एकै दिनबाट चार फिल्म


२५ भदौबाट रिलिज हुन लागेका चार फिल्म दीपशिखा, हिम्मत-२, पलपलमा र सिन्दूरका चारैजना निर्माताको एउटै दाबी- मेरो फिल्म हिट हुन्छ
काठमाडौं/ कुनै विशेष पर्व या बिदा छ भने फिल्म चलाउने दाउमा बसेका निर्माताको मन हुटहुट गर्न थाल्छ । कारण- पर्व तथा बिदामा फिल्म हेर्न दर्शकको घुइँचो लाग्छ । फिल्मले 'इनिसियल' हान्छ ।

यसपालि तिजमा विशेषगरी चारजना निर्माताको मन हुटहुटिएको छ । तिजको मौका छोपेर आफ्नो फिल्म रिलिज गर्न लागेका दीपशिखाका निर्माता नरेश पौडेल, हिम्मत-२ का दीपक श्रेष्ठ, पलपलमाका उकेश दाहाल र सिन्दूरका गोविन्द गौतमको 'निद हराम' छ अहिले । फिल्म रिलिजको डेट नजिकिँदै जाँदा उनीहरूको व्यस्तता पनि निकै बढेको छ । रिजिलको चाँजोपाँजो मिलाउन व्यस्त रहेकाले गर्दा कुनै निर्माता फोन उठाउनसमेत नभ्याउने अवस्थामा छन् त कुनै निर्मातालाई खाने फुर्सदसम्म छैन । 'रिलिजको तयारीमा लाग्दा बिहानदेखि पेटमा चारो परेको छैन,' २५ भदौबाटै मोफसलका हलमा रिलिज हुन लागेको हिम्मत-२ का निर्माता तथा निर्देशक दीपक श्रेष्ठले साँझ फोनमा भने, 'कहिले के मिल्दैन, कहिले के पुग्दैन । कहिले कता, कहिले कता कुदेको कुद्यै छु । अहिलेसम्म खाना खानसमेत भ्याएको छैन ।'

निर्देशक नरेश पौडेलको धपेडी पनि बढेको छ अचेल । सांस्कृतिक संस्थानका महाप्रबन्धकसमेत रहेका उनको फिल्म दीपशिखा पनि २५ भदौबाट नै रिलिज हुँदै छ । राजधानीका पाँचवटा मल्टीप्लेक्स हल र मोफसलका झन्डै ४० हलमा एकैसाथ रिलिज हुन लागेको दीपशिखा मूलधारका फिल्ममध्ये उत्कृष्ट भएकाले कुमारी हलमा समेत प्रदर्शन गर्न लागिएको बताउँछन् उनी । भन्छन्, 'दीपशिखा मूलधारको उत्कृष्ट फिल्म हो । त्यसकारण कुमारी हलमा समेत लगाउँदै छु । मूलधारका कतिपय नेपाली फिल्म हेर्दा दर्शक हलमै निदाउनेे, बोर लागेर हाइहाइ गरेको, टाउको थिचेको देखिएको छ । तर मेरो फिल्मले एक सिनमा पनि बोर गर्दैन । विशुद्ध मनोरञ्जन छ । त्यसकारण पहिलो चरणमा मल्टीप्लेक्स हलमा दर्शकका लागि लक्षित गरी रिलिज गर्दै छु ।' आफ्नो फिल्म दोस्रो चरणमा राजाधानीका अन्य हलमा समेत प्रदर्शन हुने उनले बताए ।

पलपलमाका निर्माता तथा निर्देशक उकेश भने आफँैमा दंग छन् । 'मेरो फिल्म हेर्न दर्शक आतुर छन्,' उनी भन्ने गर्छन्, 'मेरो फिल्मको सब्जेक्ट नै बेग्लै छ । जहाँ जाँदा पनि दर्शकले छिट्टो फिल्म चलाउनुपर्‍यो भनेर हुटिङ गर्छन् । त्यसकारण म ढुक्क छु ।' पलपलमा पनि २५ भदौदेखि नै राजधानीका दर्जन बढी र मोफसलका केही हलमा रिलिज हुँदै छ ।

हिम्मत-२ र सिन्दूर भने मोफसलका हलमा मात्रै रिलिज हुने तय भएका फिल्म हुन् । निर्देशक दीपकका अनुसार उनको फिल्म मोफसलका १५ स्थानका झन्डै ३० वटा हलमा प्रदर्शन हुँदै छ । 'मलाई त टेन्सन नै छैन,' उनको आत्मविश्वास छ, 'मेरो फिल्म तगडा छ । विराज भट्ट दोहोरो भूमिकामा छन् । नारीप्रदान फिल्म हो । मैले तिजको उपलक्ष्यमा नेपाली दिदीबहिनीलाई दिने उपहार हो हिम्मत-२ ।' उनी आफ्नो फिल्ममा तेस्रो इन्डियन आइडल प्रशान्त तामाङले गीत गाएको र फिल्म चल्ने मुख्य सहरमा उनलाई ल्याएर कन्सर्ट गर्न लागेकाले फिल्म सुपर हिट हुने विश्वासमा छन् ।

सिन्दूरका निर्माता तथा निर्देशक गोविन्द गौतम पनि फिल्म हिट हुने कुरामा ढुक्क छन् । 'फिल्म नै तगडा बनाएको छु,' उनको कथन छ, 'तिज, त्यसमाथि मेरो फिल्म सिन्दू्र । नेपाली नारीको सौभाग्यको प्रतीक सिन्दूर सबैले मन पराउने कुरामा ढुक्क छु म ।' मोफसलका हलमा मात्रै रिलिज हुन लागेको सिन्दूरमा पनि विराज भट्ट नायक छन् । चार फिल्मका चारैजना निर्माता आफ्नो फिल्म हिट हुने कुुरामा ढुक्क छन् । बक्स अफिस रिपोर्ट कस्तो होला ? यसका लागि कुर्नुबाहेक अर्काे उपाय छैन ।

0 comments:

Post a Comment