प्रेम नपाउनेको पीडा


'बिहे भनेको समाजले बनाएको बन्धन हो, सिन्दुर-पोतेले रंगाइदिँदैमा जीवन रंगीन हुन्छ नै भन्ने छैन । त्यसका लागि त एक-अर्काको माया र साथ चाहिन्छ ।'

नारी अधिकारवादीको जस्तो लाग्ने यो संवाद फिल्म 'पलपलमा' मा पतिको माया र साथ पाउन नसकेकी एक अभागी पत्नीको हो, जो पतिबाट पाउन नसकेको चीज परपुरुषबाट पूर्ति गर्न विवश छे । शुक्रबारदेखि रिलिज गरिएको उकेश दाहाल निर्देशित फिल्म 'पलपलमा' ले प्रेम सम्बन्धका विभिन्न यथार्थपरक पाटोलाई उजिल्याउने प्रयास गरेको छ । आदर्श प्रेम र व्यावहारिक प्रेमबीचको द्वन्द्वलाई फिल्म लेखन समेत गरेका निर्देशक दाहालले वास्तविकताको नजिक रहेर उतार्ने काम गरेका छन् । पछिल्लो समय फरक धारका नेपाली फिल्म रिलिज भइरहेको बेलामा 'पलपलमा' ले पनि महिला-पुरुष सम्बन्धलाई फरक पाटोमा देखाउन खोजेको छ । सडक बालबालिका राहुल -दिलीप रायमाझी) र आदित्य -रमित ढुंगाना) दयालु विदेशी नागरिक मिसेज ज्याक्सनको सहयोगमा कलेजसम्मको मुख देख्न त सफल हुन्छन् तर अन्नदाता नै नरहेपछि भने उनीहरूलाई पढ्नका अलावा छाक टार्नै मुस्किल पर्न थाल्छ । सहरकै प्रतिष्ठित कलेजमा पढ्न पाएका उनीहरूसँग साथीभाइको औकातका अगाडि साख बचाइराख्न पैसा हुँदैन ।

यस्तैमा आदित्यको भेट एक छोरीकी आमा मोनिका -सुजाता सिटौला) सँग हुन्छ । विवाहबन्धनमा बाँधिए पनि पति विदेशमा भएकाले उनमा मायाको भोक हुन्छ । पैसाको अभावमा भोको पेट बस्नुपर्ने आदित्यलाई पैसा दिएर मायाको भोक मेटाउन ऊ सफल हुन्छे । आदित्य पनि ठान्छ, 'माया दिएर खुसी लिएको छु ।' मोनिकासँगको सम्बन्धलाई 'साइड जब' बताए पनि ऊ विस्तारै उनको प्रेममा पर्दै जान्छ र चाँडै विवाह गर्ने सोचाइमा पुग्छ ।

उता 'साइड जब' का कारण साथीमा आएको अकस्मात्को परिवर्तनको रहस्य थाहा पाएपछि यसमा राहुल पनि लठि्ठन थाल्छ । आदर्श प्रेममा विश्वास गर्ने राहुल साथीको 'आदर्श प्रेमले पेट भरिंदैन, व्यवहारिकतामा आउनै पर्छ' भन्ने भनाइमा अन्ततः सहमत हुन्छ र रश्मीला -रूपा राना) सँगको संसर्गमा आउँछ । उनी पतिले छोडेकी महिला हुन् । सन्तान जन्माउन अक्षम पति भए पनि धर्मपुत्रीका रूपमा मालिनी -शशि खड्का) लाई पालेकी उसलाई समाजले भने उल्टै बाँझी आइमाई भन्छ । राहुलसँगको सम्बन्धले गर्भवती भएपछि भने ऊ आफूलाई पूर्ण नारी भएको भन्दै समाजलाई देखाइदिने सोचमा रम्छे । सवा दुई घन्टा लामो फिल्ममा त्यसबाहेक पनि कलेजकै साथी रोजी -असीम राना) ले आदित्यलाई गर्ने एकतर्फी माया, देव -विक्रान्त बस्नेत) को अपरिचित आईडीबाट संगीता -उषा पौडेल) सँग गरेको 'च्याट-लभ' का पटकथाले पनि फिल्मलाई रमाइलो बनाएका छन् ।

