आर्यन सिग्देल (जम्का भेट)


आर्यन सिग्देलका चलचित्र हेर्न अहिले काठमाडौंका मल्टिप्लेक्स पुगे हुन्छ। विशेष गरी गोपीकृष्ण मुभिजमा उनी नायक भएका तीनवटा चलचित्र एकसाथ प्रदर्शन भैरहेका छन्। १५-१५ दिनको अन्तरालमा आर्यनकै मुख्य भूमिका रहेका तीन चलचित्र 'द फ्ल्यास ब्याक’, 'फस्ट लभ’ र 'कोही मेरो’ सार्वजनिक भए। तीनवटै चलचित्रमा उनलाई दर्शकले रुचाए। यद्यपि अनुमानविपरीत आर्यन अनेकौं चलचित्रको छायांकनमा व्यस्त छैनन्। पछिल्लो पुस्ताका सर्वाधिक चर्चामा रहेका नायक आर्यन दर्शकबाट मन पराइए पनि निर्माता-निर्देशकहरूले धमाधम आफ्ना चलचित्रमा किन लिएनन् ? उनका सामु पनि यो प्रश्न तेर्सिएको छ। त्यसका अतिरिक्त आर्यनले धेरै पढेका छैनन्, महिला र रक्सी भनेपछि हुरुक्कै हुन्छन् जस्ता हल्ला पनि सुन्नुपरेको छ। काठमाडौं थानकोटनिवासी यी अविवाहित नायक हाल सहरको बीचोबिच एउटा सानदार फ्ल्याट भाडामा लिन खोजिरहेका छन्।

थानकोट त नजिकै छ नि, फेरि किन भाडाको फ्ल्याट खोज्दै हुनुहुन्छ ?

फिल्म खेलेर त्यति कमाउन सकेको छैन कि घरै बनाउन सकूँ । कहिले सुटिङ, कहिले डबिङ, मानिसहरूसँग भेटघाटजस्ता काममा व्यस्त हुँदा घर पुर्‍याउनेलाई पनि टाढा र आफूलाई पनि सुविस्ता नहुने भएकाले धेरै अघिदेखि लाजिम्पाटमा फ्ल्याट लिएर बस्न थालेको थिएँ । फेरि म सहरको रमझममा रमाउने प्रकृतिको छु । फुर्सद भयो कि म रातभरि सहर डुलिरहन सक्छु । त्यसैले पनि सहरभित्रै फ्ल्याट लिएर बस्दा सहज हुन्छ । अहिलेको भन्दा अलिक राम्रो फ्ल्याट खोजिरहेको छु ।

रक्सी पिउन र केटी साथीहरूसँग समय बिताउन पनि रमाइलो मान्नुहुन्छ रे ?

पिउनु मेरो बानीचाहिँ होइन, फिल्म सर्कलमा पिउँदा र पिलाउँदा साथीभाइहरू बढेको पाएको छु । मेरो आशय सबै साथी पिएकै भरमा बनेका हुन् भन्नेचाहिँ होइन । फुर्सदका बखत कतै बसेर अलिकति पिउँदा आनन्द महसुस गर्छु । जहा 'सम्म केटी साथीहरूसँग समय बिताउने कुरा छ । त्यसलाई यसो पनि भन्न सक्नुहुन्छ नि, केटीहरू आर्यनसँग समय बिताउन रमाइलो मान्छन् र म उनीहरूको इच्छा पूरा गरिदिन्छु ।

तीनवटा चलचित्र एकपछि अर्को प्रदर्शनमा आएर सफल मानिएपछि तपाईंलाई आफ्ना चलचित्रमा लिन निर्माता/निर्देशकहरू लाम लागेका होलान्, होइन ?

फोन आउँछ, भेटघाट पनि हुन्छ, तर म एउटा सेड्युलमा एउटा मात्र चलचित्रमा व्यस्त हुन चाहन्छु । त्यसो गर्दा म एउटा चलचित्रको छायांकन अवधिभर त्यही 'क्यारेक्टर'लाई आफूमा उतारिरहन सक्छु, जसले गर्दा मेरो अभिनयकला पदार् मा अझ निखारिन्छ । फेरि मलाई थोकको भाउमा चलचित्र साइन गरेर आफूभित्र रहेको प्रतिभालाई सस्तो बनाउने रहर छैन । छानेर मात्र चलचित्र खेल्छु ।

त्यसो गर्दा घाटा लाग्दैन त ? हिट हिरोलाई पारिश्रमिक निकै दिन्छन् । पैसा कमाउन पनि प्रस्ताव आएका चलचित्रहरू साइन गर्दा के नै बिग्रन्छ र ?

मेरा दुई-चारवटा चलचित्रले सफलता पाए भन्दैमा म तपाईंले भनेजस्तो हिट हिरोचाहिँ होइन । फेरि मैले पैसा कमाउन अभिनय पेसा रोजेको पनि होइन । पैसा कमाउन व्यापार व्यवसायमा लाग्न सक्थें । मभित्र अभिनयको लालसा छ, त्यही पूरा गर्दैछु ।

प्रदर्शनमा आएका तीन चलचित्रमध्ये तपाइँलाई कुन मन पर्‍यो ?

यही नै मन परेको छ भनेर कसरी भन्न सक्छु र ? भर्खरै प्रदर्शनमा आएको 'कोही मेरो' आलोकको चलचित्र भएकाले उसको काम गर्ने शैलीको म फ्यान नै थिएँ । त्यो चलचित्र राम्रो बनेको छ । 'फस्टलभ'ले त सफलताको रेकर्ड तोड्यो भन्ने सुन्दैछु । दर्शकले हामीलाई माया गरेका रहेछन् । 'द फ्ल्यास ब्याक'मा मलाई हेरेका दर्शकले चलचित्रमा मेरो अभिनय मन परेको कुरा सुनाउँदा मनै आनन्दित हुन्छ । आउनै लागेका 'कसले चोर्‍यो मन' र छायांकन भैरहेका 'मेरो लभस्टोरी' र 'आई एम सरी'मा मैले आफूलाई अझ निखारेको छु ।

0 comments:

Post a Comment