
१६ वर्ष मुनिका दर्शकले हेर्न नहुने भनि प्रचारप्रसार गरिएको चलचित्रका दर्शकहरु कम उमेरका धेरै थिए । विश्वज्योति हल संचालक मोहन सर्राफका अनुसार सर्टिफिकेटले जे भनेपनि सबै उमेरका दर्शकहरु फिल्म हेर्न आएका थिए । '१६ वर्ष मुनिका दर्शक नै बढि थिए' सर्राफले भने 'सेन्सर बोर्डले दिएको सर्टिफिकेटको अर्थ छैन आफ्नो अनुमति आफै कार्यान्वयन गर्न नसक्ने बोर्डको संयन्त्र निष्प्रभावी छ ।' चलचित्र निर्देशक उकेश दाहालले पनि सबै उमेरका दर्शकले आफ्नो फिल्म रुचाएको बताए । गुण र अष्टनारायण मल्टिप्लेक्समा पनि राम्रो ओपनिङ गरेको 'पलपलमा' हेर्न आउने दर्शकहरु कम उमेरका धेरै छन् । 'आधाभन्दा बढि दर्शक सोह्र वर्ष उमेरको सेरोफेरोमा छन्' गुण मल्टिप्लेक्सका महेश शाक्यले भने 'फिल्म हेर्न आउँदा कसले उमेर सोधिखोजी गर्छ र ?' निर्देशक समाजका अध्यक्ष केपी पाठकले सर्टिफिकेटका लागि सर्टिफिकेट दिने कार्य बन्द गर्न बोर्डसँग आग्रह गरे । 'कार्यान्वयन गर्ने संयन्त्र तयार नपारिकन सर्टिफिकेट मात्र दिएर हुँदैन' उनले भने ।
0 comments:
Post a Comment