'दासढुंगा'को विशिष्ठ प्रीमियर



विशिष्ठ जमघटका बीच बहुप्रतीक्षित चलचित्र 'दासढुंगा'को प्रीमियर गरिएको छ । विहिबार विहान राजधानीको कुमारी सिनेमा घरमा गरिएको प्रीमियरमा राजनीतिक दलका बरिष्ठ नेताहरु, लेखक, बुद्धिजीव, पत्रकार, अभिनेता र कुटनीतिक व्यक्तित्वहरुको सहभागिता थियो । एमाले अध्यक्ष झलनाथ खनालले चलचित्रको ब्यानर अनावरण र दीप प्रज्वलन गर्दै प्रीमियर शुभारम्भ गरे माओबादी उपाध्यक्ष बाबुराम भट्टराई पत्नी हिसिला र छोरी मानुषीसहित प्रीमियरमा उपस्थित थिए । राप्रपा अध्यक्ष पशुपतिशमशेर जबरा, एमाले महासचिव इश्वर पोखरेल, सचिव युवराज ज्ञवाली, नेता अमृतकुमार बोहरा, घनश्याम भुषाल, माओबादी नेता लीलामणी पोख्रेल, लेखनाथ पौडेललगायत सहभागी थिए । जीवराज आश्रितकी धर्मपत्नी माया ज्ञवाली छोरीसहित थिइन् । प्रधानमन्त्री माधवकुमार नेपाल र रक्षामन्त्री तथा मदन भण्डारीकी धर्मपत्नी विद्यादेवी भण्डारीले भने एकसाताभित्र चलचित्र हेर्ने जानकारी निर्देशक मनोज पण्डितले दिए ।


प्रीमियर समारोहमा बोल्दै निर्देशक पण्डितले चलचित्र राजनीतिक रुपमा निश्पक्ष रहेको बताउँदै मनोरन्जनात्मक फिल्म नरहेको स्पष्ट पारे । सत्र वर्षअगाडिको बेवास्ता गरिएको घटनालाई नबिस्रन निर्देशक पण्डितले नेताहरुलाई चेतावनी दिए । प्रतिकि्रयामा उपस्थित बरिष्ठ नेताहरुले ताली बजाएका थिए । अतिथिहरुले हल भरिएपछि कुमारीको अर्को हलमा चलचित्र प्रदर्शनको व्यवस्था मिलाइएको थियो ।फिल्म हेरेर निस्कँदा नेताहरुको मुहार भावुक देखिन्थ्यो । फिल्म हेरिसकेपछि प्रतिकि्रया दिँदै चलचित्रप्रेमी नेता डा. बाबुराम भट्टराईले 'दासढुंगा' इतिहासको एउटा कोशेढुंगा रहेको बताउँदै घटनाको पुनः छानविनका लागि सरकारसँग आग्रह गरे । चलचित्रले नेपाली राजनीतिमा तरंग ल्याउने बताउँदै भट्टराईले आफूले हेरेको नेपाली चलचित्रमध्ये 'दासढुंगा' सर्वोत्कृष्ट रहेको चर्चा गरे । एमाले अध्यक्ष झलनाथ खनालले पनि घटनाको निश्पक्ष छानविनका लागि सरकारसँग आग्रह गरे । 'फिल्मले दर्शकसामु अक्षयप्रश्न खडा गरेको छ' खनालले भने 'घटनाको दोषी पत्ता नलाग्दासम्म अनुसन्धानलाई जारी राख्नुपर्छ ।' चलचित्र लोकतन्त्रको शक्तिशाली हतियार रहेको खनालको विश्लेषण थियो ।

0 comments:

Post a Comment