छोडी गएलाई सात, दासढुंगालाई चार

उज्ज्वल घिमिरेको निर्देशनमा गत वर्ष सार्वजनिक भएको चलचित्र 'छोडी गए पाप लाग्ला' ले एकै फड्कोमा सातवटा एवार्ड पोल्टामा पारेको छ भने यसै साता मात्रै सार्वजनिक हुन लागेको मनोज पण्डित निर्देशित चलचित्र ' दासढुंगा' ले भने चारवटा एवार्डमा अधिकार जमाएको छ । चलचित्र विकास बोर्डद्धारा सोमबार आयोजित राष्ट्रिय चलचित्र पुरस्कार वितरण समारोहमा उनीहरुले उक्त एवार्ड पाएका हुन् । व्यवस्थापिका संसद्का सभामुख सुवास नेम्बाङबाट 'छोडी गए पाप लाग्ला' लाई सर्वोत्कृष्ट चलचित्र, निर्देशक, अभिनेत्री, छायांकार, पाश्र्वगायक, पाश्र्वगायिका र संगीतकार तथा 'दासढुंगा' लाई अभिनेता, सम्पादक, सहअभिनेता र स्पेशल जुरी एवार्ड वितरण गरियो ।

चलचित्र विकास बोर्डद्वारा जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित 'राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह-०६७' मा छ विधामा ०६३ सालको राष्ट्रिय चलचित्र पुरस्कार, १९ विधामा ०६५ सालको राष्ट्रिय चलचित्र पुरस्कार, १९ विधामा ०६६ सालको राष्ट्रिय चलचित्र पुरस्कार, पाँच विधामा ०६५ को आदिवासी जनजातिका मातृभाषामा बनेका चलचित्र पुरस्कार, पाँच विधामै नै ०६६ को आदिवासी जनजातिका मातृभाषामा बनेका चलचित्र पुरस्कार प्रदान गरिएको थियो । यसका साथै समारोहमा चालिस वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रियताका आधारमा निर्माता उद्धव पौडेललाई नगद दुई लाख रुपैयाँ, कदर पत्र तथा दोसल्लासहितको 'दीर्घ साधना सम्मान' प्रदान गरिएको थियो । उक्त अवसरमा चलचित्र क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएवापत विश्वज्योति सिनेमा भवनका सञ्चालक तथा चलचित्र व्यवसायी मोहन सर्राफलाई विशेष सम्मान गरियो ।

0 comments:

Post a Comment