर्न सक्छौँ । जब यो दृष्टिकोणको विकास सबै चलचित्रकर्मीसँग हुन्छ तब नेपाली चलचित्र उद्योगको व्यवस्थित, विकास हुन्छ र छलाङ मार्ने छ ।हरेक चलचित्रको आआफ्नो विशेषता हुन्छ र त्यही विशेषताको कारण दर्शकहरु चलचित्र हेर्न हलसम्म पस्छन् । मिडियाले चर्चा गर्छन् दर्शकहरु चलचित्र अवधिभर त्यसको प्रस्तुतीकरण शैली र क्षमताबाट बाँधिएर बस्छन् । एक विशेष रचनात्मक र सृजनात्मक अनुभूति लिएर फर्कन्छन् । त्यसकारण त्यो चलचित्रको महत्व स्थापित हुन्छ तर जब कुनै चलचित्रसँगै आफ्नो विशेषता रहँदैन तब त्यो चलचित्र पोस्टर र रिलमा बन्दी भएको एक एक निर्जिव कथा मात्र भएर मर्छ । कुनै पनि चलचित्र समीक्षा कथा भएर दर्शकहरुको मनमष्तिकमा जीवित भैरहन पाउनु त्यो चलचित्रको लागि सम्पूण अहोभाग्य र त्यसका सर्जकहरुलाई गौरबको विषय हो । यस्तो अहोभाग्य ‘मेरो प्यारो माइतिघर’ले कदापी पाउने छैन ।

0 comments:

Post a Comment