अबदेखि सातामा तीन चलचित्र

मेरोसिनेमा काठमाडौं २७ पुस,
नेपाली सिनेमा उद्योगका लागि दुःखद खबर । अबदेखि सातामा औषत तीन चलचित्र प्रदर्शनमा आउँदैछन् । यसो हुनुमा निर्माताहरुबीचको असमझदारी प्रमुख कारण रहेको ठम्याइ जानकारहरुको छ । ०६७ मा प्रदर्शनमा आएका ५२ सिनेमामध्ये चारवटाले मात्र लगानी उठाएका थिए । त्यो खतरा दोहोरिने क्रममा छ र सुरुआत भने आगामी शुक्रबारदेखि सुरु हुँदैछ । योगेश घिमिरेको 'नबिर्सें तिमीलाई नपाएँ तिमीलाई', नरेन्द्र थापाको 'देशदेखि बिदेश' र शोभित बस्नेतको 'चिनो' एकसाथ रिलिज हुँदैछन् । तीनैजना निर्माताले आ-आफ्ना फिल्म तगडा रहेको घमण्ड गरिरहेका छन् ।

माघ चौधमा 'शासन', 'स्वर', 'दिलमाया' र 'मैले भुल्नै सकिँन' रिलिज हुँदैछन् । वर्ष २०११ भरी हप्तैपिच्छे तीनचारवटा सिनेमा रिलिज हुनेछन् । प्रतिक्षा सूचिमा रहेका ७२ सिनेमा उपत्यका र बाँकी मोफसलमा रिलिज हुने भएकाले प्रदर्शनमा उतारचढाव आएको हो । एकैचोटी चलचित्रहरु रिलिज हुँदा त्यसको फाइदा दर्शकलाई पुग्ने भएपनि निर्मातालाई भने घाटा हुन्छ । एकल प्रदर्शनमा फाइदा हुने जान्दाजान्दै पनि कतिपय निर्माता फिल्म जुधाउँदा राम्रो चलचित्रलाई के असर पर्छ भने तर्क गरिरहेका छन् ।'सिनेमा चलाउनु ठूलो कुरा होइन जति ब्यावसाय ठूलो हो' निर्माता संघका कार्यकारी सदस्य जयप्रकाश रिजाल भन्छन् 'यसले नेपाली चलचित्रको भविष्य सुधारोन्मुख देखिदैंन निर्माताहरु बीचमा समझदारी छैन र आफ्नो फिल्म तगडा रहेको दावी गरिरहेका छन् ।' प्रदर्शनको यो अनियमितताले नकारात्मक सन्देश प्रवाह हुने र नयाँ आउने निर्मातालाई हतोत्साही तुल्याउने उनको धारणा छ । निर्माता तथा वितरक सुनिल मानन्धरको विश्लेषणमा नेपाली चलचित्रले अहिलेजस्तो संकट कहिल्यै भोगेको थिएन ।

0 comments:

Post a Comment