समिक्षा : पलपलमा


चलचित्र : पलपलमा
निर्देशक/कथा : उकेश दाहाल
अभिनय : दीलिप रायमाझी, रमित ढुंगाना, विक्रान्त बस्नेत, उषा पौडेल, सुजाता सिटौला, रुपा राना, शशी खड्का
निर्माता : हरिहर आचार्य
संगीत : महेश खड्का
सेन्सर सर्टिफिकेट : ए
अवधि : २ घण्टा १४ मिनेट
रिलिज : उपत्यका (आगामी शुक्रवारदेखि मोफसल)

सेन्सर बोर्डले 'एडल्ट' सर्टिफिकेट दिएलगत्तै चलचित्र 'पलपलमा'ले एकैसाथ चर्चा र कौतुहलता बटुलेको थियो । वयस्कले मात्र चलचित्र हेर्नुपर्छ भन्ने सर्टिफिकेट मान्यतालाई टीनएज दर्शकले 'पलपलमा' हेरेर अवज्ञा गरिदिए । एउटै ढाँचा, शैली र कथ्यमा अघि बढिरहेको नेपाली चलचित्रको मुलधारबाट अलग रहेर निर्देशक उकेश दाहालले भिन्न तर बदलिँदो जीवनशैलीको यथार्थ तस्विर चलचित्रमा प्रस्तुत गरेका छन् । 'मसला' फिल्मबाट टाढा रहेर उकेशले यौन, प्रेम र मानवीय आशक्तीलाई फिल्ममा उतारेका छन् जुन नेपाली चलचित्रका परम्परागत दर्शकलाई भिन्न 'फ्लेवर'को लाग्छ । खासगरि भौतिक सम्पन्नता, प्रविधि, सुविधाले 'फास्ट' बनाइदिएको काठमाण्डौंको जीवनशैलीलाई 'पलपलमा'ले प्रस्तुत गरेको छ । पैसा अभावमा काठमाण्डूको 'हाइटेक' जीवनशैलीमा बाँच्न अभ्यस्त युवाहरुको विवशता, सम्पन्नतामा हुर्किएकाहरुको दमित यौनकुण्ठा, यसका 'बाइप्रोडक्ट' कलेज प्रेम, जीवनको आदर्श र यथार्थबीचको दूरी यो फिल्मले बोल्छ । फ्रायडको यौनमनोवादी धारालाई फिल्मले आत्मसात गरेको छ ।

कथा : राहुल, आदित्य, विवेक तथा देव एउटै कलेजमा पढ्ने साथी हुन् । विशेषगरि राहुल र आदित्यबीच गहिरो मित्रता छ । उनीहरु काठमाडौंमा कोठा लिएर सँगै बस्छन् । विद्यार्थीको जीवन त्यसमाथि काठमाडौंको 'हाइफाइ' जीवनले उनीहरुलाई आकर्षित गरिरहेको हुन्छ । पैसाको अभावमा उनीहरु इच्छा पुरा गर्न सक्दैनन् । अनायस उनीहरु रहस्यमय काम गर्न थाल्छन् । यी दुई साथी सम्पन्नतातर्फ अघि बढ्छन् तर एकअर्कासँग आफ्नो काम लुकाउँछन् । कलेजमा संगीता र विवेक एकअर्कालाई प्रेम गर्छन् तर संगीतालाई देवले पनि मनपराउँछ । धनाढ्य आमा रस्मिलाकी धर्मपुत्री मालिनी राहुलकी प्रेमिका हुन् । इन्टरनेट च्याटमार्फत उनीहरु प्रेममा बाँधिएका हुन्छन् । यहाँसम्मकी आमा रस्मिला र छोरी मालिनी दुवैसँग राहुलको हिमचिम भैरहेको हुन्छ जुनकुरा आमाछोरीलाई थाहा हुँदैन । पैसाको अभावमा पनि आफूलाई गरिब भन्न नरुचाउने राहुलले रातारात पैसाको खोलो बगाइदिएपछि आदित्य छक्क पर्छ । धनी परिवारकी आधुनिक युवती मोनिका जसको श्रीमान लामो समयदेखि विदेशमा छन् । उनी छोरासँगै बसिरहेकी हुन्छिन् । मोनिका आदित्यको व्यक्तित्वबाट प्रभावित हुन्छिन् । संयोगवश मोनिकासँगको भेटपछि आदित्यको जीवनशैली फेरिन्छ । मोनिकाले पनि आदित्यबाट अतृप्त इच्छाहरु पुरा गरिरहेकी हुन्छिन् । आठजना चरित्रको वरिपरि जेलिएको फिल्ममा प्रेमका विभिन्न स्वरुपहरु देख्न पाइन्छ । अन्त्यमा यस्तो घटना हुन्छ जसले राहुल र आदित्यको जीवनलाई भिन्न अवस्थामा पुर्‍याइदिन्छ । सुखान्त हुँदै दुःखान्ततर्फ अघि बढिरहेको कथाले यी दुई पात्रलाई कस्तो स्थितीमा पुर्‍याइदिन्छ त्यो थाहा पाउन थिएटर जानैपर्छ ।

