हङकङ, साउन ७ (नागरिक) नेपाल-चीन कुटनीतिक सम्बन्ध स्थापनाको ५५ औं वर्षगाँठमा सहभागी हुन अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर बेइजिङ आउँदैछन्।
वर्षगाँठको अवसरमा १८ साउनमा दूतावासले आयोजना गर्ने विशेष कार्यक्रमका लागि सिने कलाकारलाई निम्त्याइएको हो। दूतावासले उक्त दिन बेइजिङमा मुनामदन नाटक प्रदर्शनका लागि निर्देशक सुनिल पोखरेलसहित करिब डेढ दर्जन कलाकार पनि निम्त्याएको छ।

चिनियाँ भाषामा अनुवाद भइरहेको मुनामदन नेपाल-चीन सांस्कृतिक सम्बन्धको आधार मानिन्छ। कामको खोजीमा भोट आएका मदनले त्यहाँ पाएको सहयोगलाई लेखक लक्ष्मीप्रसाद देवकोटाले दुई देशका नागरिकबीचको भावनात्मक सम्बन्धका रूपमा प्रस्तुत गरेका छन्।
१९५५ अगस्ट १ मा नेपाल-चीन कुटनीतिक सम्बन्ध स्थापना भएयता सांस्कृतिक सम्बन्ध पनि बिस्तार भएको छ। दुई देशबीच सन् १९९५ मा सांस्कृतिक सहयोग सम्बन्धी एक सम्झौता भएपछि हरेक वर्ष सांस्कृतिक आदानप्रदान हुँदै आएका छन्। कुटनीतिक सम्बन्ध स्थापनाको पचासौं वर्षगाँठको सन्दर्भमा काठमाडौंस्थित चिनियाँ दूतावासले जुन २००५ मा एक सातासम्म ‘चाइना फेस्टिभल' आयोजना गरेको थियो। डेढ महिनाअघि बेइजिङमा संगीतकार अम्बर गुरुङको ‘अम्बर साँझ' भएको थियो।

वर्षगाँठको अवसरमा दूतावासले बेइजिङका कुटनीतिज्ञ र सरकारी अधिकारीहरूका लागि ‘रिसेप्सन' पनि आयोजना गर्र्दैछ।

0 comments:

Post a Comment