दुःख पायो मंगले अरूकै ढंगले!

काठमाडौं, फागुन १९ (नागरिक)– नेपाल चलचित्र प्राविधिक संघले आयोजना गरेको नेफ्टा अवार्डमा उत्कृष्ट फिल्म घोषित 'मिस्टर मंगले' शुक्रबारदेखि काठमाडौंमा चल्दैछ। किशोर रानाले यही फिल्मबाट उत्कृष्ट निर्देशकको अवार्ड पाएका थिए। फिल्मका निर्माता तथा नायक वीरेन श्रेष्ठ चाहिँ भुवन केसीसँग पराजित भई उत्कृष्ट अभिनेताको अवार्ड पाउनबाट बञ्चित भए।सुनिल सिटौलाको प्रस्तुति रहेको फिल्ममा रेखा थापा, अरुणिमा लम्साल, दिवस उप्रेती, मिथिला शर्मा, गोपाल भुटानी, पुकार भट्टराई, शक्ति पण्डित, अंशु महर्जन, सपना श्रेष्ठ, राकेश लामा, राजेन्द्र केसी आदिले अभिनय गरेका छन्। वीरेन श्रेष्ठ हिरो बनेको यो १४ औं फिल्म हो। फिल्ममा मंगले बनेका उनीसँग कुराकानी :
फिल्मको नाम कसरी जुर्‍यो?
गाउँमा मिहेनत गर्ने केटोको कथा भएकोले सुरुमा 'मंगले' राख्ने विचारमा थियौं। तर, 'मालती मंगले'को मंगले सोच्ने हुन् कि भन्ने लागेपछि 'मिस्टर मंगले' राख्यौं।
आफैले बनाएको फिल्म भएकोले यसमा भूमिका बलियो होला नि?
हो यसमा मैले अरूमा भन्दा बढी काम देखाउने अवसर पाएको छु। यसअघि 'समर्पण' र 'बन्धकी'मा पनि मेरो भूमिका राम्रै थियो।
काठमाडौंमा फिल्म आउन हुन ढिलो भएन?
पालो पर्खेकोले ढिलो भएको हो। तर चिसो याम गइसकेकोले म खुसी छु। चिसोमा फिल्म त्यति चल्दैन।
आफ्नो फिल्मको पालो आएको कहिले थाहा पाइयो?
आइतबार मात्रै थाहा पाएको हो। पहिले पालो आएन भनेर चिन्तित थिएँ अहिले पालो आएर चिन्ता बढेको छ।
प्रचारप्रसार त राम्रै भइरहेको होला नि?
लोडसेडिङले गर्दा टिभी र रेडियोमा पब्लिसिटी प्रभावकारी हुन सकेको छैन। फिल्मका कलाकारहरूलाई परिचालन गरुँ भने पनि उनीहरू फुर्सदमा छैनन्। त्यस्तो धेरै खर्च गर्ने सोच पनि छैन।
यो फिल्म रिलिज नहुँदै तपाईको अर्को फिल्म 'मनले मनलाई छुन्छ'को काम सिद्धिन लागिसकेछ नि?
यो अवधिमा किन चुप लागेर बस्ने भनेर शिव रेग्मी दाइलाई लिएर फिल्म बनाएको हुँ। फिल्मको डबिङ चल्दैछ।
फिल्म क्षेत्रमा 'दुःख पायो मंगले आफ्नै ढंगले' भन्ने उखान मिल्दोरहेछ?
फिल्ममा लगानी र अभिनय गर्दा दुःख त पाएकै हुँ। तर, अरूको ढंगले पनि दुःख पाइँदो रहेछ।

0 comments:

Post a Comment