दसैंलाई माटो

प्रेमकथामा धमाधम फिल्म बनिरहेको बेला संघीयताजस्तो गम्भीर विषयमा 'माटो' तयार भएको छ । किशोर सुब्बाको कथा र निर्देशन रहेको फिल्म 'माटो' मा राष्ट्रिय एकता र सद्भावको वकालत गरिएको निर्माण पक्षको दाबी छ, जुन दसैंलाई लक्षित गरी मोफसलका हलबाट प्रदर्शनमा ल्याउन लागिएको बताइएको छ ।

केहीले संघीयताको नाममा देश टुक्रिन्छ र जातीय विखण्डन तथा द्वन्द्व सिर्जना हुन्छ भन्ने बहस चलाइरहेको बेला संघीय संस्कृतिमाथि फिल्म निर्माण गरिएको र फिल्मले राष्ट्रिय एकता र सद्भावको वकालत गर्ने निर्माता भीम लामाले

बताए । 'संघीयता भनेको अनेक फूलको एउटै माला हो भन्ने देखाउन खोजेका छौं,' बुधबार उनले भने, 'फरक भाषा, वेश र संस्कृति भए पनि हामी सबैको एउटै नेपाली राष्ट्रियता हो, सबै मिलेर बस्नुपर्छ भन्ने निचोड फिल्ममा छ ।'

'माटो' को यो कथालाई राजेश हमाल, रेजिना उप्रेती, मित्र लिङ्देन, सीमान्त उदास, मुकुन्द श्रेष्ठ, पुष्कर श्रेष्ठलगायतले चरित्रमा उतारेका छन् । निर्माणमा मीना लामाले सघाएकी छन् । गीत, नृत्य र द्वन्द्वका मसला दृश्य राखेरै बनाइएको फिल्म दसैंको छेक पारी मोफसलको झन्डै १८ हलबाट प्रदर्शनमा ल्याउन लागेको भीमले दाबी गरे । राजविराज, लाहान, गोलबजार, मिर्चैयालगायतका आधा दर्जन हलमा कन्र्फम भइसक्यो,' उनले भने, 'पूर्व र पश्चिमका हलहरूमा कुरा भइरहेको छ ।' विखण्डनभन्दा पनि राष्ट्रिय एकता र मेलमिलापको संस्कृति बोकेको फिल्म नयाँ विषयमा भएकाले पनि दर्शकले माया गर्ने भीमले दाबी गरे ।

0 comments:

Post a Comment