चटपटे स्वादमा स्वर

काठमाडौ, माघ २३ - प्रेमकथामा आधारित फिल्मको सूत्र नै मान्न सकिन्छ, विपरीतलिंगी प्रतिको आकर्षण त्यसपछि क्रमशः बढ्दै गरेको प्रगाढ प्रेममा मध्यभागमा पुग्दा अवरोध । त्यस्तो अवरोध जातीय, वर्गीय बेमेलले निम्त्याएको होस् या कुनै भवितव्य । अधिकांश फिल्मको मुख्य विषयवस्तु नै प्रेम हुने भएकाले पनि कथाहरु दोहोरिएझैं लाग्छ ।प्रशन्न पौडेलले एमआरएस मुभिजको ब्यानरमा बनाएको पहिलो फिल्म 'स्वर' सांगीतिक पृष्ठभूमिमा बनेको प्रेमपरक फिल्म नै हो । भविष्यमा प्रसिद्ध गायक बन्ने सपना देख्ने स्वप्निल कलेजकै सोनी (बेस गिटारिस्ट), जिया (लिड गिटाररिस्ट), जय (किबोर्डिस्ट) र आकाश (ड्रमर) सहितको 'स्वर' ब्यान्डको भोकलिस्ट हुन् ।सपनामै जीवन देख्ने स्वप्निलको समूह अन्तर कलेज ब्यान्ड प्रतियोगिता जितेर त्यसलाई साकार बनाउन तल्लीन भइरहेकै बेला कलेजकी नयाँ छात्रा निशा स्वप्निलको जीवनमा प्रेमको टुसा उमार्न आइपुग्छे । सौतेनी आमाको काखमा हुर्केको स्वप्निलले निशालाई पाउन पारिवारिक सास्ती बेहोर्नुपर्दैन, दुवैपक्षबाट ।दुई घन्टा लामो फिल्मले मध्यभागसम्म दर्शकलाई रमाइला उपकथामार्फत मनोरञ्जन दिइरहन्छ । फिल्ममा कलेज विद्यार्थीका रूपमा देखिएका पात्रको चटपटे गफ र व्यवहार स्वाभाविक लाग्छन् र फिल्मको बलियो पक्ष पनि । तर दोस्रो भागपछि फिल्मले आफ्नो स्वाभाविक लिक छोड्न पुगेको छ । छोराको करिअरको चिन्ता गर्ने भनिएकी आमाले स्वप्निल सांगीतिक क्षेत्रमा लागेको रुचाउँदिन र घरबाट निकालिदिन्छे, जुन स्वाभाविक देखिँदैन ।'स्वर' ब्यान्डले प्रतियोगिता जितेर चर्चा चुलिन थालेपछि आमाको मन फर्किन्छ तर स्वप्निल र्फकन सक्दैन । कारण- लाइभ कन्सर्ट दिइरहेका बेला केही व्यक्तिले आक्रमण गरेपछि टाउकोमा लागेको गम्भीर चोटले ब्रेनह्याम्ब्रेेजको सिकार बन्छ । जुनसुकै बेला आफू मर्ने थाहा पाएको ऊ त्यसपछि सबैबाट एक्लिन खोज्छ, जुन प्रयास नै प्रेमको बाधक बनेर देखापर्छ र आमकथाकै पुनरावृत्ति झल्काउँछ ।अच्युत अधिकारीको पटकथा/संवाद रहेको'स्वर'ले वियोगान्त कथा बोके पनि दर्शकमा उति सारो मर्मस्पर्श गर्न भने सकेको छैन ।बरु आकाश,जय,मोहन,लुते डनले फिल्ममा हास्यरस थपेका छन् भने भूतपूर्व सिपाहीको भूमिकामा देखिएका सुनिल थापाको चरित्र पनि रमाइलो छ ।अभिनयमा पात्रहरु सुहाएका छन् ।तर स्वप्निलको भूमिकामा देखिएका राजबल्लभ कोइरालाको अभिनय कतिपय दृश्यमा कृत्रिम लाग्छ । भावुक अभिनयमा उनको पकड गुमेको छ ।बरु 'स्वर' बाटै डेब्यु गरेका केकी अधिकारी, बेनिसा हमाल, अमित पोखरेल, जोयश पाण्डे, रिमा विश्वकर्माको अभिनयमा खासै खोट छैन फिल्मको सकारात्मक पक्ष यसको संगीत पनि हो । संगीतमा विशेष ध्यान दिइएको 'स्वर'का गीतहरु भूपेन्द्र खड्काले लेखेका हुन् जसलाई सुगम पोखरेल र सत्य-स्वरूपराज आचार्यले संगीत तथा स्वर दिएका छन् । अञ्जु पन्त, थुप्तेन भुटिया, मिङमा शेर्पा र सन्तोष लामाले पनि 'स्वर'का गीतमा स्वर भरेका छन् । फिल्ममा नृत्यका अलावा 'फाइट सिक्वेन्स' ले पनि रमाइलो बनाएको छ । तर यी सबै फिल्मको पहिलो भागपछि क्रमशः टुट्दै जान्छन् ।कथालाई नयाँ मोड दिन फिल्ममा 'स्वर' ब्यान्डमाथि सांघातिक हमला गराइएको छ, जुन कसले, किन र केका लागि गर्‍यो भन्ने कहीँकतै पुष्टि हुँदैन । केवल मुख्य पात्रलाई प्रेमको वियोग चखाएर दर्शकको सान्त्वना बटुल्न 'ब्रेनह्याम्ब्रेज' को प्रपञ्च रचिँदा फिल्मले दर्शकसँग भावनात्मक सम्बन्ध राख्न सकेको छैन ।

0 comments:

Post a Comment