पुरानै बाटोमा

काठमाडौ, चैत्र १४ - त्रिकोणात्मक प्रेम सम्बन्धको उतारचढावको कहानी हो, फिल्म 'बिदाइ' । मायाप्रीतिकै माखेसाङ्लोमा बुनिएको कथामा बगेको यो फिल्मले खास पहिचान भने छोड्न सकेको छैन । विभिन्न सवारी साधनका सेकेन्ड ह्यान्ड पाटपुर्जा खोजखाज गरी बनाइएको कामचलाउ गाडी जस्तै छ 'बिदाइ' ।दिनेश न्यौपाने लिखित कथा आफुले मन पराएको वा परिवारले खोजिदिएको मध्ये कुन केटासँग विवाह गर्ने भन्ने प्रमुख पात्रको निर्णय नै फिल्मको मुख्य सार हो । आफूले मन पराएको सौगात (रमित ढुंगाना) का लागि ऊ (झरना थापा) सरगम हो भने अभिभावकले खोजिदिएको केटा विवेक (निखिल उप्रेती) का लागि मन्जरी ।बाबुआमाले इच्छा विपरीत विवाह गर्दिन लागेको थाहा पाएकी मन्जरी काठमाडौंदेखि भागेर हजुरआमाको घर देउराली गाउँ पुग्ने क्रममा बाटैमा सौगातसँग भेट हुन्छ । नजानिंदा नजानिंदै दुईमा माया बस्छ । पछि सम्बन्ध गाँस्ने बाचाका साथ दुई छुट्टिन्छन। तर घर फिरे लगत्तै मन्जरीले सौगातले आतंकवादीको धरापमा परी वीरगति पाएको खबर पाउँछे ।नेपाली सेनाको क्याप्टेन सौगात मरेको भने हुँदैन । तर बाँचेकोमा बेखबर मन्जरी अन्ततः विवेकसँग बिहे गर्न बाध्य हुन्छे । तर परिस्थितिले पछि तीनै जनालाई एक ठाउँमा ल्याइपुर्‍याउँछ । त्यसपछि युवतीले जीवन को सँग बिताउँछे भन्नेमा फिल्मले विभिन्न उपकथाको टर्निङ लिएको छ । तर पहिल्यै बाटोको संरचनाको आकलन गरिसक्ने दर्शकका लागि कुनै पनि टर्निङ अनपेक्षित जस्तो लाग्दैन । किनकि 'बिदाइ' गुडेको बाटो हुँदै पहिले पनि केही भारतीय सवारी गुडिसकेका थिए ।रामजी लामिछाने निर्देशित उक्त फिल्ममा तीन मुख्य कलाकारको अभिनय खासै चरित्रमा डुब्न सकेको छैन । बरु कमेडी रोलमा सात फरक पात्रमा देखिएका विष्णु सापकोटाले धेरै हदसम्म सहज अभिनय गरी मनोरञ्जन दिलाउन सकेका छन् । प्रमोद ढुंगानाले लेखेका गीतहरूमध्ये शीर्षक-गीतबाहेक अन्य खासै फिल्म अनुकूल नदेखिए पनि मध्यम कोटिका छन् । दिनेश सुनामले दिएको पाश्र्व संगीत राम्रो हुँदाहुँदै पनि केही ठाउँमा चिप्लिन पुगेको छ ।द्वन्द्व निर्देशनमा रोशन श्रेष्ठको नाम देखिए पनि लट्ठी र तरबार नचाउँदा होस् वा कुदिरहेको सवारी साधन नाघ्दै भिलेनहरूलाई लात्ती र मुड्की बजार्दा, निखिल नै हाबी देखिन्छन् । निखिलले पुरानै स्टन्टलाई नै निरन्तरता दिएका छन् । नृत्य फिल्ममा आफ्नो उपस्थिति जनाउनका लागि मात्रै छ । फिल्मको छायांकन पक्ष केही सबल छ । दीपक बज्राचार्यका क्यामेरा प्रायः स्वाभाविक लाग्छन्, फिल्म हेर्दा । तर भीरबाट खस्न लागेकी बनाइएकी मन्जरी लो एङ्गल दृश्यमा भने भिरालो पाखोमा देखिनु हास्यास्पद लाग्छ ।त्यसो त फिल्ममा गाडीबाट झरेर गाउँ जान हिँडेका सौगात र मन्जरीलाई कालोपत्रे सडक हिँडेको देखाइनु सहज लाग्दैन । सामान्य हाते झोला जस्तो बोकेका उनीहरूलाई ड्रेस चेन्ज नगराइएको भए बढी वास्तविक लाग्न सक्थ्यो । सूचना प्रविधिले विश्वभरका मान्छेबीचमा क्षणभरको सम्बन्ध कायम गरेको अहिलेको बेलामा पनि फिल्ममा भने पात्रहरू चिठीपत्रमै भर परेको देखिनु अलि सान्दर्भिक लाग्दैन ।त्यसो त फिल्मले पुरानो समयको पनि छनक दिएको छैन । त्यसबाहेक, छपक्कै गहना लगाएर र जुत्तै लगाएर कोही सुत्न तम्सँदैन भने बाटोभरि भाडाका सवारी साधन हुँदा हतारमा भएको कोही पनि दगुरेर हस्पिटल पुग्दैन । तर फिल्मका पात्रहरूले त्यतिसम्मको हर्कत गर्छन् । सम्पन्न नै लाग्ने विवेक जब मन्जरी घाइते भएर रगतको आवश्यकता पर्छ, तब खुकुरी नचाउँदै र लट्ठी घुमाउँदै चटक देखाएर एक-एक रुपैयाँ जम्मा पारी रगतको बन्दोबस्त गर्छ ।

फिल्म:बिदाइ

निर्देशक : रामजी लामिछाने

कलाकार :निखिल उप्रेती, झरना थापा, रमित ढुंगाना

0 comments:

Post a Comment