निर्देशन : द्धन्द्धबिनाको अफविट चलचित्र बनाउन निर्देशकले पर्याप्त मिहेनत गरेपनि त्यो प्रयत्न 'प्रयत्न'मा सीमित भएको छ । चलचित्र जसरी सुरु भएको छ त्यसरी नै फिल्मको समापन गरिएको छ । चलचित्रको उत्कर्ष अथवा समापन 'टच्ची' हुन सकेको छैन । चलचित्रको अन्त्यले दर्शकको मनोविज्ञानलाई छाम्न सक्दैन । जसका कारण दर्शकले हलबाट बाहिर निस्किएपछि आफूलाई जबर्जस्त कामुक बनाइएको अनुभूति गर्छन् । निर्देशकले दर्शक र पात्रलाई जोड्नभन्दा दृश्यलाई यौनिकता प्रदान गर्नेतर्फ जोड दिएका छन् । जसका कारण फिल्मका पात्रहरु दर्शकसँग टाढिएको महसुस हुन्छ । फिल्मको पटकथामा उल्झन हुँदा दर्शकलाई 'मोनोटोनस' लाग्छ । छायांकन कमजोर हुँदा त्यसले दृश्य र कथाको प्रस्तुतिकरणलाई फिका तुल्याइदिएको छ । पात्रहरुलाई गतिशिल तुल्याउन निर्देशकले सकेका छैनन् जसका कारण पटकथा 'स्लो' बनेको छ । पात्रहरु कसरी आउँछन् र कसरी हराउँछन् कहिँकतै दर्शकहरु 'कन्फ्युज' हुनुपर्ने परिस्थिती बन्छ ।

अभिनय : मल्टिस्टारर 'पलपलमा'को कथा दीलिप र रमितको वरिपरी घुमेको छ । फिल्म उनीहरुबाटै सुरु हुन्छ र उनीहरुबाटै अन्त हुन्छ । आठवटा फरक पात्रमा जेलिएको कथाले दर्शकलाई भिन्न 'टेस्ट'हरु पनि दिन्छ । सेन्सर बोर्डले 'एडल्ट' सर्टिफिकेट दिएको मुख्य आधार भनेको चलचित्रका केही दृश्यहरु हुन् जसले दर्शकलाई कामोत्तेजक तुल्याउँछन् । खासगरि रमित र सुजाता दीलिप र रुपाबीचका बेडसिनले दर्शक भावोत्तेजक हुन्छन् । प्रत्येक दृश्यहरुमा यौनका विम्वहरु पोतिएको छ जसले दर्शकमा यौनका उद्देलनाहरु पैदा गर्छन् । पुरुष यौनकर्मी, विद्यार्थी र मित्रताको भूमिकाको रुपमा दीलिप र रमितको जोडी जमेको छ । सुजाता प्रत्येक दृश्यमा बोल्ड लाग्छिन् । विद्यार्थी र प्रेमजोडीका रुपमा उषा र विक्रान्तको भूमिका फिट छ । सुमन, रुपा र शशिको भूमिका छोटो छ तर उनीहरुले आफ्नो भूमिकालाई न्याय गरेका छन् ।

संगीत : यो चलचित्रको एउटा गीत 'अँगालोभरिको माया' प्रदर्शन अगावै चर्चित बनेको थियो । जुन गीतको नृत्यका प्रत्येक स्टेपले प्रेम र यौनका विम्वहरु बताउँछन् । चलचित्रमा अन्य गीतहरु पनि छन् तर, ती गीत दर्शकका लागि कर्णपि्रय लाग्दैनन् । कथाको परिवेश र पात्रलाई 'फ्युजन' गराउन गीत समायोजन गरिएको प्रतीत हुन्छ ।

ब्यापार : सिङ्गल र मल्टिप्लेक्स दुवै क्लासका दर्शकका लागि 'पलपलमा' उपयुक्त छ । तरपनि तुलनात्मक रुपमा सिङ्गलभन्दा मल्टिप्लेक्स दर्शकहरुले फिल्म रुचाउनेछन् । परम्परागत सासु बुहारीको झगडा, हिँसा, मारकाट र त्रिकोणीय लभस्टोरी पस्कने नेपाली फिल्मको ट्रेन्ड भत्काउँदै नेपाली समाजको यथार्थता पस्किएको यो फिल्मलाई अर्ध-सहरी दर्शकले रुचाउनेछन् । सेन्सर बोर्डको 'वयस्क' सर्टिफिकेट र यौनलाई रहस्यको कुराको रुपमा लिइने हाम्रोजस्तो बन्द समाजका दर्शकमा यो बेग्लै कथा बोकेको फिल्मले प्रभाव पार्न सक्छ । 'पलपलमा' प्रदर्शनमा लागेको दर्शकको चाप चलचित्रको निर्माण र निर्देशन पक्ष बलियो भएर होइन यसको भिन्न र जनअभिरुचिपूर्ण विषयवस्तु भएकाले हो । किनभने पलपलमा 'इस्यु-ओरिएन्टेड' चलचित्र हो ।

0 comments:

Post a Comment