भूल भए माफ गर

चलचित्र : भूल भए माफ गर
निर्देशक : सुरेशदर्पण पोखरेल
निर्माता : शकुन्तला रसाइली
अभिनय : निखिल उप्रेती, मेलिना मानन्धर, सुरज आरडी, सन्जु परियार, सुनिलदत्त पाण्डे, गणेश उप्रेती
कथा/पटकथा : सुरज आरडी
वितरक : डिजिटल सिनेमा नेपाल
संगीत : ताराप्रकाश
छायांकन : हरि हुमागाईं
द्धन्द्ध : एनबी महर्जन
नृत्य : महेशकुमार
अवधि : २ घण्टा १५ मिनेट
बजेट : ५० लाख
रिलिज : असोज ८ (मोफसल) र मंसिर १७ (उपत्यका)
श्रेणी : फेमिली ड्रामा

प्रेमकथा, फेमिली ड्रामा र एक्सन मिश्रित चलचित्र 'भूल भए माफ गर'को सार्वजनिक प्रदर्शन शुक्रवारदेखि मोफसलबाट सुरु भएको छ । मोफसलका ३० हलबाट रिलिज भएको यो चलचित्रले बलिउड फिल्म रिलिज नहुने मेसोलाई आत्मसात गरेको छ । धमाधम लभस्टोरी फिल्म रिलिज भइरहेको बेलामा अर्को उस्तै श्रेणीको फिल्म थपिएको छ । बलिउड फिल्म रिलिज नहुने भएपछि यो फिल्मले राम्रै दर्शक सहभागिता पाउने अनुमान गर्न सकिन्छ ।

नायक समेत रहेको सुरज आरडीले निर्माण गरेको यो दोस्रो चलचित्र हो । पहिलो चलचित्र असफल भएपछि दोस्रो चलचित्रलाई व्यवसायिक रुपमा राम्रो बनाउने प्रयास गरेको आरडीको कथन छ । चलचित्रमा दीलिप रायमाझी र नन्दिता केसीको अतिथि भूमिका छ ।

चलचित्रमा चारवटा गीत छन् जसमा दीपक लिम्बु, अन्जु पन्त, मनोज सेवा, ताराप्रकाश, आस्था रावत, सरिता पन्थी तथा राजेशपायल राईले स्वर दिएका छन् । चलचित्रका निर्देशक पोखरेलको अर्को चलचित्रको छायांकनका लागि मलेसिया पुगेपछि पब्लिसिटी र अन्य काम आरडी एक्लैले गरिरहेका छन् । चलचित्रका तीन मुख्य कलाकारले पनि साथ नदिएपछि निर्माताको चिन्ता पनि बढेको छ ।

निखिल उप्रेती मुम्बईमा छन् । मेलिना मानन्धर गर्भवती भएकाले घरमै आराम गरिरहेकी छिन् भने नन्दिता केसी नयाँ चलचित्रको छायांकनमा व्यस्त छिन् । अधिकांश छायांकन पोखरामा गरिएको यो चलचित्रको पोस्टर प्रदर्शन अगावै चर्चामा आइसकेको छ ।

चलचित्रमा प्रेम, कमेडी, एक्सन र पारिवारिक कथालाई समेटिएको छ । डीसीएन सर्भर अन्तर्गतका हलहरुमा यो फिल्म चल्दैछ । प्रायः हिन्दी मात्र चलिरहने वीरगन्ज, जनकपुर र राजविराजका हलहरुमा पनि 'भूल भए माफ गर'ले प्रदर्शनको मौका पाएको छ

0 comments:

Post a Comment