बन्द सिद्धियो, अब रिलिज

गत वर्ष चलचित्र विकास बोर्डबाट ‘राष्ट्रिय फिल्म अवार्ड' पाउन सफल ‘छाडी गए पाप लाग्ला' शुक्रबार रिलिज हुने भएको छ। गत शुक्रबार नै रिलिजको पालो पाए पनि राजनीतिक अन्यौलका कारण प्रदर्शन मिति सारेको निर्माता केशव भट्टराईले बताए । ‘स्थिति नाजुक देख्दादेख्दै फिल्म चलाउन मन लागेन। अब त केही दिनलाई राजनीति गर्नेहरू पनि थाक्छन् कि,'काठमाडौंका १५ हलमा फिल्म चलाउने निश्चत गरेपछि उनले नागरिकसँग भने। विशेष फिल्मको कोटामा समेत परेको ‘छोडी गए पाप लाग्ला' सुशील पोखरेलको फिल्म‘जय शिब शंकर' पछि रिलिज गर्न निर्माता संघले निर्णय गरेको थियो।त्यसैले फिल्मले सन्तोषजनक व्यापार गर्न नसकिरहेको अवस्थामा पनि भट्टराई फिल्म चलाउन तम्सिएका छन्।‘स्थिति त राम्रो छैन। तर, राम्रो फिल्म चल्छ कि भन्ने आश बोकेर कम्मर कसेको हुँ,'उनले भने। उज्ज्वल घिमिरेद्वारा निर्देशित यो फिल्मले निर्देशनसहित सात विधामा अवार्ड पाएको थियो।फिल्मका कलाकार लाखापाखा लागेकाले प्रचार/प्रसारमा कठिनाइ भएको उनले गुनासो गरे। ‘बिराज भट्ट मुम्बई,ऋचा घिमिरे आफ्नै फिल्मको सुटिङमा, सञ्चिता मिडियामा त्यति आउन चाहँदिनन्। त्यसैले अलिक समस्या नै परेको छ,'भट्टराईले भने। तर, कलाकारलाई हल हलमा लैजाँदा व्यापार बढ्छ भन्नेमा चाहिँ उनलाई विश्वास छैन।‘फिल्मको गीत पहिलादेखि नै चर्चित छ। विभिन्न अवार्ड पाएको फिल्म हो। त्यसैले राम्रै होला भन्ने आश गरेको छु,' काठमाडौं बाहिरका हलहरूमा करिब डेढ वर्षअघि रिलिज भएको फिल्मका निर्माताले भने।

0 comments:

Post a Comment