प्रणयसहित प्रमोद


काठमाडौ, श्रावण १२ - गायक प्रमोद खरेल मंलगबार बाबुआमाबाट आफ्नो तेस्रो एकल एल्बम 'प्रणय' विमोचन गराउँदा जति खुसी देखिए, छोराको कामबाट बाबुआमा पनि उत्तिकै खुसी थिए ।

बाबु बलभद्र र आमा विष्णु शर्मा खरेल छोरो प्रमोदको एल्बम विमोचनकै लागि भनेर झापा भद्रपुरबाट केही दिनअघि राजधानी आएका थिए । उनीहरूलाई एल्बम सार्वजनिक गर्नमा चलचित्रकर्मी यादव खरेलले सघाएका थिए ।

'डाक्टर बनोस् भन्ने चाहना थियो,' एल्बम विमोचनपछि बाबुले भने, 'तर सांगीतिक क्षेत्रमा लागेर पनि राम्रो काम गरेको देख्दा खुसी लागेको छ ।' बिध्यवासिनी म्युजिक प्रालिले बजारमा ल्याएको एल्बममा 'मबिना कसैकसैलाई...', 'याद गर्न पनि...', 'यो मनले रोज्यो...', 'गल्ती मेरै थियो...', 'कालो कोठी...', 'किन तिम्रो मायाले...', 'कति माया...', र 'मेरो देश प्यारो नेपाल...' गरी ८ गीत समेटिएका छन् ।

'मबिना कसैकसैलाई...' गीत एल्बम आउनुअघि नै श्रोतामाझ लोकपि्रय भइसकेको छ भने 'मेरो देश प्यारो नेपाल...' क्रिकेट एसोसिएसन अफ नेपालका लागि गाइएको विशेष गीत हो । नेपाली क्रिकेट टोली सम्मिलित गीतको म्युजिक भिडियोको लन्डनमा 'पि्रमियर सो' समेत भइसकेको छ ।

महेश खड्का, जगदीश समाल, हरि लम्साल, प्रमोद खरेल, गैरे सुरेशले संगीत दिएको 'प्रणय' एल्बमका गीत शीतल गिरी, राजेन्द्र थापा, प्रमोद खरेल, कृष्ण केसी, विपिन किरण र डा. कृष्णहरि बरालले लेखेका हुन् । यसअघि गायक खरेलका 'प्राप्ति' र 'सेन्टिमेन्ट्स' एल्बम आइसकेका छन् । एक दशकदेखि गायन क्षेत्रमा सक्रिय खरेलको डेब्यु गरेको फिल्म 'पलपलमा' का गीत अहिले चर्चामा छन् ।

0 comments:

Post a Comment