महङ्गो फिल्मी गीत !

नेपाली चलचित्रमा पहिलोपटक स्वदेशमै रेकर्डिङ गरि महङ्गो बजेटमा चलचित्रको गीत तयार पारिएको छ । मेगाप्रोजेक्टको सांगीतिक चलचित्र 'स्वर'को संगीत तयार पार्न पाँच लाख लगानी गरिएको छ । यो चलचित्रको गीतमा गरिएको लगानीले तीनवटा साधारण चलचित्रको संगीत तयार पार्न सकिन्छ । 'स्वर'को ६ गीतमा सत्य-स्वरुप र दुई गीतमा सुगम पोखरेलले संगीत दिएका छन् ।

तयार गीतको एल्बमलाई लगानीको झन्डै दोब्बर मूल्यमा 'टु इयस्र' म्युजिक कम्पनीलाई बेचिएको छ । कम्पनीले अडियो वितरण र विक्री गर्नेछ । 'स्वर'को संगीत भर्ने संगीतकार, स्टुडियो, एरेन्जर, गायकगायिकालाई पनि महङ्गो पारिश्रमिक दिइएको छ । चलचित्रमा आठ गीत छन् जसलाई ६ महिना लगाएर गीतकार भूपेन्द्र खड्काले लेखेका थिए । 'सांगीतिक फिल्म भएकाले गीतले नै कथालाई अघि बढाउँछ' खड्काले भने 'गीत गुणस्तरका लागि कुनै कम्प्रोमाइज गरिएको छैन ।'

गीतमा सत्य-स्वरुप, सुगम पोखरेल, अन्जु पन्त, थुप्तेन भुटिया, मिङ्मा शेर्पा, सन्तोष लामा, प्रीति कौर, इन्दिरा जोशीले स्वर दिएका छन् । चलचित्रका परिकल्पनाकार समेत रहेका खड्काले सांगीतिक चलचित्र भएकाले फिल्मले नेपाली चलचित्रको धारलाई नै परिवर्तन गर्ने बताए । 'फिल्मको संगीतबाट निकै आशा गरिएको छ' उनले भने 'रेगुलरजस्तो जस्तो संगीत नभएर पूर्वीय-पश्चिमी संगीतलाई पस्किइएको छ ।' चलचित्र 'स्वर' मंसिर पहिलो साता रिलिज हुँदैछ ।

0 comments:

Post a Comment