कोमलले नचाइन् दङ्गालीलाई

गजेन्द्र बोहरा, दाङ फागुन १४- के बुढा, के तन्नेरी अनि के केटाकेटी, सबै कम्मर मरकाई-मरकाई नाचे, ताली पिटे, सिट्ठी बजाए। जसरी कलाकारले मञ्चबाट दर्शक तताए, त्यसैगरी दर्शकले पनि कलाकारलाई हौस्याए। पच्चिस रुपैयाँ तिरेर महोत्सवमा छिरेका ५०औं हज्जार दंगेलीले त्यसको भरपुर मनोरञ्जन लिए। चर्चित गायिका कोमल ओलीले'तुलसीपुरमा म जाँदाखेरी ....' भनि नसक्दै भीड उठेर छम्किन थालेपछि केहीबेर त प्रहरीले लाठी चार्जसमेत गर्नुपर्‍यो फागुन ६ गते घोराहीमा सुरु भएको राप्ती पर्यटन महोत्सवमा शनिबार अत्यधिक दर्शक ओइरिए, कारण थियो लोकप्रिय गायिका कोमल ओलीलाई सुन्ने। शुक्रबार महोत्सवमा एकैछिन देखिएकी गायिका ओलीले एउटामात्रै गीत गाएर अरु गीत सुन्न शनिबारलाई निम्तो दिएकी थिइन्।दिउँसो १२ बजेदेखि नै मञ्चमा देखापरेकी ओलीको भाकासँगै उठेका दंगेलीका लाखौं हातहरु दिनैभरि उठिरहे, भाकामा भाका मिलाइरहे। 'झ्वाँक तन्नेरी..., पोइल जान जाम्... जस्ता गीतहरु गाएर चर्चा कमाएकी ओलीले शनिबार दिनैभरि दंगेली दर्शकलाई छमछमी नचाइरहे। दर्शकदीर्घामै पुगेर आफैं छम्किएर दर्शकको मन तान्ने खुबी भएकी ओली आफैंलाई भीड थाप्नसमेत मुस्किल पर्‍यो।ओलीको गृह जिल्ला दाङ नै हो। केही वर्षअघि उनले तीजका अवसरमा सार्वजनिक गरेको 'पोइल जान पाम्...' भन्ने गीत भने उनले यहाँ गाउन मानिनन्, कारण थियो दाङका अधिकारकर्मी महिलाले उक्त गीत भएको एल्बम जलाएका थिए भने, स्थानीय एफएम रेडियोमा समेत उक्त गीत बन्देज लगाइएको थियो। 'तपाईंहरुले नै मेरो उक्त एल्बम जलाउनुभएको हो, त्यसैले मैले त्यो गीत यहाँ गाउन सक्दिनँ' उनले मञ्चबाटै दर्शकलाई भनिन्, तर 'मेरा अरु सबै गीतहरु यहाँ सुनाउँछु।'शनिबार यहाँ गायक शिशिर योगी, नवीन पौडेल, रेणु विष्टलगायतका कलाकारले समेत प्रस्तुती दिएका थिए। महोत्सवमा दर्शक तान्न आयोजकले दिनदिनै विभिन्न विधामा ख्याती कमाएका गायक तथा कलाकारलाई ल्याइरहेका छन्। महोत्सवकै मञ्चबाट लोकगायक बद्री पंगेनी, हेमन्त शर्मा, किरण केसीलगायतका कलाकारले प्रस्तुती दिइसकेका छन्।

0 comments:

Post a Comment