फेरि अर्को प्रेमकथा

प्रेममा जति साहित्य वा फिल्म सायदै अन्य विषयमा लेखे/बनेका होलान् । तर पनि प्रेम रहस्यमयी नै छ । प्रेमका विभिन्न आयाममा अझै पनि बहस जारी छ । यसै मेसोमा शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म 'तिम्रो मायामा'ले पनि 'विद्यार्थी जीवनमा प्रेम गर्नु ठीक हो वा होइन' भनी देखाउन थालेको छ । राजेश विश्वकर्माको लेखन तथा निर्देशन रहेको फिल्ममा कलेजमा पढ्दै गरेका विवेक (उत्तम प्रधान) र पुनम (उषा पौडेल) तथा गोपाल (दिवस बस्नेत) र अनिता (स्मृति स्वर्णकार) बीचको मित्रता विभिन्न परिस्थितिले गर्दा घनिष्ठ प्रेममा बदलिन्छ । गोपाल र अनिता दुवै अनाथ भएकोले जसरी एक-अर्काको सहारा तत्काल स्वीकार्छन् र प्रेमलाई विवाहमा परिणत गर्छन् । विवेक र पुनमको परिस्थिति केही भिन्न छ । पुनम डाक्टर बन्ने अभिलाषा बोकेर गाउँदेखि सहरमा पढ्न आएकी हुन्छे भने सानैमा बाबुआमा गुमाएको विवेक पनि सोही कलेजमा पढिरहेको हुन्छ । पढाईमा दत्तचित्त पुनम प्रेमसम्बन्धलाई त्यति महत्त्व दिन्न किनकि ऊ सोच्छे, 'पढेर केही गर्नु छ, केही बन्नु छ ।'

तर उसको कोमल मनलाई चाँडै नै विवेकले साथीको सहयोगमा पगाल्न सफल हुन्छ र अन्तिम पलसम्मको साथको वचन पाउँछ । तर उनीहरूको सम्बन्धमा तब विचलन आउँछ जब बाबुआमाले पुनमको बिहेका लागि छुट्टै केटोलाई चुन्छन् । उनीहरूका लागि क्यानडामा बस्ने इन्जिनियर केटोका अगाडि अनाथ, गरिब र जागिर नभएको विवेक तुच्छ ठहरिन्छ । आखिर अभिभावक र छोरीबीचको वैचारिक द्वन्द्वले नै फिल्मलाई चरमोत्कर्षमा पुर्‍याउँछ ।

उता अभिभावकको करकापमा जनैसुपारी गरिसकेको केटोले पनि अन्ततः आफ्नै प्रेमिकालाई विवाह गरेको खबर पुनमका बाबुआमाले पाएपछि भने कथाले नयाँ मोड लिन्छ । त्यसपछि पश्चतापमा परेका बाबुआमाले छोरीले नै रोजेको केटासँग बिहेका लागि सहमति नआउँदा ढिलो भइसकेको हुन्छ । सुदीक्षा चलचित्र निर्माण कम्पनीको ब्यानरमा केही वर्षअघि नै सुरु गरेर बीचमा रोकिएको फिल्म 'तिम्रो मायामा' ले उठाएको विषय फिल्म ढिलो गरी रिलिज भए पनि पुरानो लाग्दैन, जति यसको प्राविधिक पक्षमा टड्कारो खडकन्छ । पुरानो प्रविधिमा खिचिएकाले फिल्मको दृश्य समय सुहाउँदो लाग्दैन भने ध्वनि पनि स्पष्ट सुनिँदैन । फिल्म प्राविधिक रूपमा पछि परे पनि कथावस्तु र प्रस्तुतिले भने फिल्मलाई केही हदसम्म पुरानो हुनबाट रोकेका छन् । मुख्यतः दुई पात्र विवेक र पुनममा नै घुमेको फिल्मको पटकथा खास उल्लेख्य छैन । कथा र त्यसमा पात्रले गरेका अभिनयले दर्शकलाई भावनामा डुबाउन सफल देखिएको छ । कुमार/कुमारको द्वन्द्वनिर्देशनमा नयाँ प्रयोग केही छैन भने गीत/संगीत उति सारो श्रुतिकर लाग्दैन र कथाअनुरूप पनि बगेको देखिँदैन ।

तर फिल्ममा पात्रले गर्ने संवाद र तिनका विचार ओजिलन्छन् । फिल्मले प्रेम गर्दैमा भागेरै बिहे गर्नुपर्ने परिपाटीको विरोधी मुख्य पात्रहरू अभिभावककै सहमति खोज्ने प्रयासमा भोगेको पीडालाई एकातिर देखाएको छ भने प्रेमलगत्तै आफ्नै निर्णयमा विवाह गरेपछि सुखी बनेको अर्को जोडीको पटकथाले फिल्मको आशय झल्काएको छ । कथामा खासै नौलो केही नलागे पनि यसको प्रस्तुतिले भावनात्मक स्वभावका दर्शकका लागि फिल्म राम्रै लाग्न सक्छ । तरँनयाँ प्रविधिमा फरक धारका फिल्म आइरहेको बजारमा फिल्म 'तिम्रो मायामा' को प्रतिस्पर्धा भने कठिन हुन सक्छ ।

0 comments:

Post a Comment