वेदुलाई भ्वाइस अफ टिनको उपाधि


कुनै बेला गायक रामकृष्ण ढकालले आफ्नो सफलतामा गाएको गीत 'मलाई यो जिन्दगीले कहाँ पुर्‍यायो'लाई 'भ्वाइस अफ टिन'को फाइनलका प्रतिस्पर्धी वेदु सारु मगरले पनि गाए । यसपटक त्यो गीत रामकृष्णको नभै स्वयं वेदुकै सफलताको गीत हो कि भन्ने भयो । यही गीत गाएपछि वेदुलाई नेपाल टेलिभिजनको रियालिटी सो 'भ्वाइस अफ टिन'को उपाधिबाट विभूषित गरियो । वेदुलाई दाङमा भएको छनौट चरणको प्रतिस्पर्धाबाट गायिका देविका वन्दना,संगीतकार राजु सिंह तथा गायक स्वयं रामकृष्ण ढकालले काठमाडौँ ल्याएका थिए । सहभागी ११ हजारमध्येबाट विभिन्न चरण पार गर्दै वेदुलगायत आकांक्षा बस्याल तथा विकेश के. शंकर सर्वोत्कृष्ट तीन भएका थिए । दर्शक एसएमएस मतका आधारमा सर्वोत्कृष्ट भएका वेदुले दोस्रो स्थानकी आकांक्षाभन्दा झन्डै १० हजार मत बढी पाएका थिए । वर्ष दिनअघि दाङमा सम्पन्न इन्दे्रेणी आइडलमा दोस्रो भएका वेदुले 'भ्वाइस अफ टिन'को उपाधिसँगसँगै १ लाख रुपैयाँ नगद,एक थान हिरो होन्डा मोटरसाइकल,५ लाख बराबरको म्युजिक कन्ट्रयाक्ट,एक वर्षसम्म संगीत छात्रवृत्ति तथा स्नातकसम्म अध्ययनको पूर्ण छात्रवृत्ति पाएका छन् । गत शुक्रबार सम्पन्न फाइनल चरणको प्रतिस्पर्धापछि 'भ्वाइस अफ टिन'को यो सिजनको प्रतियोगिता सम्पन्न भएको आयोजक एवान मिडियाले जनाएको छ ।

0 comments:

Post a Comment