निखिल काठमाडौं आउँदैनन्




नायक निखिल उप्रेतीकी कान्छी पत्नी सञ्चिता लुइँटेल निखिल तत्काल काठमाडौं नआउने बताउँछिन्

 

काठमाडौं/ नायक निखिल उप्रेती तत्काल काठमाडौंं नआउने भएका छन् । निर्माता गोविन्द शाहीले आफ्नो फिल्म संसार आफ्नैमा अभिनय गर्नका लागि निखिल भदौ दोस्रो साता काठमाडौंं आउने बताए पनि निखिलकी कान्छी पत्नी नायिका सञ्चिता लुइँटेलले उनी तत्काल काठमाडांै नआउने बताएकी छिन् ।

केही दिनअघि मुम्बईबाट काठमाडौंं आएकी सञ्चिताले निखिलले संसार आफ्नैमा अभिनय गर्ने पक्का गरेको भए पनि काठमाडौंं आएर सुटिङ गर्ने सर्त नभएको दाबी गरेकी छिन् । 'उहाँ -निखिल) तत्काल काठमाडौं आउने मनस्थितिमा हुनुहुन्न,' सञ्चिताले फोनमा भनिन्, 'उहाँ उतै व्यस्त हुनुहुन्छ । मुम्बईमा उहाँका ठूल्ठूला प्रोजेक्ट सुरु हुँदै छन् । उहाँ त्यहाँ केही गर्न चाहनुहुन्छ । त्यसकारण केही समय यहाँ आउने सोचाइ छैन उहाँको ।' निखिल मानसिक रूपमा निकै तनावग्रस्त रहने गरेको बताउँदै केही समय शान्तिसँग मुम्बईमै संघर्ष गर्न चाहेको उनले बताइन् ।

निखिलले संसार आफ्नै फिल्मको आफ्ना सिन सिक्किम र त्यसको आसपासका स्थानमा सुटिङ गर्ने सर्तमा वचन दिएको सञ्चिता बताउँछिन् । भन्छिन्, 'संसार आफ्नैका निर्माताले निकै रिक्वेस्ट गरेपछि उहाँ त्यो फिल्म खेल्न राजी हुनुभएको हो । तर, काठमाडौं आएर सुटिङ गर्ने भन्ने कुरा सत्य होइन ।' उनले निखिलले सिक्किममा सुटिङ गर्न चाहेको र यो फिल्मका निर्माताले पनि सिक्किम नै पुगेर निखिलको सिन सुटिङ गर्ने सम्झौता भएको बताइन् ।

सञ्चिता आफू शनिबार मुम्बई र्फकने योजनामा रहेको बताउँछिन् । 'एक साताको ओपन टिकटमा आएकी हुँ । शनिबार र्फकन्छु होला,' उनले भनिन्, 'यसपालि चाहिँ म व्यक्तिगत भेटघाटका साथै बाँकी रहेका पर्खिराख है र बन्दी फिल्मको डबिङ गर्नका लागि आएकी हुँ । अन्य केही योजना छैन ।' सञ्चिता आफू अभिनीत फिल्मको डबिङका लागि आएको भए पनि उनले दुवै फिल्मको डबिङ गर्नु परेन । पर्खि राख हैको डबिङ सुरु नै भएको छैन भने बन्दी फिल्ममा सञ्चिताको डबिङ अञ्जु देउजाबाट गराइसकिएको छ ।

सञ्चिता आफू भारतीय टेलिभिजन कलर्सको एउटा टेलिसिरियलको वर्कसपमा लागेको बताउँछिन् । 'मलाई त्यहाँ निकै मन पराएका छन् ।

कलर्सको एउटा सिरियलमा छनोट भएकी छु । त्यसकै वर्कसपमा व्यस्त छु । बालाजी टेलिफिल्मसमा पनि मेरो सम्भावना निकै राम्रो छ ।' सञ्चिताले मुम्बईमा आफू नेपालको चर्चित हिरोइन हुँ नभनेको बताउँछिन् । 'त्यहाँ मैले म नेपालको कलाकार हुँ भनेकी छैन । सुरुमा अडिसन दिन जाँदा बालाजी टेलिफिल्ममा भनेकी थिएँ । उनीहरूले त्यहाँका स्टारलाईझँै सम्मान गरे । मलाई अप्ठ्यारो लाग्यो ।' आफू मुम्बईमा जिरो लेभलबाट संघर्ष गरिरहेको उनले बताइन् ।

मुम्बईमा संघर्ष गरे पनि नेपाली फिल्म क्षेत्रबाट टाढिन नसक्ने बताउँछिन् उनी । भन्छिन्, 'नेपाली फिल्मले नै हो मलाई कलाकार भनेर चिनाएको, नाम दिएको । म यहाँबाट कहिल्यै टाढिन सक्दिनँ । मुम्बईमा संघर्ष गरिरहेकी छु । त्यहाँ पनि स्थापित भएँ भने सबै नेपालीलाई गर्व लाग्छ नि ।'

सञ्चिता आफ्नो पति निखिलले मुम्बईमा संघर्ष गरिरहेकाले उनको हेरचाह गर्नका लागि पनि आफू उतै बस्न थालेको बताइन् । 'त्यहाँ उहाँको हेरचाह गर्ने कोही छैन । पतिको सेवा गर्नु पत्नीको कर्तव्य हो,' उनले भनिन्, 'म पनि त्यहाँ केही गर्न चाहन्छु । त्यसैले हामी दुईजना मुम्बई बस्न थालेका हाँै ।'

सञ्चिता आफूले निखिलसँग र निखिलले आफूसँग दोस्रो बिहे गरेकोमा कुनै पछुतो नलागेको बताउँछिन् । भन्छिन्, 'संसारमा म पहिलो केटी होइन, जसले दोस्रो बिहे गर्‍यो र निखिलजी पनि संसारको पहिलो पुरुष होइन, जसले दोस्रो बिहे गर्‍यो । हाम्रो माया बस्यो । दुवैजना एक अर्काविना बाँच्न नसक्ने भयौँ । बिहे गर्‍यौँ । यसमा मलाई कुनै गुनासो र पछुतो छैन । म खुसी छु । उहाँ पनि निकै खुुसी हुनुहुन्छ ।'

सञ्चिता निखिलकी जेठी पत्नी कोपिलाबारे केही बोल्न चाहन्नन् । 'मेरो विगत र वर्तमान जिन्दगीबारे सबैलाई थाहा छ । कुनै कुरा लुकेको छैन । निखिलजीको जिन्दगीबारे सबैलाई थाहा छ । सबै कुरा स्पष्ट छ,' सञ्चिताले भनिन्, 'हामीहरूले एकअर्काको पारिवारिक सहमतिमा बिहे गरेका हाँै । म निखिलकी पत्नी हुँ । अरू कुरा मलाई मतलब छैन ।'

0 comments:

Post a Comment