चारलाई कलेक्सनको चुनौती


आगामी शुक्रवार एकैसाथ चार फिल्म रिलिज हुँदैछन् । उपत्यकाबाट पलपलमा, देशब्यापी दीपशिखा र मोफसलबाट हिम्मत-टु र सिन्दुर रिलिज हुनेछन् । नेपाली महिलाहरुको उल्लासमय पर्व तीजको छेकोमा प्रदर्शन हुने यी चलचित्रबीच व्यवसायिक प्रतिस्पर्धा निकै हुनेछ । 'फस्टलभ'बाट सुरु भएको यो सिजनको फिल्मी प्रतिस्पर्धा तीजसम्म आइपुगेको छ ।रिलिजका लागि तीनदिन बाँकी छँदा निर्माताहरु अन्तिम पब्लिसिटीमा जुटिरहेका छन् । 'हिम्मत-टु'का निर्माता दीपक श्रेष्ठले त आफ्नो फिल्म हेर्न आउने दर्शकलाई टिकटसँग चलचित्रको स्टिकर टासिएको रुमाल उपहार दिने घोषणा नै गरे । हिरोइनले लेखेको फिल्म 'दीपशिखा'को प्रमोसनमा स्वयम हिरो जीवन र हिरोइन अरुणिमा व्यस्त छन् ।

गोविन्द गौतम निर्देशित चलचित्र 'सिन्दुर'को प्रमोसनमा हिरोइन जेनिसा केसी, विराज भट्ट ब्यस्त छन् । 'अन्य चलचित्रभन्दा पृथक कथावस्तुमा आधारित भएकाले चलचित्रले राम्रो व्यापार गर्नेमा ढुक्क छु' निर्देशक गौतम भन्छन् 'तीजको मनोभावनासँग चलचित्रको कथा गाँसिएको छ ।' अर्को आशालाग्दो चलचित्र 'पलपलमा' उपत्यकाबाट रिलिज हुनेछ तर कुन-कुन हलबाट प्रदर्शन हुनेछ निश्चित छैन ।पब्लिसिटी र निर्माता/निर्देशकको जानकारीलाई मूल्यांकन गर्ने हो भने यो शुक्रवार रिलिज हुने चारैवटा चलचित्रले मल्टिप्लेक्सभन्दा सिङ्गल स्क्रिनमा राम्रो कलेक्सन गर्नेछन् । निर्माण पक्षँले आफ्नो चलचित्र पृथक भनेपनि कथावस्तुमा उही कथित 'मसला'को अहम हिस्सा छ । अर्कोतिर दासढुंगा र कोही…मेरोले अझै राम्रो कलेक्सन गरिरहेकाले नयाँ रिलिज हुने फिल्मले अपेक्षा गरिएका हलहरु पाउने सम्भावना कम छ । मुख्यतः दर्शकहरु बाँडिने समस्या झेल्नेछन् यी चार फिल्मले ।

0 comments:

Post a Comment