करिष्माको निवासमा होलीको उल्लास

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व अर्थात होली आज परम्परागत रूपमा विभिन्न रङसँग खेली मनाईएको छ । होली मनाउने क्रममा ललितपुरको गोदावरी स्थित अभिनेत्री करिष्मा मानन्धरको निवासमा दर्जनौं चलचित्रकर्मीहरूले खुसी साटासाट गरेर होली पर्व मनाए ।करिष्माको घरमा बिहान करिब १० बजेबाट होली मनाउन चलचित्रकर्मीको जमघट शुरू भएको थियो ।बिभिन्न सात रंगहरूको साथमा नाचगान र होलीको शुभकामना आदानप्रदान गर्दै उपस्थित चलचित्रकर्मीहरूले अभिनेत्री मानन्धरको घरमा यसबर्षको होली पर्व हर्षोल्लासका साथ मनाए । होली मनाउने क्रममा उपस्थित अधिकांश कलाकारहरू रंगहरूको साथमा दिलखोलेर नाचेका थिए ।सो होली कार्यक्रममा अभिनेत्री करिष्मा मानन्धर, उनका पति बिनोद मानन्धर,छोरी कबिता मानन्धरको साथमा नायिका रेखा थापा,नन्दिता केसी, रेजिना उप्रेती, शुष्मा कार्की, नायकहरू निरज बराल, एशराज, निर्देशक आकाश अधिकारी, नरेश पौड्याल,अशोक शर्मा, शोभित बस्नेत, सुदर्शन थापा, उकेश दाहाल, श्याम भट्टराई, द्वन्दनिर्देशक राजेन्द्र खड्गी र हिमाल केसी, करियोग्राफर गोबिन्द राई, निर्माता प्रभुशमसेर जबरा, निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी, हाँस्यकलाकार किरण केसीलगातका गायक, गायिका तथा सञ्चारकर्मीहरूको बाक्लो उपस्थिती थियो ।यसैगरी होलीको अघिल्लो दिन जन्मेका करिश्माका श्रीमान् तथा निर्देशक बिनोद मानन्धरले सोही कार्यक्रममा आफ्नो जन्मदिन पनि सेलिब्रेट गरे । केक काटी आफ्नो जन्मदिन मनाएका बिनोदले आफ्नो उमेर भने खुलाउन चाहेनन् । फिल्मीखबरले कति औं जन्मदिन हो यो भन्दा उनले भने, 'आधा सेन्चुरी त नाघियो क्यारे !' दोहोरो खुसीमा रमाएका कलाकारहरूले साँझसम्म पनि होली मनाएका थिए । कार्यक्रमको रेडियो राजधानी एफएमले प्रत्यक्ष प्रसारण गरेको थियो भने कार्यक्रमको संयोजन बाबुराम दाहालले गरेका हुन् ।

0 comments:

Post a Comment