कलिउडमा महङ्गो लडाइ

नेपाली चलचित्र (कलिउड)मा पनि महङ्गा सिनेमा निर्माणको प्रतिस्पर्धा सुरु भएको छ । शिब श्रेष्ठ र मोहन सर्राफले झन्डै करोड लगानीको सिनेमास्कोप चलचित्र 'राँको' बनाएर सुरु गरेको यो म्याराथनमा अन्य निर्माताहरुले उनलाई उछिन्ने प्रयास गरिरहेका छन् । भलै 'राँको'ले लगानी उठाउन त सकेन तर यसले मेगाप्रोजेक्टका चलचित्रको विन्दु खडा गरिदियो ।

झन्डै २५/५० लाखको सेरोफेरोमा चलचित्र बन्ने नेपाली रजतपटमा अहिले धमाधम १ करोडभन्दा बढिका चलचित्रहरु निर्माण भैरहेका छन् । मेगाप्रोजेक्ट निर्माणको यो ट्रेन्ड जारी छ । पहिलो सर्वाधिक लगानीको चलचित्र 'राँको'लाई पछ्याउँदै झन्डै १ करोड १० लाखको प्रभुशमशेर राणाको 'मेरो एउटा साथी छ' अगाडि आयो । त्यसपछि त लहरै चल्यो । दर्शकहरु एड्भान्स हुनु र चलचित्रले व्यवसायिक आकार लिनुले निर्माताहरु चलचित्रमा करोडौं लगानी गर्न बाध्य छन् । पछिल्लो समय विशिष्ठ र एड्भान्स कथामा आधारित चलचित्र बन्नुले पनि स्वभावतः चलचित्रहरु मेगाप्रोजेक्ट बनिरहेका छन् । रेश मरहठ्ठाको निर्माणाधिन चलचित्र 'च्यालेन्ज' यस्तै एउटा महंगो सिनेमा हो जुन करोडको दौडमा छ । अहिले पोस्टप्रोडक्सनको क्रममा रहेको यो चलचित्रको खर्च झन्डै करोड पुगिसकेको छ । रेशले अर्को मेगाप्रोजेक्टको चलचित्र 'काठमाण्डू'मा अभिनय गरिसकेपछि त्यस्तै एक्सन चलचित्र होमप्रोडक्सनमा निर्माण गर्न लागेका हुन् । अमेरिकाका विभिन्न स्थानमा सुटिङ गरिएको र रेड क्यामेराले खिचिएको आकाश अधिकारी निर्मित चलचित्र 'काठमाण्डू'को बजेट पनि करोड छ ।

अर्को बहुप्रतीक्षित र मेगाप्रोजेक्टको चलचित्र 'स्वर' पनि करोडको दौडमा छ । मनिष राजभण्डारीसहितले निर्माण गरेको 'स्वर'को बजेट करोड नाघ्न थालेको छ । पहिलोपटक स्वदेशकै स्टुडियोमा रेकर्ड गरिएको 'स्वर'को संगीत पनि निकै महंगो मूल्यमा वितरक कम्पनीलाई बेचिसकिएको छ । 'हामीले गुणस्तरलाई बजेटसँग कम्प्रोमाइज गरेका छैनौं' निर्माता मनिष राजभण्डारी भन्छन् 'झन्डै बजेटले करोड नाघेको छ तरपनि हामी गुणस्तर र पब्लिसिटीका लागि बजेटलाई सीमित तुल्याउन चाहँदैनौं ।'

डा. दुर्गा पोखरेलको निर्माण र दीपेन्द्र के. खनालको निर्देशन रहको चलचित्र 'धर्मा'को बजेट पनि १ करोडभन्दा माथि छ । मनिषा कोइराला र राजेश हमालजस्ता सुपरस्टारहरुलाई लिएर बनाइएको यो फिल्म निर्देशनपछि दीपेन्द्र आफ्नै होमप्रोडक्सनमा मेगाप्रोजेक्टको फिल्म 'काठमाण्डू नाइट' निर्माणमा जुटेका छन् । उनको अपकमिङ प्रोजेक्टबाटै हिरो आर्यन सिग्देलले ६ लाख पारिश्रमिकमा साइन गरेका छन् । फिल्मको लगानी बढ्दै जाँदा स्टाररको रेट पनि बढ्छ भन्ने उदाहरण हो यो । हालै रिलिज भएको सुरज वंशल निर्मित चलचित्र 'कोही…मेरो' पनि यस्तै एक मेगाप्रोजेक्टको फिल्म हो जसमा १ करोड झन्डै लगानी भएको छ । तर, फिल्मले लगानी त उठाउन सकेन तर वंशलले महंगो चलचित्र निर्माण गरेका थिए । गोपीकृष्णले निर्माण गरेको चलचित्र 'कुसुमे रुमाल' पनि करोडको फिल्म हो । गोपीकृष्णको अर्को प्रोजेक्ट जसको नाम तय भैसकेको छैन त्यसको बजेट पनि मेगा हुने निर्माणपक्षको भनाई छ । जसलाई निर्देशन गर्दैछन् निरक पौडेलले । विक्रान्त श्रेष्ठ निर्मित फिल्म 'व्याच नम्बर १६'मा १ करोडभन्दा बढिको लगानी छ ।

नायक हुँदै चलचित्र 'च्यालेन्ज'बाट निर्माता बनेका रेश मरहठ्ठा दर्शकलाई ठग्न नहुने बताउँछन् । 'दर्शकलाई ठग्नु हुँदैन' उनी भन्छन् 'कम्पिटिसनमा जाने हो भने बजेटको लोभ गर्नुहुँदैन । फिल्म पनि बनाउन खोज्ने बजेटको लोभ पनि गर्ने हो भने कथावस्तु सस्तो र साधारण हुनुपर् यो । एड्भान्स कथावस्तुमा थोरै बजेट लगानी गर्छु भन्नु जायज हुँदैन ।' दर्शकहरु एड्भान्स भैसकेकाले अब मेगाप्रोजेक्टका मूभीहरुको लहर सुरु भएको रेशको भनाई छ ।रेशको उक्त भनाइसँग सहमत छन् निर्देशक दीपेन्द्र के. खनाल । भन्छन् 'नयाँ धारका फिल्ममा लगानी बढिरहेको छ । प्राविधिक, लोकेसन र प्रोपर्टीलाई देखाउन पनि करोडौं लगानी गरिएको छ ।' आगामी दिनमा कलिउडमा पनि मेगाप्रोजेक्टका फिल्मका ट्रेन्ड सुरु हुने उनको कथन छ । 'यो स्वभाविक हुने कुरा हो' दीपेन्द्र भन्छन् 'एड्भान्स विषयवस्तुले मेगाप्रोजेक्ट नै खोज्छ ।' थप मेगाप्रोजेक्टका फिल्महरु यसबेला कलिउडको सूचिमा छन् ।

0 comments:

Post a Comment