सहरै कुरूप पार्ने फिल्म पोस्टर

गत साता भारतीय अभिनेता नसिरुद्दिन साह काठमाडौं आउँदा यहाँका भित्ता नेपाली फिल्म ‘दशगजा' र ‘म बिर्सुं कसरी'का पोस्टरले ढाकिएका थिए। छिटफुट भित्तामा ‘निगरानी'का पोस्टर पनि थिए। भारतीय सिनेमाका यी प्रतिभाशाली अभिनेताले मुम्बई फर्किने बेला नागरिकसँग अन्तर्वार्तामा भने, ‘पोस्टर हेरेरै थाहा हुन्छ, नेपाली फिल्म कस्ता बनिरहेका छन्।' उनले भने- ‘थोत्रा बलिउड फर्मुला हेरेर फ्यान्टासीमा रमाए नेपाली सिनेमाले ध्वस्त हुने बाटो समातेको ठहरिनेछ।'नेपाली सिनेमाका पोस्टरमा दुई दशकदेखि छाउँदै आएका अभिनेता राजेश हमाललाई साहको भनाइ अस्वाभाविक लाग्दैन। ‘जस्तो फिल्म बनाउँदा उद्योगले निरन्तरता पाउँछ, हामीकहाँ त्यस्तै फिल्म बनिरहेका छन्,' हमाल भन्छन्, ‘साह आर्ट फिल्मका मान्छे भएकाले मूलधारका सिनेमाको आलोचना गर्नु अस्वाभाविक होइन।'
कस्ता छन् नेपाली फिल्मका पोस्टर जसबाट साहले नेपाली फिल्मको गुणस्तर थाहा पाए?
निर्देशक रमेश बुढाथोकी पोस्टरबाटै नेपाली सिनेमा बलिउडबाट प्रभावित भएको प्रस्टै देखिने बताउँछन्। अघिल्लो वर्ष बनेका ७५ फिल्ममध्ये ६ वटाले दुःखजिलोसँग लगानी उठाएको उद्योगमा ‘अधिकांश फिल्मले थोत्रा बलिउड फिल्मलाई नै आदर्श मानेको' उनको अनुभव छ।हिरोको एक्सन र हिरोइनको भद्दा पोजले प्राथमिकता पाउने पोस्टरले सिनेमाको गुणस्तरमात्र उजागर गर्ने होइन, सहर नै कुरूप पारिरहेको उनको चिन्ता छ। निर्माता कर्ण शाक्यको सोचबाट प्रभावित भएर सार्वजनिक ठाउँमा पोस्टर नटाँस्ने घोषणा गरिएको फिल्म ‘पल' का निर्देशक बुढाथोकी भन्छन्, ‘अब बनाउने फिल्मको पोस्टर पनि जथाभावी टाँस्दिनँ, सहर कुरूप नपार्न निर्मातालाई कन्भिन्स गर्छु।'फिल्म चलेको सूचना पोस्टरले दिए पनि दर्शक तान्न राम्रै फिल्म चाहिने उनले बुझेका छन्। फिल्मकर्मीले सभ्य नागरिकको परिचय दिनुपर्ने खाँचो औंल्याउँदै उनी भन्छन्, ‘पोस्टर डिजाइनमा वितरकको दबदबा छ तर निर्देशकले राम्रा पोस्टर बनाउन हस्तक्षेपकारी भूमिका खेल्नुपर्छ।'
निर्देशक दयाराम दाहाल भने भारतमा बन्ने भोजपुरी र कयौं हिन्दी फिल्मभन्दा नेपाली फिल्मको पोस्टर डिजाइन राम्रो भएको दाबी गर्छन्। साह काठमाडौं छँदा यहाँका भित्तामा दाहालको सिनेमा ‘दशगजा'का पोस्टर टाँसिएका थिए। उनले भने, ‘हामीले दर्शक रुचिकै आधारमा पोस्टर बनाउँछौं।' उनी यथार्थपरक फिल्म बनाउन बजेटले साथ नदिने बताउँछन्।
