फिल्मी खबर

घरघरमा यतिको खोजी

केही समयअघि प्रदर्शन भएको चलचित्र 'यतिको खोजीमा' अब घरघरमा हेर्न पाइने भएको छ । गत मंगलबार राजधानीमा आयोजित एउटा अनौपचारिक समारोहमा चलचित्रको डिभिडी सार्वजनिक गरिएको छ । सञ्चारकर्मीमाझ चलचित्रको डिभिडी सार्वजनिक गर्दै हाइटेक इन्टरटेन्मेन्टका राजेन्द्र मानन्धरले सिनेमा हलमा गएर चलचित्र हेर्न नभ्याएकाहरूका लागि यतिको खोजीको डिभिडी तयार पारिएको बताए । चलचित्रका नायक तथा निर्माता लक्ष्मण बस्नेत ' यतिको खोजीमा' लाई साहसिक नेपाली चलचित्र बताउँछन् । उनका अनुसार यो चलचित्रमा आश्चर्य, रहस्य तथा द्वन्द्वका रोमाञ्चक दृश्य समावेश गरिएको छ । सन्तोष ढकालद्वारा निर्देशित यो चलचित्रमा लक्ष्मण बस्नेत तथा सुनिता गन्धर्वको रोमान्टिक जोडीले मुख्य भूमिका निर्वाह गरेका छन् ।

भोजपुरी चलचित्रको छायांकन

भोजपुरी भाषाको चलचित्र 'यी कैसन बौछार' को छायांकन सुनसरीको झुम्का चोकस्थित मन्दिरमा पूजा गरेर थालिएको छ । कमैयाप्रथामा केन्दि्रत चलचित्र 'यी कैसन बौछार' मा जमिनदारको घरमा पुस्तौंसम्म दास भएर बस्नुपर्ने अवस्थालाई दर्साइनेछ । आधा दर्जन चलचित्रमा अभिनय गरिसकेका श्याम कटुवाल नायक तथा चारवटा चलचित्रमा आइसकेकी हरिशा बानियाँ चलचित्रकी नायिका हुन् । शिवओम अधिकारीको कथा एवं निर्देशन तथा विप्लव अधिकारी, रमेश केसी र लक्ष्मी शर्माको लगानीमा निर्माण भैरहेको यो चलचित्रको सम्पूर्ण छायांकन पूर्वाञ्चलका कन्याम, कोसी ब्यारेज, भेडेटार, रामधुनी जंगल आदि स्थानमा एक महिनाभित्रै सम्पन्न हुने चलचित्र युनिटले बताएको छ ।

रुद्राक्ष

उदय सुब्बाले निर्देशन गर्ने चलचित्र 'रुद्राक्ष' को छायांकन प्रारम्भ भएको छ । पाखि्रन फिल्म्सको ब्यानरमा निर्माण हुने यो चलचित्रका निर्माता दिनेश पाखि्रन हुन् । माइला लामाको संगीत, प्रकाश पुरीको पटकथा तथा संवाद, राम जनकको द्वन्द्व, विमल ढकालको छायांकन र दिनेश पाखि्रनको नृत्य रहेको चलचित्र 'रुद्राक्ष' मा राजेश हमाल, सुवास मेचे, राजेशपायल राई, झरना थापा, सुनील थापा, दिनेश शर्मा, निर्मल लामा, सोम लामा तथा उदय सुब्बाको मुख्य भूमिका छ ।

तीन चलचित्रको भिडन्त

आगामी साता एकैसाथ तीनवटा चलचित्र सार्वजनिक हुँदैछन्, जसमा नरेश पौड्यालको 'दीपशिखा', दिपक श्रेष्ठको 'हिम्मत टु' तथा उकेश दाहालको 'पलपलमा' छन् । वितरण तथा प्रदर्शकले यी चलचित्रका लागि समय व्यवस्थित गर्न नसक्दा यी तीन चलचित्रको व्यावसायिका भिडन्त हुने भएको हो । नायिका अरुणिमा लम्सालको कथामा निर्माण भएको चलचित्र 'दीपशिखा'मा उनी आफैं चलचित्रकी केन्द्रीय नायिका हुन्, जसमा नीरज बराल र जीवन लुइँटेल नायक छन् । चलचित्रमा चेतन सापकोटाले संगीत दिएका छन् । दीपक श्रेष्ठको चलचित्र 'हिम्मत टु'मा विराज भट्ट, युना उप्रेती तथा श्रीकृष्ण लुइँटेलको दोहोरो भूमिका छ भने बसुन्धरा भुषाल, दिनेश डिसी, सुशील पोखरेल आदि कलाकारले पनि त्यसमा अभिनय गरेका छन् । चलचित्रका संगीतकार आलोकश्री हुन् । त्यस्तै उकेश दाहालको 'पलपलमा'मा दिलीप रायमाझी, रमित ढुंगाना, सुमन सिंह, सुजाता सिटौला, उषा पौडेल, शशी खड्का, दिलीप गौतम, विक्रान्त बस्नेत, रूपा राना आदि कलाकार छन् । यो चलचित्रमा महेश खड्काले संगीत दिएका छन् ।

गुडबाई गरिँदै

झरना बज्राचार्य, सुनिल थापा, प्रशान्त ताम्राकार, उषा रजक, दिया मास्के, मनीष ढुंगेल, युविन श्रेष्ठ आदि कलाकारले अभिनय गरेको चलचित्र 'गुडबाई'को सम्पादन अन्तिम चरणमा पुगेको छ । थि्रलर श्रेणीमा राखिएको यो चलचित्रका निर्देशक उदय सिजापति हुन् । नरेशदेव पन्त, शिशिरप्रकाश बाङ्देल तथा निमा रुम्बा निर्माता रहेको चलचित्र गुडबाई जासुसी र रहस्यमा आधारित छ ।

कात्तिकमा स्वर

प्रसन्न पौडेलको निर्देशनमा निर्माण भएको चलचित्र 'स्वर' यही कात्तिक-मंसिरतिर सार्वजनिक हुने भएको छ । मनीष राजभण्डारी, रवि लामा तथा सुरेन बलामीको लगानीमा निर्माणको अन्तिम चरणमा पुगेको यो चलचित्रमा राजबल्लभ कोइराला, केकी अधिकारी, यसराज कार्की, अमित पोखरेल, बेनिशा हमाल, जोयस, रिमा विश्वकर्मा आदि कलाकारले अभिनय गरेका छन् । सांगीतिक प्रेमकथामा आधारित यो चलचित्रमा भूपेन्द्र खड्काको गीतरचनामा सुगम पोखरेल तथा सत्य-स्वरूपको संगीत सुन्न पाइन्छ ।

च्यालेञ्ज धमाधम

गायक नवीन के. भट्टराईको संगीतले सजिएको चलचित्र 'च्यालेन्ज'को सम्पादन सिमोस सुनुवारले गरिरहेका छन् । एक्सन तथा बदलामा आधारित यो चलचित्रको १५ प्रतिशत छायांकन अमेरिकामा गरिएको छ भने यसमा तीन जना अमे रिकी कलाकारले समेत अभिनय गरेका छन् । नायक रेश मरहठ्ठा र माधव ढकालको लगानीमा निर्माण भैरहेको यो चलचित्रमा रेश मरहठ्ठा, आयुष रिजाल, खुस्बु न्यौपाने, रेखा थापा, बीएस राणा आदि कलाकारको मुख्य भूमिका छ ।

0 comments:

Post a Comment