रेजिनाको चलचित्रमा करिष्मा

नेपाली चलचित्र क्षेत्रमा नायिकाहरू निर्माता बन्ने क्रम बढ्दो छ । नायिका रेखा थापा, झरना थापा, करिष्मा मानन्धर, मेलिना मानन्धर, मौसमी मल्ल, ऋचा घिमिरेलगायतका नायिकाहरूले चलचित्र निर्माण गरिसकेका छन् । यहि क्रमलाई निरन्तरता दिँदै नायिका रेजिना उप्रेती पनि निर्माता बन्दैछिन् ।करिब आठ बर्ष अघिदेखि नै चलचित्र निर्माण गर्ने सोचमा रहेकी नायिका रेजिनाले अब भने सो सोचलाई मूर्त रूप दिँदैछिन् । उनले निर्माण गर्ने चलचित्रमा मुख्य भुमिकामा रेजिनाको साथमा अभिनेत्री करिष्मा मानन्धर रहने भएकी छिन् । नायिका रेजिनाले करिष्मालाई बिहिबार नायिकाको रूपमा एग्रिमेन्ट गरिसकेकी छिन् । रेजिना र करिष्माको साथमा सो चलचित्रमा राजेश हमाल, जयकिशन बस्नेतले पनि मुख्य भुमिका निर्वाह गर्दैछन् ।बैशाखको पहिलो साताबाट छायाँकन शुरू गर्ने भनिएको सो चलचित्रको नाम 'बरदान' राख्ने करिब पक्का भएको छ । रेजिनालाई करिब १० चलचित्रमा नायिका बनाएका निर्देशक शोभित बस्नेतले सो चलचित्रको निर्देशन गर्नेछन् । पारिवारिक प्रेमकथामा आधारित रहेर निर्माण गर्न लागिएको सो चलचित्रमा मनोहर सुनामको संगीत, शोभित बस्नेतको कथा, ध्रुब लम्सालको पटकथा तथा संवाद र राजेन्द्र खड्गीको द्वन्द रहने छ । चलचित्रको छायाँकन काठमाण्डौ, पोखरा र जोमसोममा गरिने निर्देशक बस्नेतले जानकारी गराए ।

0 comments:

Post a Comment