म्युजिक रिभ्यू : भूल भए माफ गर

चलचित्र : भूल भए माफ गर
संगीत निर्देशक : ताराप्रकाश
गीतकार : सुरेशदर्पण पोखरेल, राजन घिमिरे
गायक : दीपक लिम्बु, अन्जु पन्त, मनोज सेवा, ताराप्रकाश, आस्था रावत, सरिता पन्थी, राजेशपायल राई
अवधि : २० मिनेट
रेटिङ : २:१/२
रिलिज : असोज ८ (मोफसल)

निखिल उप्रेती र मेलिना मानन्धर स्टारर फिल्म 'भूल भए माफ गर'को संगीत एक खास वर्गलाई ध्यानमा राखेर बनाइएको छ । ताराप्रकाशको संगीतमा सजिएका चारैवटा गीतमा कुनै नयाँपन छैन । चलचित्रको बीस मिनेट गीतले ओगटेपनि गीतहरु 'इफेक्टिभ' लाग्दैनन् । ताराप्रकाशको संगीत मनपार्नेहरुलाई फिल्मको गीतले निराश तुल्याउन सक्छ ।

चलचित्रको पहिलो गीत 'साथी आज किन यस्तो लाग्यो…'पटकथा अनुकूल त छ तर यो गीतमा खासै दम छैन । यसको लय र फ्लेवरमा नयाँपन त छैन नै कर्णपि्रय र दर्शकले टपक्क टिप्ने किसिमको पनि छैन । पाश्र्वगायकको आवाजमा सुरिलोपन र मिठास भएपनि यो गीतले दर्शकलाई संागीतिक मुर्छना छर्न सक्दैन ।

फिल्मको दोस्रो गीत 'जोगी बनायौ रोगी बनायौ…'ले पनि पहिलो गीतलाई नै पछ्याएको छ । यो गीतको शब्द, संगीत र भावमा पनि उति दम छैन । प्रारम्भको पटकथामै निराशामुलक संगीतले दर्शकलाई 'टच' गर्न सक्दैन । यो गीतले कुनै अन्तरामा अलग-अलग दिशाहरु समात्छ । दोस्रो गीत पनि 'क्याची' बन्न सकेको छैन ।

तेस्रो गीत 'आँखामा राखे थेँ…'ले केही हद्सम्म सांगीतिक असर छाड्न सक्छ । सीआरबीटीमा झन्डै १७ हजार कपी डाउनलोड भैसकेको यो बोलको गीतलाई दर्शक र श्रोताहरुले तुलनात्मक रुपमा सुन्न सक्छन् । यो गीत चलचित्रको 'थिम सङ' हो । स्टोरीअनुसार यो गीतले दर्शकलाई रोमान्चित र प्रफुल्ल तुल्याउँछ । अघिका गीतमा भन्दा यसमा केही भएपनि दम छ । ताराप्रकाशले यो गीतमा सुन्दर गायकी पेश गरेका छन् ।

चौंथो तथा अन्तिम गीत 'तिमी मेरो साथी बन्ने हो त…' चलचित्रको तुलनात्मक रुपमा रुचाइएको दोस्रो गीत हो । यो गीतको बोलले केही असर राख्छ तर उति प्रभावकारी छैन । यो गीतले श्रोतालाई उति लोभ्याउन सक्दैन । समग्रमा चलचित्र 'भूल भए माफ गर'ले औषत संगीत पनि पस्कन सकेको छैन । युवावर्गलाई एउटा गीतबाहेक अरुले लोभ्याउन सक्दैन ।

0 comments:

Post a Comment