बिराजसँग के छैन ?

आममानिसको सपना : सहरमा एउटा घर, जग्गा, कार र राम्री जीवनसाथी हुन्छन् । जुन सपना विवाहित हिरो बिराज भट्टको जीवनमा अब बिपना भएको छ । समकालिन नेपाली र भोजपुरी चलचित्रका महङ्गा हिरो बिराजसँग अब के छैन ? पहिचान, पैसा र प्राप्ती सबै । पश्चिम नेपालको धनगढीका रैथाने विराजसँग अब काठमाडौं र मुम्बईमा यी सम्पन्नताहरु छन् । चाँडै बिराज अब तीनवटा मुलधारका बलिउड चलचित्रमा खेल्दैछन् जुन कुरालाई उनले मेरो सिनेमामार्फत खुलासा गरे ।

बिराजले १ करोड ३४ लाख रुपैंयामा भक्तपुरको बालकोट हाइटस्थित रोज भिलर नामक बागमती हाउजिङ कम्पनीमा सुविधासम्पन्न घर किनेका छन् । अढाइतलाको उक्त घर विलासी जीवन बिताउन मिल्ने सुविधासम्पन्न छ । अहिले मैतीदेवीमा बसिरहेका उनी दसैंको फूलपातिबाट नयाँ घरमा सर्दैछन् । बिराजलाई उक्त घर उनका पारिवारिक सहयोगी पुष्कर भट्टले खोजिदिएका हुन् । यसअघि बिराज एक रोपनी जग्गा किनेर घर बनाउने सोचमा थिए । बुढानिलकण्ठस्थित एक घरमा कुरा पनि भैरहेको थियो । तर उक्त योजना स्थगित गरेर बिराजले सुरक्षा र सुविधा दुवै दृष्टिकोणले उत्तम हुने हाउजिङमा घर खरिद गरे ।

उनले हुन्डाइको टक्सन कार पनि किनेका छन् । जसको मूल्य त्यतिबेला ५१ लाख रुपैंया थियो । बिराजले अढाइ करोड मूल्यमा दुई रोपनी दुई आना जग्गा पनि किनेका छन् । जसअन्तर्गत नारायणटारमा १४ आना, थलीमा १५ आना र हात्तीवन हाइटमा ४ आना जग्गा किनेका छन् । यो सँगै उनले मुम्बईमा फ्ल्याट पनि किनेका छन् भने नेपाली २१ लाख पर्ने होन्डाको कार पनि मुम्बईमा छ उनको । मुम्बईमा फ्ल्याट र कार किन्नुको कारण भने उनी अब मुम्बई सर्दैछन् । उनले त्यहाँ बलिउड फिल्महरुमा डेब्यु गर्ने तयारी गरिरहेका छन् । मुम्बई बसेर भारतीय फिल्ममा खेल्ने क्रममा छन् उनी ।

यसअघि बलिउडमा हिट क्रान्तिबीर लगायतका चलचित्र बनाइसकेका के.सी बोकडिया, मेहुल कुमारको फिल्ममा बिराजले खेल्ने निश्चित भएको छ । सम्भवतः दसैंपछि बिराज ती चलचित्र साइन गर्न मुम्बई जाने तयारीमा छन् । 'ती फिल्ममा खेल्ने निश्चित छ साइन गर्न मात्र बाँकी हो' भट्टले भने । बलिउडका मुलधारसँग दक्षिण भारतीय चलचित्रमा पनि खेल्न बिराजले कुरा अघि बढाइरहेका छन् । 'यसको अर्थ बिराजले नेपाली फिल्म क्षेत्र छाड्ने भन्ने होइन टाइम निकालेर कहिलकाहीँ आएर नेपाली दर्शकमाझ पनि छाउनुहुन्छ' भट्ट भन्छन् 'नेपाली चलचित्रप्रति उहाँको अगाध प्रेम छ ।'

नेपाली चलचित्रका सर्वाधिक महङ्गा नायकले झन्डै १० वटा जति भोजपुरी फिल्म खेलिसकेका छन् । नेपाली फिल्मको उनको रेट ६ लाख हो । भोजपुरी भाषाको एउटा फिल्म खेलेबापत बिराजले १० लाख भारु लिन्छन् जसको नेपाली मूल्य १६ लाख नेरु हुन आउँछ ।

0 comments:

Post a Comment