जय शम्भो, नाफा कम भो


'दिनभरि मैले ठगी गरेँ, बटुली-बटुली दामैदाम । बेलुकी आएँ, मन्दिर धाएँ, भज्दै हे राम, हे राम....जय शम्भो नाफा कम भो,' -गायक शिव परियार मज्जा मान्दै गाउँदै थिए । पुरानो बानेश्वरको गुरुकुलस्थित रिमाल नाट्यघरमा नाटक होइन, सांगीतिक लहर चलेको थियो । बुधबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर गीतकार यादव खरेलले रचेका यथार्थवादी आध्यात्मिक गीतहरूको संग्रह विमोचनमा गायक शिव परियारले अर्को एउटा गीत पनि सुनाए । गायिका देविका बन्दनाले पनि 'ईश्वर भन्दछ तिमीभित्रै छु' गीत गाएपछि आध्यात्मिक संगीतको वातावरण सकिए पनि कार्यक्रमको सुरुमा बलिप्रथाका विरुद्धको म्युजिक भिडियोले उपस्थित दर्शकहरूका आँखा रसाए । गायक फत्तेमान राजभण्डारीले गाएको गीत 'प्रभुको वास छ हरप्राणीमा, मैले के यो आँटे ? निरीह पशुको बलि चढाइ, ईश्वरलाई ढाँटे..' को म्युजिक भिडियोमा निर्देशक सम्राट खरेलले शवनम मुखियाबाट खिचिएको गढीमाईको मेलामा दिइएको बलिका दृश्य समेटेका छन् । गीतको भावअनुसार ती दृश्यको सम्मिश्रण हृदयविदारक भएकाले पनि दर्शकहरू ७ मिनेटको उक्त म्युजिक भिडियो हेर्दा स्तब्ध भएका थिए । उक्त अवसरमा गीतकार खरेलको एल्बम 'पूर्णमिदः'मा समावेश गीतहरूलाई गायक नरेन्द्र प्यासी तथा गायिका संगीता रानाले पनि सुनाएका थिए । कार्यक्रममा देवीप्रसाद दाहालद्वारा लिखित पुस्तक 'गीतकार यादव खरेल'को लोकार्पण पनि गरियो ।

तीतो सत्य तथा सांगीतिक साँझ कोलोराडोमा

अमेरिका- अन्तर्राष्ट्रिय साहित्य समाजको आयोजनामा कोलोराडो सहरमा 'तीतो सत्य तथा सांगीतिक साँझ' सम्पन्न भएको छ । उक्त अवसरमा 'तीतो सत्य' का कलाकार दीपाश्री निरौला, दीपकराज गिरी, गोपाल अधिकारी तथा सांगीतिक फाँटका चर्चित गायक-गायिकाहरू यम बराल र नलिना चित्रकारले आ-आफ्नो कला प्रस्तुत गरेका थिए । कार्यक्रममा पहिलो नृत्य स्थानीय कलाकार सहारा कार्कीले प्रस्तुत गरेकी थिइन् । उक्त कार्यक्रमको उद्देश्य ब्राइटनस्थित सनातन मन्दिरलाई सहयोग गर्नु थियो ।

0 comments:

Post a Comment