फिल्मी खबर


मालतीको भट्टी सुरु

निर्माता प्रदीप उदयले एकसाथ दुई चलचित्रको घोषणा गरेका छन् । गतसाता काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' तथा 'मालतीको भट्टी' को घो षणा गरे । ऋषि लामिछानेको निर्देशनमा मंसिर महिनातिर छायांकन थालिने 'हाम्रो माया जुनी जुनीलाई' को हाल संगीतकार महेश खड्को संगीत निर्देशनमा गीत रेकर्डिङ भैरहेको छ भने यसै सातादेखि गणेशदेव पाण्डेको निर्देशनमा चलचित्र 'मालतीको भट्टी' को छायांकन प्रारम्भ भएको छ । रेखा थापा, नन्दिता केसी, जीवन लुइँटेल, अयुव केसी, सुनील थापा आदि कलाकारको मुख्य भूमिका रहने उक्त चलचित्रमार्फत आधुनिक गीतका संगीतकार कालीप्रसाद बाँस्कोटाको 'डेब्यु' हुँदैछ ।

दाबी आ-आफ्नै

टेलिभिजन प्रचार सामग्रीमा चलचित्र 'कोही मेरो' को निर्माणपक्षले उक्त चलचित्रलाई 'वर्षकै सफल चलचित्र' दाबी गरेको छ । त्योभन्दाअघि व्यावसायिक सफल मानिएको चलचित्र 'फस्टलभ' ले पनि आफ्नो व्यवसाय यो वर्षका चलचित्रहरूमा सबैभन्दा बढी भएको बताएको छ । त्यसैगरी गत साता सार्वजनिक भएका चार चलचित्र 'दीपशिखा', 'पलपलमा', 'हिम्मत टु' र 'सिन्दुर' ले पनि व्यावसायिक सफलता पाएको दाबी गरेका छन् । काठमाडौंमा प्रदर्शन भएका 'दिपशिखा' र 'पलपलमा' का निर्माणपक्षले उक्त चलचित्र हेर्न दर्शक ओइरिएका तथा चलचित्रलाई मनपराइएको बताएका छन् भने काठमाडौं बाहिरबाट प्रदर्शनमा आएका 'हिम्मत टु' र 'सिन्दुर' को पनि त्यस्तै दाबी छ । काठमाडौंमा दोस्रो सातामा प्रवेश गरेको चलचित्र 'दासढुंगा' का दर्शक पनि बढ्दै गएको बताइन्छ । चलचित्र विकास बोर्ड वा सञ्चार मन्त्रालयले चलचित्रको व्यावसायिकस्थिति दर्शाउने 'बक्सअफिस' नीति ल्याउने पहल नगरेसम्म निर्माणपक्षकै दाबी सबैले पत्याउनुपर्ने बाध्यता छ ।

दबंगमा नेपाली खलनायक

नायक सलमान खान अभिनीत हिन्दी चलचित्र 'दबंग' मा एक नेपालीले समेत अभिनय गरेका छन् । उक्त चलचित्रमा दर्जनौं हिन्दी तथा मराठी चलचित्रमा अभिनय गरिसकेका नवराज विश्वकर्माले खलनायकको भूमिका निर्वाह गरेका छन् । 'दबंग' मा नवराजले मुच्छरसिंह नामको चरित्र निर्वाह गरेका हुन् । ठूलो शरीर र उत्तिकै ठूलो आवाज भएका नवराज लामो समयदेखि पुनामा छन् ।

दुई नेवारी चलचित्र

तन्डुकार फिल्म प्रोडक्सनको ब्यानरमा 'छंगु नामय्' तथा 'जिगु मिखाया न्ह्यःने' गरी दुई चलचित्रको शुभमुहूर्त सम्पन्न भएको छ । यी दुवै चलचित्रमा सुरेन्द्र तुलाधरको पटकथा, संवाद तथा निर्देशन रहनेछ । 'छंगु नामय्' सामाजिक, हास्य, द्वन्द्व एवं सन्देशमूलक चलचित्र हो, जसमा धीरेन शाक्य, हरिकृष्ण तण्डुकार, अनु शाह, मुकुन्द श्रेष्ठ, सुशील पोखरेल, शुभद्रा अधिकारी, लक्ष्मी गिरी आदिले अभिनय गर्नेछन् । तिहारलगत्तै यो चलचित्रको छायांकन प्रारम्भ हुनेछ । त्यस्तै 'जिगु मिखाया न्ह्यःने' एउटा पारिवारिक चलचित्र हो, जसमा सुरेन्द्र महर्जन, विनु मानन्धर, अर्णेश्वरी शिल्पकार, सुनिता ठाकुर, राजाराम भाम, राजे न्द्रमान शाक्य आदिले अभिनय गर्नेछन् । यो चलचित्रको छायांकन भने आगामी साता प्रारम्भ हुँदैछ ।

0 comments:

Post a Comment