पलपलमा

राहुल, आदित्य, विवेक तथा देव एउटै कलेजमा पढेका साथी हुन् । विशेषगरी राहुल र आदित्यबीच गहिरो मित्रता छ । उनीहरू काठमाडौंको एउटा टोलमा सँगै बस्छन् । विद्यार्थी जीवन, त्यसमाथि काठमाडौंको 'हाइफाई' जीवनले उनीहरूलाई आकषिर्त गरिरहेको हुन्छ । पैसाको अभावमा उनीहरू आफ्ना इच्छा पूरा गर्न सक्दैनन् । अनायास उनीहरू एउटा रहस्यमय काम गर्न थाल्छन् । यी दुई साथी सम्पन्नतातर्फ बढ्छन्, तर एक-अर्कासँग आफ्नो काम लुकाउँछन् । कलेजमा संगीता र विवेक एक-अर्कालाई प्रेम गर्छन्, तर संगीतालाई देवले पनि मन पराउँछ । धनाढ्य आमा रस्मिलाकी धर्मपुत्री मालिनी राहुलकी प्रेमिका हुन् । पैसाको अभावमा पनि आफूलाई गरिब भन्न नरुचाउने राहुलले रातारात पैसाको खोला बगाउन थालेपछि उनी चकित छिन् । धनी परिवारकी अत्याधुनिक युवती मोनिका आदित्यको व्यक्तित्वबाट निकै प्रभावित छिन् । चलचित्र 'पलपलमा' आठ जना चरित्रको वरपर जेलिएको छ । प्रेमका विभिन्न स्वरूप यो चलचित्रमा हेर्न पाइने निर्देशक उकेश दाहालले बताएका छन् । हरिहर आचार्यले निर्माण गरेको चलचित्र ' पलपलमा'लाई केन्द्रीय चलचित्र जाँच समितिले वयस्क चलचित्र मानेर 'ए ग्रेड'को सर्टिफिकेट दिएको छ । महेश खड्काले संगीत दिएको यो चलचित्रको एउटा गीत 'यो अँगालोभरिको माया' प्रदर्शनअगावै चर्चामा छ । द्वन्द्वका एउटा पनि दृश्य नभएको यो चलचित्रमा दिलीप रायमाझी, रमित ढुंगाना, सुमन सिंह, विक्रान्त बस्नेत, रूपा राना, सुजाता सिटौला, उषा पौडेल तथा शशी खड्काको मुख्य भूमिका छ ।

0 comments:

Post a Comment