हिरोइनलाई निर्देशकको गाली

काठमाडौं, चैत १०(नागरिक)- फिल्मको मुहूर्तमै हिरोइनले निर्देशकको गाली खाएकी छिन्। मुहूर्त समारोहमा तोकिएको समयभन्दा आधा घन्टा ढिलो आएकी हिरोइन नीता ढुंगानालाई निर्देशक ऋषि लामिछानेले औपचारिक कार्यक्रममै गाली गरेका हुन्। त्रिपुरेश्वरको एक रेस्टुरेन्टमा बुधबार फिल्म 'हाम्रो माया जुनीजुनीलाई'को मुहूर्त भएको हो। आफू बोल्ने पालोमा निर्देशक ऋषिले सबैका अगाडि भने, 'नीताजी आज आधा घन्टा ढिला आइन्, म उनलाई सुटिङमा चाहिँ ढिला नआउन आग्रह गर्छु।' ऋषिले व्यंग्यात्मक शैलीमा गाली गरे पनि नीताले गम्भीर भावमा माफी मागिन्। भनिन्, 'म ढिला आएकीमा सबैसँग क्षमा चाहन्छु, फिल्मको सुटिङमा चाहिँ समयमै आउँछु।' फिल्मका अर्का कलाकार सुनिल थापाले चाहिँ आफू समयमै आएको स्पष्टिकरण दिए। निर्देशक ऋषिले चाहे अनुसारको अभिनय देखाउन आफूले सक्दो प्रयास गर्ने वचन पनि उनले दिए। त्यसअघि ऋषिले सबै कलाकारसँग सहयोगको याचना गरेका थिए।आफ्नो स्पष्टिकरणमा सुनिलले नीताको प्रसंग पनि छोए, 'नीताजी ढिलो आए पनि म एक घन्टाअघि नै आएको हुँ। मैले गर्दा कार्यक्रम ढिलो भएको होइन है।'सबैले औंला ठड्याए पनि निर्माता प्रदीप उदयले चाहिँ नीतालाई सफाइ दिए। उनले भने, 'कार्यक्रम एक घन्टा ढिलो भएको हो। यसमा नीताको हात छैन। ढिलाइ चाहिँ धर्मकर्मको कारणले भएको हो।'कलाकार परिचयपछि फिल्मका सबै टोलीले क्यामेरा र स्त्रि्कप्टको पूजा गरे। श्रीकृष्ण श्रेष्ठ, रेखा थापा, मुकेश ढकाल, नीता ढुंगाना, सुनिल थापा, शिवहरि पौडेल, निर्मल शर्मा, सरोज केसी लगायतले अभिनय गर्ने फिल्म 'हाम्रो माया जुनीजुनीलाई'का लेखक शिवम अधिकारी, छायाँकार सञ्जय लामा, द्वन्द्व निर्देशक रोशन श्रेष्ठ, संगीतकार महेश खड्का र नृत्य निर्देशक गोविन्द राई हुन्।

0 comments:

Post a Comment