नेपाली कथा युरोप लगिँदै

स्वदेशमा सार्वजनिक प्रदर्शनअगावै निर्देशक केपी पाठकले फिल्म 'मैना' विदेशमा देखाउने भएका छन् । सत्य घटनामा आधारित फिल्म 'मैना'बेल्जियम, जर्मनी, फ्रान्स, स्पेन, पोर्चुगलमा रहेका नेपालीका लागि देखाउने पक्का भएको निर्मातासमेत रहेका पाठकले बताए । 'स्विट्जरल्यान्ड, अस्टि्रया, आयरल्यान्ड, बेलायत र मलेसियामा प्रदर्शनको समेत पहल भइरहेको छ,' बिहीबार राति बेल्जियमका लागि उड्न लागेका निर्देशकले भने । आफ्नो भ्रमणलाई ठूलै आशाको रूपमा नहेरिए पनि नेपाली फिल्मप्रतिको हेराइलाई यसले चिर्ने दाबी गर्दै उनले थपे, 'नेपाली फिल्म राम्रो बन्दैनन् भन्ने सोचाइ विदेशमा समेत रहेकाले सार्थक फिल्म देखाएर त्यसलाई चिर्ने प्रयास गर्नेछु ।'चलचित्र निर्देशक समाजका अध्यक्षसमेत रहेका पाठकले कम्तीमा तीन महिनामा एउटै भए पनि नियमित फिल्म देखाउने वातावरण बनाउन पनि जान लागेको बताए । भने, 'अहिलेसम्म छिटपुट व्यक्तिगत प्रयासमै मात्र विदेशमा फिल्म देखाइयो, अब निर्देशक समाजले यसको संस्थागत प्रयास थालेको छ ।' प्रदर्शन अगावै केही फिल्म अवार्डसमेत जितिसकेको 'मैना' मा द्वन्द्वको अवधिमा १५ वर्षीया किशोरी मैना सुनारको तत्कालीन शाही नेपाली सेनाले हत्या गरेको घटनाकै सेरोफेरोबाट त्यस बेलाको परिस्थितिको चित्रण गरिएको छ ।

0 comments:

Post a Comment