आश कोही मेरो र दासढुंगाको


काठमाडौं/ आफू अभिनीत दुई फिल्म दासढुंगा र कोही मेरोप्रति नायिका सञ्चिता लुइँटेल निकै आशावादी छिन् । कोही मेरो ११ र दासढुंगा १८ भदौदेखि मुलुकभर एकसाथ प्रदर्शन हुँदै छन् । आफूले अभिनय गरेका अहिलेसम्मका फिल्ममध्ये यी दुई फिल्म विशेष भएको उनी बताउँछिन् ।

'दासढुंगा र कोही मेरो मैले निकै आश गरेका फिल्म हुन्,' सञ्चिता भन्छिन्, 'दुवै फिल्ममा मैले बिल्कुलै नौलो भूमिका निभाएकी छु । त्यसकारण मलाई यी फिल्मप्रति निकै भरोसा छ ।' नायक निखिल उप्रेतीसँग बिहे गरेर मुम्बई बस्दै आएकी सञ्चिता केही दिनदेखि राजधानीमा छिन् । पछिल्लोपटक पर्खी राख हैको डबिङ गर्नका लागि काठमाडौं आएकी उनी बिहीबार मुम्बई र्फकने बताउँछिन् । भन्छिन्, 'डबिङका र आफ्नो निजी कामका लागि आएकी थिएँ । बिहीबार र्फकंदै छु ।'

आफू मुम्बईमा भारतीय टेलिभिजन च्यानल कलर्स र स्टार प्लसका टेलिसिरियलका लागि वर्कसपमा लगेको भए पनि नेपाली फिल्म अभिनयबाट टाढा हुन नसक्ने बताउँछिन् उनी । मुम्बईमा आफ्नो सम्भावना बढेर गएको बताउँदै उनले भनिन्, 'म नेपाली फिल्म क्षेत्रबाट टाढा हुन सक्दिनँ ।' आफूलाई केही नेपाली फिल्मबाट अफर आए पनि तत्कालै निर्णय गर्न नसकेको बताउँछिन् उनी । 'मुम्बईमा पनि मैले अवसर पाएकी छु । त्यसकारण अहिले नै निर्णय गर्न सकेकी छैन,' उनी भन्छिन्, 'तर, त्यहाँ सफल भए पनि नेपाली फिल्म भने खेल्छु म ।'

मनोज पण्डित निर्देशित दासढुंगा र आलोक नेम्वाङ निर्देशित कोही मेरोको रिलिजमा आफू नेपालमा नरहने भएकाले बेचैनी बढेको बताउँछिन् उनी । भन्छिन्, 'वर्कसपमा सामेल हुन ढिला भइसक्यो । त्यसैले मन भएर पनि फकर्ंदै छु ।' दुई फिल्मको व्यावसायिक रिपोर्ट मुम्बईबाटै बुझ्ने उनले बताइन् ।

0 comments:

Post a Comment