भारतमा मौलिक फिल्म बनाउन चाहनेलाई सरकारले अनुदान दिने उल्लेख गर्दै नेपालमा भने चलचित्र विकास बोर्डको १२ वर्ष नै १२ थरी कार्यकर्ता भर्ती गरेर बितेको उनको दाबी छ। यति भन्दाभन्दै नेपाली सिनेमाका पोस्टर गतिला नहुने उनी स्विकार्छन्, ‘मैले गरेको डिजाइन वितरकले फेर्दिन्छ, उनीहरूले नचाहेसम्म नयाँ गर्छु भन्नेलाई सजिलो छैन।'अर्का निर्देशक राजेन्द्र उप्रेती पोस्टरमा बलिउडको प्रभाव आवश्यकै देख्छन्। ‘उता जस्ता फिल्म चल्छन्, यता पनि त्यस्तै चल्छन्,बलिउडका पोस्टर रुचाएको देखेपछि हामी त्यस्तै बनाउँछौं,' उनी भन्छन्।काठमाडौंमा आफ्नो निर्देशनको ‘निगरानी' रिलिज हुँदा‘कसलाई अफ्नो भनुँ'को सुटिङमा व्यस्त उप्रेतीले दर्शककै चाहनालाई ध्यान दिएर ‘एक्सन प्रभावी' पोस्टर बनाएको अड्डी लिए। ‘कलाकारले ड्रेसमा ध्यान नदिएर अलि समस्या छ, पछि फोटो सेसन गरेर पोस्टर बनाउन पाए राम्रो हुन्थ्यो,' उनी भन्छन्।
पोस्टरले दर्शक भड्काएको उनी मान्दैनन्। ‘नयाँ कलाकार र हलको लापरबाहीले व्यापार घटेको हो, पोस्टरले होइन,' उनको विश्वास छ।अधिकांश नेपाली फिल्मका पोस्टर कलाकार सुन्दर श्रेष्ठको ‘आइडियल डिजाइन'मा बन्छन्। उनका अनुभवमा ‘चल्ने कलाकारको टाउको पोस्टरबाट बेच्नुपर्ने' अवस्था छ। करिअरको सुरुआतमै बनाएको ‘तृष्णा' फिल्मको पोस्टरले निर्देशक उगेन छोपेललाई प्रभावित पारे पनि त्यस्ता ‘कलात्मक' पोस्टरलाई उनले निरन्तरता दिन सकेनन्। ‘त्यो पोस्टर बनाएपछि मलाई उगेनले मुम्बई बोलाएका थिए, तर यहाँको कामले जान सकिनँ,' उनी भन्छन्।निर्मातालाई १० विकल्प दिने र उनीहरूले छानेको डिजाइनलाई अन्तिम रूप दिने काममै उनको व्यवसाय चलेको छ, ‘हामी आफ्नो कलाकारिता देखाउने भन्दा पनि निर्माता बचाउने काम गर्छौं।'यति हुँदाहुँदै पछिल्लो सिनेमा ‘ब्याच नं. १६'पोस्टरकै कारण चर्चित बन्यो। प्रचार सामग्रीकै नवीनताले फिल्म दर्शक आकर्षित गर्न सफल भयो जबकी विषयवस्तु र प्रस्तुतीकरण औसत फिल्मभन्दा माथि थिएन। मौलिक नेपाली सिनेमा ‘प्रेमपिण्ड' बनाएको जस पाएका निर्देशक यादव खरेलको मूल्यांकन छ, ‘अधिकांश नेपाली फिल्मले छान्ने यौन र हिंसाकै विषय पोस्टरमा प्रतिविम्बित हुन्छ।' ‘फिल्मको बल जेमा छ, प्रचार सामग्रीमा त्यही राख्ने हो, फिल्म नै सस्तो विषयमा घुमेको छ भने गहकिलो चिज के देखाउनु?' उनी भन्छन्।फिल्मका टेलिभिजन विज्ञापन अझै कमसल हुने उनको टिप्पणी छ, ‘मेरो फिल्ममा नायिकाको चीरहरण गरिएको छ, हिरोले यति फन्का घुमेर लात्ती हान्छ, हेर्न आउनुस् भन्नेजस्ता विज्ञापन आउँछन्।'फिचर फिल्म बनाउँदै गरेका नेपाली निर्देशकभन्दा डकुमेन्ट्री र छोटो फिल्म बनाइरहेका नयाँ पुस्तामा उनले सम्भावना देखेका छन्,‘विषयको अब्बल रोजाइ र प्रयोगपरक प्रस्तुति उनीहरूको फिल्ममा देखिन्छ, यो पुस्ताबाट आशावादी छु।'

0 comments:

Post a Comment