विदेशमा नेपाली फिल्म

स्वदेशमै पनि न्यून दर्शकको उपस्थितिले उल्लेख्य विकास गर्न नसकेको नेपाली फिल्म क्षेत्रले अब भने विदेशी बजारसम्मको पहुँच विस्तार गर्न थालेको छ । पछिल्लो समय फिल्म 'नाइँ नभन्नु ल' ले अस्टे्रलियाका विभिन्न सहरमा नियमित शो गरेर देखाएको अन्तर्राष्ट्रिय बजारमा त्यसपछि फिल्म निरक पौडेलको 'कुसुमे रुमाल-२' र शंकर घिमिरेको 'वीरताको चिनो' प्रदर्शन गरिए ।

फाट्टफुट्ट र विशेष प्रयासमा मात्रै केही नेपाली फिल्म विश्व फिल्म क्षेत्रमा पुगिरहेको बेला पछिल्लो समय फिल्म प्रदर्शन गर्ने डिजिटल सिनेमा नेपाल (डीसीएन) ले स्वदेशका साथसाथै खाडी मुलुक मलेसिया र कतारमा पनि एकै समयमा रिलिज गर्ने गरी सर्भर जडानको प्रक्रिया थालेको छ ।'मलेसियामा दुई महिनाभित्रमा फिल्म देखाउन लागिपरिरहेका छौं भने कतारमा भर्खर प्रक्रिया सुरु गरेका छौं,' डीसीएनका प्रबन्धनिर्देशक अशोक शर्माले भने, 'मलेसियामा प्रदर्शन थालिएपछि कतारमा जानेछौं ।'डीसीएनले फिल्म वितरक अन्तर्राष्ट्रिय कम्पनी लोटससँगको साझेदारीमा मलेसियाका नेपाली कामदारको बाहुल्य रहेका क्वालालम्पुर, पेनाङ र जोडवाङका सहरका फिल्म हलमा आफ्नो सर्भर जडान गरिसकेको छ । 'प्रदर्शन गरिने फिल्मको सबट-टाइटल बनाउने काम भइरहेको छ, त्यहाँका सरकारले सेन्सर पास गर्नेबित्तिकै प्रदर्शनको थालनी हुनेछ,' शर्माले भने ।

खाडी मुलुकमा प्रदर्शनका लागि त्यहाँको सरकारले अंग्रेजी सब-टाइटलमा आधारित रहेर फिल्मको सेन्सर गर्ने गर्छ । धर्म/संस्कृतिका कारण केही अनुदार मानिने खाडी मुलुकमा सेन्सरबाट केही अप्ठ्यारो आउन सक्ने भए पनि त्यहाँका नेपाली भाषीका लागि मनोरञ्जन प्रदान गर्न जोखिम मोलिएको फिल्मकर्मीसमेत रहेका शर्माले बताए । ती मुलुकमा बलिउड फिल्मसमेत चल्दै आएको सन्दर्भ जोड्दै उनले भने, 'ग्ल्यामरका दृष्टिले बलिउडका भन्दा त हाम्रा फिल्म अलि पाच्य नै भएकोले पनि फिल्मको मर्म नै मर्ने गरी त सेन्सर नगर्ला ।'मलेसियामा प्रदर्शनका लागि अहिले नेपली फिल्महरू कोही मेरो, फस्ट लभ र हिफाजतको सब-टाइटलको काम भइरहेको बताइएको छ । लाखौंको संख्यामा नेपालीहरू रोजगारीको सिलसिलामा खाडी मुलुकमा कार्यरत भएकाले पनि त्यहाँ नेपाली फिल्मको बजार आफूले देखेको डीसीएनका प्रबन्धनिर्देशक शर्माले बताए ।

'सानो क्षेत्रमा धेरै नेपाली रहेकाले पनि मार्केट राम्रो छ,' उनले भने, 'फेरि मनोरञ्जनका लागि उनीहरूले गुणस्तरहीन भीसीडी प्रयोग गर्नुपर्ने बाध्यता यसले हटाउँछ ।' ती देशमा अवैधानिक तबरमा लगिने नेपाली फिल्मका भीसीडीको माग अत्यधिक छ । नेपालमा समेत झन्डै ६ दर्जन फिल्म हलमा आफ्नो सर्भर जडान गरिसकेको डीसीएनले मलेसिया हुँदै कतारलगायतका खाडी मुलुकका फिल्म हलमा पनि सर्भर जडान गरेपछि स्वदेश र विदेशमा नेपाली फिल्मको एकसाथ रिलिज गरिने जनाएको छ ।

0 comments:

Post a Comment