दुःखान्त झैं लाग्ने फिल्ममा देवले मात्र प्रेममा सफलता पाउँछ । आदित्यलाई नपाएर रोजीले गरेको आत्महत्या, यौन सन्तुष्टिका लागि प्रयोग गरी विवाह गर्न मोनिकाले इन्कार गर्दा आदित्यको बेहालभन्दा पनि राहुलको अवस्था नाजुक छ । विदेशमा रहेकी गर्लप|mेन्ड नै उसले सम्बन्ध राख्दै आएकी महिलाकी धर्मपुत्री भन्ने खुलेपछि दुई प्रेमबीचको द्वन्द्वको चपेटामा आफूलाई नियन्त्रण गर्न सक्दैन । कथामा केही नवीनता पस्कन खोजेको फिल्म 'पलपलमा' ले पटकथालाई सावधानीपूर्वक बाँध्न सकेको देखिन्छ । संवादमा सजीवपना दिन फिल्म धेरै हदसम्म सफल भएकैले पनि कलाकारका अभिनयमा खासै नाटकीयता हेर्नु पर्दैन, दर्शकले । खासगरी दिलीपको अभिनयले दर्शक हँसाउन सफल छ । खलपात्र नै नभएको फिल्ममा द्वन्द्वका दृश्य छैनन् । संगीतमा महेश खड्काको काम ठीकठाक छ । वसन्त श्रेष्ठ, पुनम राई र विजय नकर्मीको कोरियोग्राफी शीर्षक गीतमा राम्रै छ । हरिहर आचार्य निर्मित फिल्म 'पलपलमा' को राम्रो पक्ष यसको दृश्य परिवर्तन पनि हो । विमल ढकाल र महेन्द्र थापाले खिचेका दृश्यलाई तारा थापा 'किम्भे' को सम्पादनले आकर्षक बनाएको छ ।

केही बेड सिन र विषयवस्तुका कारण पनि सेन्सर बोर्डले पहिलो पटक एडल्ट फिल्मको मान्यता दिएको उकेशको डेब्यु फिल्म 'पलपलमा' केही कमजोरी नभएका होइनन् । बच्चादेखिकै साथीले अकस्मात् थालेको 'साइड जब' के-कस्तो हो भनेर खोज्नुको साटो पैसामा मात्रै रमाएको देखाइनुले केटौले बनाएको छ । गरिबीकै बीचमा हुर्केको आदित्यले एक दृश्यमा कार हाँकेको देखाइनु स्वभाविक लाग्दैन । बरु कारकै धनी मोनिकालाई चलाउन लगाएको भए अर्थपूर्ण देखिने थियो । आफ्नो ब्वाइप|mेन्ड नै आमाको पार्टनर भएको थाहा पाएपछि किञ्चित् अविचलित नभई उल्टै आफ्नै लागि प्रेमको भीख माग्ने मालिनीको नियति त्रुटिपूर्ण छ । फिल्ममा मदिराको अत्यधिक प्रयोगले भद्दा बनाएको छ । त्यसैगरी होश गुम भएको बिरामीलाई पनि पागलसँगै पुनःस्थापना केन्द्रमा देखिनु अस्वभाविक लाग्न सक्छ ।
समाजको कटु यथार्थलाई कथानकता दिइएको फिल्मले जति वजन पाउनुपर्ने हो, यसमा प्रयुक्त केही दृश्यले नै घटाएको छ । सस्तो प्रचारका लागि राखिएका कामुक दृश्यले समग्र फिल्मप्रतिको हेराइमा नकारात्मक असर पुर्‍याउन सक्छ । जसले गर्दा फिल्म हेर्नुपर्ने वास्तविक दर्शक पहिले नै बिच्किन सक्छन् भने प्रचार गरिएअनुसार फिल्म हेर्न आउनेले भने फिल्ममा 'केही पनि नदेखेर' खिस्स पर्ने खतराले फिल्मले नकारात्मक प्रतिक्रिया पाउन सक्छ ।

0 comments:

Post a Comment