केकी अधिकारी (नायिका)

परीक्षा भन्ने शब्दसँग नै मलाई डर लाग्छ । हुन त म स्कुलदेखि अहिले स्नातक तहसम्म आइपुग्दा राम्रो विद्यार्थीमा चिनिएकी छु तर पनि परिक्षाभन्ने बित्तिकै मलाई ज्वरो नै आउँछ । साथीहरू परीक्षा आउनुभन्दा दुई-तीन महिनाअघिदेखि नै तयारी गर्छन्, तर मचाहिं परीक्षा प्रारम्भ हुनुभन्दा ठ्याक्कै एक महिनाअघिदेखि मात्र राम्रोसँग पढ्छु । परीक्षाको तयारीका लागि मेरो आफ्नै तरिका छ । म कुनै पनि विषयको सबै च्याप्टर पढ्दिनँ । परिक्षामा प्रश्न सोधिन सक्ने सम्भावित च्याप्टर मात्र पढ्छु ।संयोज कस्तो जुरेको छ भने कक्षा एकदेखि स्नातक तहको सातौं सेमेस्टरसम्म आइपुग्दा मैले अनुमान गरेका प्रश्नहरू नै परीक्षामा आइरहेका छन् । यस अर्थमा म आफूलाई निकै भाग्यमानी मान्छु । विद्यालयमा म जहिले पनि प्रथम हुन्थें । प्रायः डिस्टिङ्सन नै आउँथ्यो । एसएलसीमा पनि मेरो ८४ प्रतिशत अंक आएको थियो भने विज्ञान संकाय पढेर मैले प्लस टुमा ७५ प्रतिशत अंक ल्याएकी थिएँ । अहिले म इन्फरमेसन म्यानेज्मेन्टमा स्नातक गर्दैछु । छैटौं सेमेस्टरसम्मको अंक पनि राम्रै छ ।मैले अभिनय गरेको पहिलो चलचित्र 'स्वर' गत शुक्रबारदेखि प्रदर्शन हुनुलाई भने मैले करियरकै परीक्षाका रूपमा लिएकी छु । शुक्रबारभन्दा अघि म रातभरी सुत्न सकेकी थिइनँ । चलचित्रलाई दर्शकले कस्तो रूपमा लिने हुन् ? मेरो अभिनय दर्शकलाई मन पर्छ कि पर्दैन ? जस्ता कुरा सोच्दा-सोच्दै रात बित्थ्यो । अहिले म नारायणघाट आइपुगेकी छु । यहाँका सिनेमा हलहरूमा 'स्वर' हेर्न आउने दर्शकको भीड देख्दा करियरको परीक्षामा पनि म विशिष्ट श्रेणीमा उत्तीर्ण भएँजस्तो लागेको छ । 'स्वर'लाई युवापुस्ताले मन पराउनेछन् भन्ने हाम्रो अनुमान थियो, तर काठमाडौंबाहिरका प्रायः सबै उमेरका दर्शकले यसलाई मन पराए । हजुरआमा, छोरी तथा नातिनी अर्थात् तीन पुस्ताका दर्शकले एकै ठाउँमा बसेर यो चलचित्र हेरेको पनि देख्यौं । चलचित्र हेरेर बाहिरिएका दर्शकहरूले मेरो मात्र होइन, अन्य कलाकारको अभिनय पनि मन पराएको प्रतिक्रिया पाएका छौं । यसले गर्दा हामी सीमित स्रोत तथा साधनमा समेत राम्रो चलचित्र निर्माण गर्न सक्छौं भन्ने प्रमाणित भएको छ । आज शुक्रबारदेखि काठमाडौंका दर्शकहरूमाझ म अर्को परीक्षा दिँदैछु । काठमाडौंका दर्शकले पनि मलाई मोफसलमा झैं मन पराएँ भनेचाहिं म करियरको परीक्षामा पनि उत्तीर्ण भएँ भन्ने सोच्नेछु । काठमाडौं मात्र होइन, पोखरा, धरानजस्ता सहरका दर्शकलाई यो चलचित्र अझ बढी मन पर्नेछ भन्ने कुरामा म विश्वस्त छु ।

0 comments:

Post a Comment