गंगाजल र धोवीघाटको असर चिनोमा

मेरोसिनेमा काठमाण्डौं ७ माघ ,
निर्देशक शोभित बस्नेतका लागि दोस्रो साता चुनौतिपूर्ण हुनसक्छ । कारण -शुक्रबारदेखि उपत्यकामा प्रदर्शन थालेको 'गंगाजल'ले बस्नेत निर्देशित 'चिनो'को प्रभावलाई ओपनिङमै न्यून तुल्याइदिएको छ । क्यूवका १३ थिएटरबाट प्रदर्शन थालेको 'गंगाजल'ले डीसीएन सर्भरको 'चिनो'को कलेक्सनमा बाधा पारिदियो । किनभने दुवै चलचित्रका हिरो बिराज भट्ट हुन् र स्वभाविकरुपमा बिराजका दर्शकहरु बाँडिएका छन् ।
प्रमोद भण्डारी निर्देशित 'गंगाजल'ले मोफसलमै बस्नेतको अघिल्लो प्रोजेक्ट 'कन्यादान'लाई धक्का दिएको थियो । फलस्वरुप 'कन्यादान'ले दुवै थिएटरमा कलेक्सन ग्राफ उकाल्न सकेन र फ्लप भयो । अब पालो उपत्यकामा । उही 'गंगाजल' र उही निर्देशकको पछिल्लो प्रोजेक्ट । ओपनिङका दुइदिनमा करिब ३० लाखको ग्रस बटुलेको 'चिनो'ले सप्ताहन्तको पहिलो दिन कलेक्सनमा जोड दिन सकेन ।उस्तै कथा र उस्तै मेकिङ ट्रेन्डका यी दुई चलचित्रको प्रतिस्पर्धाले दुवैको ब्यापारमा कठिन हुने पक्का छ जुन तथ्य शुक्रबार देखापर्‍यो । शुक्रबारै रिलिज भएको बलिउड स्टार आमिर खानको सिनेमा 'धोवीघाट' पनि चिनोका लागि चुनौतिपूर्ण बन्यो । किनभने कतिपय डीसीएन सर्भरका सिनेमा हलले 'चिनो' उतारेर आमिर खानको 'धोवीघाट' प्रदर्शन गरेका छन् । निर्देशक बस्नेतका लागि दोस्रो साताको बाटो सजिलो हुनेछैन ।

0 comments:

Post a Comment